२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

कसैलाई दरबार बनाउनु छ, कसैलाई घरबार बनाउनु छ!

मुक्तक

१) मुक्तक

परिणाम त्यस्तै आउँछ, जस्तो दृष्टि हुन्छ

हेराइ र सोचाइमा आधारित सृष्टि हुन्छ

गन्तव्यको यात्रामा लगातार हिंड्नेले नै

उद्देश्य प्राप्त गर्छ अनि पुष्प वृष्टि हुन्छ।

२) मुक्तक

बगैंचामा मौलाएका रङ्गीचङ्गी फूल जस्तै

तिमी बन्नू दुई किनार जोड्न सक्ने पुल जस्तै

दुर्गन्धले भरिएको फोहोरको ढल होइन

हिमालबाट झर्ने साङ्लो बन्नू स्वच्छ मुल जस्तै।

३) मुक्तक

जुन ठाउँमा दाजु र भाइ हुन्छ

आखिर दुवैलाई भलाइ हुन्छ

आकाश जस्तै फिजारिन्छ छाती 

सम्मान अनि त्यहीं उचाइ हुन्छ।

४) मुक्तक

म जाँगर बनेर लटरम्म फल्छु

र अक्षर बनेर झलमल्ल बल्छु

अनि हेरी राख्नुसोस् उजेल्छु धारा यो

बदलिन्छु आफू र दुनियाँ बदल्छु।

५) मुक्तक

यहीबाट सुस्ता लेख्छु कालापानी लेख्छु

अप्ठ्यारोमा जिउन सक्ने जिन्दगानी लेख्छु

यो देशको माटो लेख्छु लेख्छु बाटोघाटो

यहींबाट पुर्खाहरुको बलिदानी लेख्छु।

६) मुक्तक

यही गाउँ बेसी रहर भो मलाई

अनि यही बस्ने ठहर भो मलाई

यी पाखापखेरा कुनाकन्दरा नै

काठमाडौं जस्तै शहर भो मलाई।

७) मुक्तक

जिन्दगी सुन्दर छ जिउन जान्यो भने

दारु पनि औषधी हो पिउन जान्यो भने

बाङ्गाटिङ्गा बाटा पनि सरल रेखा बन्छन्

सफल होईन्छ समयलाई सिउन जान्यो भने।

८) मुक्तक

यही माटोमा सुसेल्दै यहि माटोमा रमाऊ

यो  देशमा म जन्मे बस्न यहीँ म पाऊँ

छ स्वर्ग यो  देश बनाऊ सब मिलेर

स्वार्थी  बनी कोही अन्त  कतै नजाऊ।

९) मुक्तक

विश्वासले पूजा गर्दा आत्मा हुन्छ पत्थरमा

हजुर बालुवा देख्नुहुन्छ सुन फल्ने बगरमा

संसारका हरेक वस्तु सोचाइमा भर पर्छन् 

असल खराब हुँदोरहेछ मान्छेको नजरमा।

१०) मुक्तक

कसैलाई दरबार बनाउनु छ

कसैलाई घरबार बनाउनु छ

मलाई भने यसबेला समाज

सम्याएर बराबर बनाउनु छ।

प्रकाशित: ६ श्रावण २०८१ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App