१) तितो सत्य
कतै विष त कतै अमृत पाइन्छ
कति बुझेर त कति नबुझी खाइन्छ
शत्रुको शत्रु त मित्र नै हो महोदय
फलाम काट्न त फलाम नै चाहिन्छ।
२) आड
बाँच्नलाई पनि त रहर चाहिन्छ
जसरी नदी बग्न बगर चाहिन्छ
उ घर देश छोड्यो र प्रदेश गयो
घर बसाल्न पनि त घर चाहिन्छ।
३) मित्थ्या
के लिनु के दिनु फेरि के नहुनु के भएछ
के पाउनु के गुमाउनु के थियो र के गएछ
मृत्यु अन्तिम सत्य हो अजम्बरी कोही छैन
तेरोमेरो भन्नु त मात्रै मित्थ्या भ्रम रहेछ।
४) धोका
थाहा छैन कसले कसरी कति कमाउँछ
हाम्रो त चाडपर्वले पनि घाँटी समाउँछ
देश बनाउने नारा घोकेर जङ्गल पसेको
धोकेबाज हो उ देश बेचेर घर बनाउँछ।
५) नियति
हिजो जस्तो थियो आज उस्तै रहेपछि
विश्वासका आस्थाहरू ढल्दै गएपछि
लोकतन्त्रमा लोककै लागि कस्को जय भन्नु
हात्ती आयो हात्ती आयो फुस्सा भएपछि।
६) धुन्धुकारी
सुरक्षा छैन नारीको अस्मिता लुटिन्छ
अन्यायमा बोल्नेहरूकै जिब्रो थुतिन्छ
धुन्धकारीको हातमा शक्ति परेपछि
के भन्नु बुद्धको देशमा भिक्षु कुटिन्छ।
७) भ्रम
काम नगर्नेहरूको काम भनेकै कुरा काट्नु रहेछ
अनि चोरमाथिको चन्डाल बनेर दुनिया ढाँट्नु रहेछ
ऊ आयो चुनावको बेला देश बनाउँछु भनेर जित्यो
नेता आउनु भनेकै दिमाग चाट्नु र आदर्श छाँट्नु रहेछ
८) खाडल
अहम्ता छ दम्भ बढ्छ र त खाडलमा पर्छ
उ मेरा खुट्टा तान्नकै लागि मरिहत्ते गर्छ
बतासमा तास खेलेर हारेपछिको कुरा
मेरै पाउ समाउँछ यार न बाँच्छ न मर्छ।
९) क्रान्ति
मालिक बन्छन् हामीलाई दास बनाउछन्
तिनीहरू आउँछन् अनि उठीबास बनाउँछन्
समानताको नारा दिएर मुठ्ठी कस्नेहरूले नै
छाती छामेर बुट बजार्छन् र लास बनाउँछन्।
१०) यथार्थ
मलाई खुकुरी बनाएपछि उ दाप भएकी हो
मेरै सम्पत्ति कुम्ल्याई फलिफाप भएकी हो
म रित्तिए अनि सम्बन्धविच्छेद मुद्दा हाली
मेरै घरमा आएर मैया रानी साप भएकी हो।
प्रकाशित: ७ श्रावण २०८१ ०९:५४ सोमबार