२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

घर चलाउनको निम्ति घर लिलाम भयो!

मुक्तक

१) मुक्तक

चुल्हो भत्काएर ओदान राख्दा पनि

ज्यानको बदलामा ज्यान राख्दा पनि

वार्ताको टेबलसम्म राखेन समयले

तिम्रो पोल्टामा परान राख्दा पनि।

२) मुक्तक

एकदिन गुजारा चलाइ हेर म बिना

तिमी रित्तो हुनेछौ त्यतिखेर म बिना

आँखा चिम्लेर भरोसा नगर्नु पर्थ्यो

अब बाँच्न सिक अन्धो भएर म बिना।

३) मुक्तक

बेलुनमा हावा भर्ने सास पुगेको छैन

यो हाल यो खबर प्रवास पुगेको छैन

मर्दैछ हल्ला चलेछ घाटमै पुगे मलामी

चौकाबाट आँगनसम्म लास पुगेको छैन।

४) मुक्तक

तिम्रो यादले सतायो एकतमास आज  

र गलामा अवरुद्ध  भैदियो सास आज                                

यो खबर कस्ले पुर्याइदेला तिमीसम्म

यहाँ, त उल्टो  चलिरहेछ बतास आज।

५) मुक्तक

उपहार के लिएर जानी सोचिरहेछु

आगो लैजाउँ कि पानी सोचिरहेछु

आफ्नो मान्छे त कहिल्यै आफ्नो भएन

सुम्पिदा पनि सिङ्गो जवानी सोचिरहेछु।

६) मुक्तक

भएभरको  खेतबारी बन्धकीमा छ

छोडिदिएँ मायामारी बन्धकीमा छ

मन्दिरछेउमा खोलिएको भट्टी छिरेपछि

पतिदेवको फिर्ती सवारी बन्धकीमा छ।

७) मुक्तक

घर चलाउनको निम्ति घर लिलाम भयो

तिम्रो सपना अनि मेरो रहर लिलाम भयो

गाउँको दुख हर्ने निहुँमा लघुवित्त छिरेपछि

पिपलसँगै चौतारीको बर लिलाम भयो।

८) मुक्तक

कम देखिन्छ धेरै दुख्छ घाउ मेरो

भयो यति धेरै नजिक नआउ मेरो

तिमी उदाएपछि म ओझेलमा परेँ

टिलपिल छ आँसुको तलाउ मेरो।

९) मुक्तक

जुवामा जितेको धन काम लाग्दैन

कपटी हुन्छ त्यो मन काम लाग्दैन

निस्कियो बन्दक राखेर स्वयंलाई

लाग्दैन जुवाडे जीवन काम लाग्दैन।

१०) मुक्तक

केही गुमाएर केही पाउने आसमा

ऊ व्यर्थ लगानी गर्दैछ आकाशमा

तातो हुने हो धर्ती  घामको स्पर्षले

सुकाएर बिस्कुन सुन्दैन बतासमा।

प्रकाशित: ४ श्रावण २०८१ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App