२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

‘अमरज्योति’ काे समालोचना विशेषाङ्क लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘अमरज्योति साहित्यिक त्रैमासिक’ काे समालोचना विशेषाङ्क लोकार्पण गर्नुका साथै साहित्य समाजका पदाधिकारीहरूलाई  स्रष्टार समालोचकहरूसँग साक्षात्कार गराउने कार्यक्रमको आयोजना गरेको छ।

 बागबजारस्थित युनिटी क्याफेमा सो कार्यक्रम सम्पन्न भएको हो। सो समारोहमा विशेष वक्ताका रूपमा आमन्त्रित समालोचक डा. नेत्र एटमले ‘समकालीन नेपाली समालोचनाको मूलभूत प्रवृत्ति र भावी मार्गचित्र’ का विषयमा आफ्नो धारणा राखेका थिए।

मन्तव्यका क्रममा उनले वर्तमान नेपाली समालोचना कृतिको सप्रसङ्ग व्याख्यामा सीमित हुँदै गएको जस्तो देखिएकाले सांस्कृतिक इतिहासका सापेक्षतामा कृतिको मूल्याङ्कन गर्नेतर्फ समालोचकहरू केन्द्रित हुनुपर्ने र समालोचनाले पाठकको दृष्टिकोण फराकिलो पार्न सक्नुपर्ने धारणा राखेका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले ‘भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान’ भन्ने मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको बताए।उनले नित्य निरन्तर नयाँ कार्यक्रमहरू संचालन गर्ने क्रममा  सिद्धहस्त समालोचकहरूको समालोचनात्मक आलेखहरूलाई सङ्गृहीत गरी समालोचना विशेषाङ्क प्रकाशन गरिएको र स्रष्टा र समालोचकहरूलाई एकै ठाउँमा भेला गराई सामूहिक रूपमा पत्रिका विमोचन गर्ने  सोचले कार्यक्रमको नयाँ ढाँचा तयार  गरिएको विचार राख्दै उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए।

सो समारोहमा समालोचना विशेषाङ्कका लागि समालोचनात्मक लेख उपलब्ध गराउने समालोचकहरूमध्ये उपप्राध्यापक अनुपमा रेग्मी, उपप्राध्यापक आरएम डङ्गोल, डा. कौशिला रिसाल, ठाकुर बेलवासे, ठाकुर शर्मा भण्डारी, तेजविलास, प्राडा भागवत ढकाल, डा. मधुसूदन गिरी, मुकुन्दप्रसाद प्रसाईं, वाशुदेव गुरागाई र  उपप्राध्यापक हेमबहादुर भण्डारीको उपस्थिति रहेको थियो।

त्यस्तै सो विशेषाङ्कमा समावेश भएका समालोच्य कृतिका सर्जकहरूमध्ये विष्णुबहादुर सिंह, रामेश्वर राउत ‘मातृदास’, मातृका पोखरेल, गङ्गाप्रसाद भेटुवाल, दामोदर पुडासैनी किशोर आदिका साथै साहित्यकार विन्दु शर्माको उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

सो कार्यक्रममा आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाज सातौं कार्यसमितिका पदाधिकारीहरू - कृष्णदेव रिमाल ‘शब्दसेना’, शारदादेवी भट्टराई पोखरेल, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, आविष्कार कला, बलराम पुडासैनी, रीता चालिसे खनाल, अनिल पौडेल र रामराजा ओझाको उपस्थिति रहेको थियो।

यस अघि ‘तीन तियाँ’, ‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’, ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘पर्यटन साहित्य’, ‘त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम्’ लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू गर्दै आएकोमा विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरूलाई वरिष्ठ स्रष्टा र समालोचकहरूसँग साक्षात्कार गराउने उद्देश्यले यसपटक केही पृथक कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव एवं कार्यक्रम संचालक विष्णु आचार्य ‘अतृप्त’ ले बताए।

प्रकाशित: १२ श्रावण २०८१ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App