१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

मुक्तककार नानुमैया दाहालको ‘खुला आकाशमुनि’ लाेकार्पण

नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले साहित्यकार नानुमैया दाहालको ‘खुला आकाशमुनि’ मुक्तकसंग्रहको लाेकार्पण गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, वरिष्ठ गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले कृतिको  संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

समालोचक हरि कट्टेलले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले मुक्तकमा राजनैतिक,सामाजिक,आर्थिक, पारिवारिक जस्ता विविध विषयवस्तुलाई कलात्मक रूपमा उठाएको बताए।

उक्त कार्यक्रममा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारी लगायतले लाेकार्पित कृतिका केही मुक्तक वाचन गरेका थिए।

मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ मुक्तक संगृहीत छन्। कार्यक्रममा वक्ताहरूले छोटो समयमै लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको बताए।

संस्थाका अध्यक्ष बाबुराम पोखरेलले प्रतिष्ठानले दाहालको ‘खुला आकाशमुनि’सहित ११ संग्रह प्रकाशित गरिसकेको बताए। त्यस्तै प्रतिष्ठानले मुक्तक लेख्न चाहने स्रष्टाहरूलाई प्रशिक्षण, अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै आएको सचिव मदन भण्डारीले बताए। 

प्रकाशित: २३ असार २०८१ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App