१० पुस २०८२ बिहीबार
image/svg+xml
कला

सुन्नाको एउटा मीठाे कथा!

कथा

हेर,भाइबहिनी हो। आज म तिमीहरूलाई तिमीहरूको गणितमा नम्बर कति आएको छ भनेर सुनाउँदिनँ। सबै जनालाई कपी बाँडिदिन्छु आफ्नो कपी आफैँ हेर्नु अनि मनन  गर्नु आफ्नो कमीकमजोरीहरू कहाँ कति  रहे भनेर। त्यसभन्दा पहिला म तिमीहरूलाई एउटा कथा भन्छु सुन- उहिले परापूर्वकालमा एकदेखि नौसम्मको अंक मात्र  थियो  रे। मानिसहरूले गन्नुपर्दा  एक दुई तीन गर्दै नौसम्म गन्दै ढुङ्गा थुपार्दै राख्ने प्रचलन थियो रे। पछि जनसंख्या वृद्धि हुँदै गयो। मानिसहरू विकसित हुँदै गए। मानिसका आवश्यकताहरू बढ्दै गए। अनि यो प्रणालीबाट गणना गर्न अप्ठेरो परेको महसुस हुन थाल्यो। त्यसैले सजिलो उपायको खोजीको क्रममा नौभन्दा पछाडि एकलाई राखेर एउटा सुन्ना झुन्ड्याइदिएर दस भन्ने नाम दिएर नौभन्दा ठूलो बनाइदिएछन्।

एकलाई एक राखेर एघार, फेरि एकलाई दुई राखेर बाह्र गर्दै उन्नाइसपछि दुईलाई पछाडि लगेर फेरि एउटा सुन्ना थपेर बीस, दुईलाई एक राखेर एक्काइस, दुईलाई दुई राखेर बाइस गर्दै लाँदा सय, हजार, लाख,करोड, अरब गर्दै  संसारका अनगिन्ती  कुरा गन्न सकिने भयो। ठूलाठूला  हिसाबकिताब राख्न सकिने भएछ र आज विश्वमा आविष्कार भएका  ज्ञान र विज्ञानका सूत्रहरू पनि गणितमै आधारित छन्।

हामीले सुन्नालाई  सानो सोच्नु हुँदैन। सुन्ना त हो नि भनेर हेला गर्नु पनि हुँदैन। त्यही सुन्ना नहुँदा एक हुन्छ, सुन्ना थप्दा दस र सय हुँदै जान्छ।

लक्ष्मीप्रसाद देवकोटा सर आज अलि भावुक मुद्रामा आफ्नो कथा सकेर कक्षा आठका  विद्यार्थीहरूलाई कपी  बाँडिदिनुभयो। अघि कथा सुनाउँदा सरले उषालाई घरीघरी हेर्दै हुनुहुन्थ्यो। कपी हेरेर तुरुक्क आँसु झारिन् उषाले। गणितमा उनको नम्बर पनि सुन्ना नै आएको रहेछ।

प्रकाशित: १५ श्रावण २०८१ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App