८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला

कविकण्ठमा गुनगुन गीत

पुस्तक

‘गीतमा कथा हुन्छ, गीतमा व्यथा हुन्छ, गीतमा आँसु-हाँसो हुन्छ, हर्ष-विस्मात हुुन्छ, आरोह-अवरोह हुन्छ, गीतमा जीवन र जीवनको साहित्य हुन्छ।’

यी पङ्क्तिमा गीतकार दुबसुले भनेझैं निश्चय नै गीतमा जीवनका विविध आयाम समेटिने भएकाले नै हामी गीतका भाव अनि शब्दका गहिराइमा डुब्न पुग्छौं। गीत जीवन्त हुन्छ र त हामी गीतसँगै गुनगुनाउन पुग्छौं, जिउन पुग्छौं। जीवनमा दुःख, पीडा, खुसी, उमङ्गमा हामी गीतको अझ नजिक पुग्छौं। सोच्नुस् त, गीतसंगीत नभइदिए जीवन कस्तो निरास, टिठलाग्दो, उराठ हुँदो हो? गीत जीवन हो भने संगीतले जीवनलाई जीवन्तता प्रदान गर्छ। यही जीवन्त गीत र संगीतको मधुर संगम कहिलेदेखि हाम्रो जीवनको अभिन्न भाग बन्न पुग्छ, हामी पत्तै पाउँदैनौं।

तीसको दशकदेखि अनवरत नेपाली साहित्यमा कलम चलाउँदै आएका एक यस्ता सर्जक जसले बाल्यकालमा आफ्नी आमाले रामायण, महाभारत, देवीभागवत, मुनामदन, गौरी, गुणरत्नमाला, नम्र निवेदन पद्यग्रन्थहरू लय हालेर वाचन गर्नुभएको सुनेपछि त्यसैको प्रभावले स्कुले जीवनकालमै कविता कोर्दै किशोर उमेरमा आइपुग्दा नपुग्दै कवि बन्न पुगे। समयको गतिसँगसगै कविता, गजल, गीत, लेखनले तीव्रता पाउँदै गएर युवावस्थामा नै नेपाली साहित्य क्षेत्रमा चिरपरिचित नाम दुबसुका रूपमा चर्चित भए।

झापा जिल्ला अर्जुनधारा गाविसमा घरका जेष्ठ सन्तानका रूपमा जन्मेका अध्ययनशीलता, कडा मेहनतले उनलाई नेपाल सरकारको गरिमामय पदमा आसीन गराएको छ। उनै कूटनीतिज्ञ डा. दुर्गाबहादुर सुवेदीभित्रका साहित्यिक अनुरागी व्यक्तित्व नै नेपाली साहित्य क्षेत्रका साधक दुबसु क्षेत्रीका नामले परिचित छन्। आफूभन्दा अग्रज साहित्यकारका पदचाप पछ्याउँदै साहित्य सिर्जना गर्दै कति बेला एक बौद्धिक कविका रूपमा आफ्नै भिन्न धार शैलीका सर्जक बन्न पुगे, उनलाई हेक्कै रहेन।

हामी देख्छौं, मूलतः साहित्य क्षेत्रका व्यक्तित्वहरू आफ्नो नामका पछिल्तिर उपनाम जोड्न रुचाउँछन्। केदारमान ‘व्यथित’, गोविन्दबहादुर मल्ल ‘गोठाले’, भवानी ‘भिक्षु’, डा. राममान ‘तृषित’। यहाँ पनि उनले आफ्नै शैली अपनाउन पुगेछन्। आफ्नो पूरा नाम दुर्गाबहादुर सुवेदीलाई छोट्याई सटिक अनि पूर्ण साहित्यिक उपनाम दिए ‘दुबसु’। व्यक्ति उही नाम फरक अनि फरक नामसँगै जोडिएका अनेक जिम्मेवारी र काम एकअर्कासँग विपरीतका बीच दरिलो आत्मविश्वास, अनुशासित, शालीन। व्यक्तित्व भने उही।

पेसागत जिम्मेवारी वहन गर्न क्रममा जन्मभूमिबाट पटक पटक टाढा रहनुपर्दा पनि आफुभित्रको कवि गीतकार दुबसुलाई साथमा सक्रिय बनाइरहे, कलम चलाइरहे। विदेशी माटोमा नेपाली भाषा साहित्य गीतसंगीत एवम् नेपाली कला नाटकको विस्तारमा आफूलाई सदैव समर्पित गराउँदै लागि परिरहे।

उनी गीतमा पोख्छन्, ‘कहिले उत्सवजस्तो, कहिले उमङ्गजस्तो मेरो जिन्दगी।’ गीतकार आफूलाई जीवनरूपी कुरुक्षेत्रको अभिमन्युको संज्ञा दिँदै भन्छ, ‘तोड्छु एउटा व्यूह थपिन्छ, अर्काे चक्रव्यूह।’

उनी आफूलाई अनगिन्ती सङ्घर्षलाई छिचोल्दै गन्तव्यतिर लम्किरहेको अविरल यात्रीका रूपमा चित्रण गर्न पुग्छन्।

कतै ठट्यौलो युवक बन्छ दुबसु:

‘कति बस्छ्यौ झ्यालमा

जीवन जाला ख्याल ख्यालमा

माछी परेन जालमा माझी रह्यो भोको

गैरी गाउँकी गोरीलाई सिन्दुर हाल्ने धोको।’

विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘डा. दुबसु क्षेत्रीका नयाँ गीत’मा सङ्गृहीत गीतका माथिका पङ्क्ति यसै पुस्तकका हुन्। रत्न पुस्तक भण्डारबाट प्रकाशित दुबसुका यस पुस्तकमा एक सय एक वटा गीत रहेका छन्। पुस्तकको प्रथम पेजमा सम्पादक भौकाजी स्वीकारोक्ति शैलीमा लेख्छन्, ‘पुस्तकमा केही समयअघिका केही गीत पनि समाविष्ट छन्। कविता, गीत, गजलहरू एक साथ लेख्दै आएका उनको यस पुस्तकमा गीतकारका रूपमा अलिक माझिएको अनुहार देखापर्छ।’

भनिन्छ, कविभित्रको गीतकार कदापि गौण रहन सक्दैन, यो समयसँगै प्रस्फुटित हुन्छ। बौद्धिक कविका रूपमा छवि बनाएका दुबसु बिस्तारै गीतकारका रूपमा नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित हुन पुगे। प्रायः सर्जकका सिर्जनामा प्रेम विषयका अनेकौं अनुभूतिहरूको श्रेष्ठ प्रस्तुति रहे पनि तिनी को हुन्? कसको प्रेमानुभूतिमा लेखिएका हुन्? भन्ने तथ्य सदा रहस्यको पर्दाभित्र रहेका हुन्छन्।

यहाँ गीतकार दुबसु भने आफू कसको प्रेममा डुबेका छन् भन्ने रहस्यलाई आफ्ना गीतहरूमा तिनीलाई सम्बोधन मात्र गरेका छैनन्, उनीप्रतिको प्रेम अनुरागका अनि प्रणयका मादक क्षणलाई माधुर्यले उजागर गरेका छन्, जुन पढ्दा पाठकलाई नवीनतम आभास गराइदिन्छ। ‘जीवनलाई पानीको थोपा नसम्झ पुनम’, ‘मन पानी पानी भो’, ‘अब बर्सिन्छ पुनम’, ‘पुनमसँग चाँदनी’, ‘मेरो ओठको डाम छ तिमीमा पुनम’, ‘परेली पग्ल्यो पुनमको पलपल’, ‘जब पुनमको चुरा खस्यो’। कवि दुबसु कहिले ‘छटपटी छटपटीमा रात बित्यो’ भन्दै एकै झमटमा यौवनको मात बितेकोमा बिलौना गर्न पुग्छन्।

गीतहरूमा आफ्नो नायकत्व गर्दै उनी कहिले विशुद्ध प्रेमीका रूपमा देखापर्छन् त कहिले गर्विलो शैलीमा आफूलाई ‘जवानीमा मन पराउने कति कति, पानीमा छाता ओढाउने कतिकति’ भन्न पनि पछि पर्दैनन्। कहीं मायामा विलुप्त हुँदै ‘तिमी नै तिमी पो देख्न थालेँ’ त कहीं भरिलोपनमा गीत कोर्न पुग्छन्, ‘तिमीसँग नमातिएको मन पनि के मन’!

‘आँसु कहिले शीत बनिदिन्छ, पीडा कहिले गीत बनिदिन्छ,’ गीतकार सडकमा परिर्वतनका आशामा हिँड्छन्। बेथितिबाट निस्सासिँदै आँखामा पट्टी बाँधेपछि दुखाइले पनि दुख्न छोड्छ उनलार्ई अनि रोषपूर्ण शैलीमा गीत बोल्छन्, ‘पत्थरलाई कुदेर देवता नबनाऊ, घाटमा बसेर पे्रमको गीत नसुनाऊ’। त्यसैगरी कहिले ‘देवताहरू मन्दिरभित्र मौन रहन थालेपछि, देवता पत्थरझैं चुपचाप बस्न थालेपछि’ भन्दै मानवीय संवेदना पीडामा चिन्तिन व्यक्ति बन्छन् गीतकार अनि गीतमा बोल्न पुग्छन् -मन्दिरबाट बाहिर निस्क, मसानभित्र पस।

कहिले जीवनका भोगाइहरू बोल्छन्, ‘अचानोजस्तो जिन्दगीमा अनगिन्ती चोटहरू खपे’, ‘बन्दुक बेचिरहनेहरूलाई कलमको मजा थाहा हुँदैन’, ‘आँसु पिइरहनेहरूलाई रक्सीको नसा थाहा हुँदैन’ भन्दै उनी फेरि रबाफिलो स्वरमा ‘केको डर’ भन्दै आइपर्ने हरपरिस्थिति सामना गर्न तयार रहन्छन्।

फूलजस्तो मुटुलाई असङ्ख्य घाउहरूबाट जोगाएर बसेँ, चोटमाथि चोटको पिरामिड खपिसकेँ भन्दै गीतमै ढाडस दिन्छन्। मायालु देख्न नपाउँदा व्यग्र हुँदै दुबसु भन्छन्, ‘तिमीलाई नदेख्दा पनि कस्तो कस्तो’, ‘तिम्रो याद साउनकोे झरीजस्तो दर्किरहन्छ, तिम्रो याद नदेखिने घाउजस्तो बल्झिरहन्छ’।

‘अश्वमेध यज्ञका घोडाहरू’लगायत पुस्तकका सर्जक दुबसु साहित्यिक सिर्जनाका क्षेत्रमा निरन्तर क्रियाशील छन्। कतै नितान्त नयाँ चिन्तन त कहिले आफ्ना सिर्जनामा मूर्त अमूर्त प्रयोग गर्न दुबसु लाग्छन्। आफ्ना यी गीतहरूमा आफूभित्रका मायाका अनुभूतिलाई शब्दस्वरूप दिँदै पस्किरहेका छन्। पुस्तकको अन्तिम चरणमा कवि गीतकार दुबसुका अन्तर्वार्ता संलग्न गरिएको छ। जसमा उनले नेपाली साहित्य क्षेत्रदेखि नेपाली संगीतको विकासक्रमको फेहरिस्त प्रस्तुत गरेका छन्।

साहित्य र संगीत मन पराउनुहुने सबैका लागि यो पुस्तक महत्त्वपूर्ण हुने देखिन्छ भने अझ त्रिभुवन विश्वविद्यालयमा साहित्य तथा संगीत विषय लिई अध्ययनरत विद्यार्थीका लागि यो पुस्तक शोध, सन्दर्भसामग्रीका लागि झनै उपयोगी हुने देखिन्छ।  

प्रकाशित: २९ असार २०८१ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App