नेपाली समाज पनि पितृसत्तात्मक सोचबाट नै परिचालित छ। नेपालको केही हिमाली क्षेत्रमा अझै पनि बहुपत्नी विवाहप्रथा छ। कतिपय ठाउँमा बहुपति प्रथा पनि अझै कायम छ। अब हामी बहुपति विवाहसन्दर्भमा महाभारतको इतिहास हेर्दा इसापूर्व ३१०२ मा कलियुग सुरु भएको मानिन्छ।
भगवान् कृष्ण १२५ वर्ष बाँचेका थिए। त्यो द्वापर युग थियो। उनको यौवनको उत्तरार्धमा लगभग १०० वर्ष अघि इसापूर्व ३२०० वरपर द्रौपदीको विवाह भएको थियो। उनका पति पाँच पाण्डव थिए। यसकारण के भन्न सकिन्छ भने त्यो बेलामा पनि बहुपति विवाहको प्रचलन थियो। बहुपति हुनुमा पुरुष सङ्ख्या बढी र महिला सङ्ख्या कम हुनु एक कारण थियो। उनको विवाह किन पाँच जनासँग भएको थियो, यसमा अनेक कोणबाट व्याख्या गरिएको छ। तर पनि केही भाष्यमा उनको असीमित इच्छा र आकाङ्क्षासँगै ईश्वरीय वरदान दर्साइएको छ। जे जस्तो दर्शन जनाइए तापनि तत्कालीन समयमा बहुपति प्रथा रहेछ भन्ने यकिन गर्न सकिन्छ।
हाम्रो नेपालको हिमाली क्षेत्रमा पनि केही समय अघिसम्म धेरै भाइले एक श्रीमती राख्ने वा मागी विवाह गरेका उदाहरण छन्। यसमा सामाजिक, आर्थिक नै प्रमुख कारण छन्। केही सांस्कृतिक कारणले गर्दा पनि बहुपति विवाह गरेको पाइन्छ।
अब नेपाली समाज पनि केही दशकभित्र बहुपति वा महिला अनुपातमा पुरुष जनसंख्याको अनुपात अत्यधिक हुने आँकडा देखिन्छ। यसको प्रमुख कारण भनेको नेपालमा पुरुषको जन्मदर प्रत्येक वर्ष बढ्दै जानु हो। यो जन्मदर जनसंख्यामा दशकौंदेखि पुरुषको जन्मदर महिलाको भन्दा बढी छ। यो दिन प्रतिदिन बढ्दै गएको छ।
समग्रमा हेर्दा नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिन्छ। सन् १९५० मा प्रति १०० महिलामा ९७.२ पुरुष थिए भने सन् २०२० मा यो अनुपात ८४.५ मा झरेको देखिन्छ। सन् २०२१ मा नेपालको जनसंख्या महिलाको ५१.१३ प्रतिशत छ भने पुरुषको ४८.८७ प्रतिशत रहेको छ।
हामीले यो आँकडा मिहिन रूपमा हेरिएको छैन कि दशकौं अघिदेखि महिला बालजन्मदरभन्दा पुरुष बालजन्मदर बढ्दै गएको छ। फलस्वरूप कतै अब नेपाली समाजमा पनि पुरुषदर बढ्दै जाँदा बहुपतिको समाज निर्माण हुने त होइन? यही विषय नै खोजको विषय बनेको छ।
विश्व परिवेश
विश्वको तथ्याङ्क हेर्दा अहिले प्रत्येक देशमा महिला जन्मदर भन्दा पुरुष जन्मदर धेरै रहेको देखाउँछ। विश्वमा अहिले धेरै देशमा प्रति १०० महिला जन्ममा लगभग १०५ पुरुष छन्। जनसंख्यामा वृद्धिदर विश्वको जनसंख्या प्रतिवर्ष ९० करोडभन्दा बढीले बढिरहेको छ।
विश्वव्यापी समग्र लिंग अनुपात भने १.०१८ हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जन्ममा अपेक्षित लिंग अनुपातका रूपमा अनुमान गरेको छ। यसको विश्लेषण हामी सन् १९५० देखिको जन्मदर आँकडा हेर्न सकिन्छ। विश्वको कुल जनसंख्याको लिंग अनुपात ०.९८४ (प्रति १००० महिलामा ९८४ पुरुष ) थियो। जुन अहिले आएर विश्वव्यापी लिंग अनुपात करिब १०१६ पुरुषमा १००० महिला रहेको देखिन्छ।
मानव अधिकार र लैंगिक समानता भन्ने देशहरूमा नै महिलाको जन्मदरभन्दा पुरुषको जन्मदर धेरै छ। सन् २०२१ मा चीनमा १०४ पुरुषमा महिलाको संख्या १०० देखिन्छ। यहाँ पनि पुरुष जन्मदर बढी देखिन्छ।
यसमा अमेरिकाको सन् २०२२ को तथ्यांकअनुसार ५१ प्रतिशत पुरुष जन्मिएका छन् भने ४९ प्रतिशत महिला जन्मिएका छन्। यस सोचबाट नेपाल पनि अछुतो छैन। छिमेकी मुलुक भारत र चिनको आँकडा हेर्दा पनि महिलाको भन्दा पुरुषको जन्मदर धेरै देखिन्छ। किन पुरुषको जन्मदर बढेको छ भन्दा छोरा चाहिन्छ भन्ने मानसिक सोच तथा समाजको मनोविज्ञान अझै पनि छ। यही सोचले गर्दा दिनहुँ हजारौं महिला भ्रूण हत्या गरेका छन्।
उता अर्को छिमेकी मुलुक चीनमा पनि वर्षौंदेखिको जनगणना तथ्यांकले पुरुषको तुलनामा महिलाको संख्या कम रहेको छ। फलस्वरूप चीनको जनसंख्यामा उल्लेखनीय लिंग अनुपातमा असन्तुलन हुने विश्लेषण गरेका छन्।
कतार र संयुक्त अरब इमिरेट्समा त झन् महिलाको अनुपातमा पुरुषको जनसंख्या धेरै प्रतिशत बढी छ। जहाँ एक चौथाइ महिला मात्र छन्। सन् २०२० को आँकडाअनुसार कतारमा पुरुष र महिलाको अनुपात तीन सय ४३ पुरुषमा एक सय महिला छन्।
त्यस्तै बहराइनमा १०० महिलाको अनुपातमा १६४ पुरुष रहेका छन्। छिमेकी मुलुक भारतको तथ्यांकअनुसार सन् २०२२ मा महिला अनुपात प्रति १०० मा पुरुष अनुुपात ११० छ। यो अनुपात सन् १९७५ मा प्रतिमहिला १०० मा प्रतिपुरुष १०६ थियो। अब हामी चीनको जन्मदरलाई हेरौं। लैंगिक भेदभाव वा हस्तक्षेपका कारणले गर्दा अब विश्वको जन्मदरमा प्रतिमहिला १०० मा प्रतिपुरुष १०५ बाट १०७ हुदै जाँदैछ। यसले विश्वमा पुरुष जन्मदर दिनानुदिन बढ्दै गएको देखाउँछ। यो पनि भन्न सकिन्छ कि केही दशकमा एक महिलाको अनुपातमा धेरै पुरुष वा बहुपुरुष हुने संकेत गरको छ।
नेपालमा जन्मदर
विश्वभरि लिंग अनुपातमा केही भिन्नता छन् भन्ने माथिको आँकडाअनुसार यकिन गर्न सकिन्छ। पुरुष र महिला जनसंख्याको अनुपात निकै नै असन्तुलित हुन गइरहेको छ। यसमा नेपाली समाज पनि अछुतो छैन। अझ केही देशहरूमा हरेक वर्ष जन्मिने महिला र पुरुषहरूको संख्या घट्दो छ किनकि महिलाको प्रजनन संख्या पनि उल्लेखनीय रूपमा घटेको छ।
लिंग अनुपातलाई प्रत्येक १०० महिलाजन्मका लागि पुरुषजन्मको संख्याका रूपमा मापन १०० नै भयो भने बल्ल महिला र पुरुष अनुपात मिल्ने हो तर यो असुन्तलन डरलाग्दो तरिकाले बढेको छ। यसको प्रभाव विकसित देशमा त छँदैछ, अल्पविकसित देशहरूमा ठुलो सामाजिक, सांस्कृतिक विचलन ल्याउने छ। जसमा नेपाली समाजको सामाजिक, सांस्कृतिक असर गर्नेछ। विभिन्न तथ्यांकले प्रत्येक १०० महिला जन्ममा ११० जना पुरुष जन्मिने संकेत गर्छ। अब हामी नेपालको पुरुषको जन्मदरको विश्लेषण गरौं।
सन् २०२२ मा नेपालको जनसंख्याको मुख्य तथ्यांकमा ६ लाख २१ हजार ८५ जीवित बच्चाको जन्म भएको थियो। जसमा पुरुषको संख्या ५२.८ प्रतिशत अर्थात् तीन लाख २७ हजार नौ सय ३२ थियो भने महिलाको ४७.३ प्रतिशत अर्थात् दुई लाख ९३ हजार सात सय ३३ जन्मिएका थिए। यसमा महिलाभन्दा पुरुषको संख्या ३४ हजार एक सय ९९ बढी छ। यो भनेको पुरुषको संख्या लगभग ६ प्रतिशतले बढेको देखिन्छ। यस्तो तथ्यांक दशकौंभन्दा बढी समयदेखि नै देखिन्छ।
सन् २०२१ मा चार लाख १२ हजार नौ सय ३५ बालबालिका जन्मिएकामा दुई लाख १८ हजार ७४ पुरुष थिए भने एक लाख ९४ हजार आठ सय ६१ महिला बच्चा जन्मिएका थिए। यसमा २३ हजार दुई सय १३ पुरुष बच्चा बढी जन्मिएका छन्। यसको वृद्धिदर भनको पनि ५.६ प्रतिशतले बढेको देखिन्छ।
सन् २०२० मा प्रति १०० महिलामा १०७ पुरुषको जन्म भएको थियो। यसमा सात प्रतिशतले बढेको छ। यो अनुपात २०१५ मा प्रति १०० महिलाको अनुपातमा १०५ पुरुष थियो यो संख्या २०११ मा पनि बढ्ने दर एउटै छ। यो बाह्र वर्षको अवधि हेर्दा पनि प्रत्येक वर्ष ६ प्रतिशतले बढ्दै जाँदा कति प्रतिशत पुरुष बढेका छन् यकिन गर्न सकिन्छ। हामीले सुन्दै र देख्दै आएको एक छोरा मात्र पाउने र बच्चा नबनाउने समाज लगभग दुई दशक भइसकेको छ।
विश्व बैंकको विकास सूचकअनुसार पनि सन् २०२१ मा नेपालको जन्मदरमा लिंग अनुपात प्रतिमहिला जन्ममा पुरुषको जन्मदर १.०५ रहेको छ। यसरी दुई दशक अघिदेखि नै एक छोरा मात्र पाएर दोस्रो सन्तान नजन्माउने दम्पत्तिहरू हाम्रो समाजमा प्रशस्त छन्। दशकौंदेखि छोरा मात्र पाउने सोचले पुरुष बच्चाको जन्मदर धेरै नै बढ्दै गएको छ। यसले केही दशकभित्र एक महिला अनुपातमा धेरै पुरुष हुने देखाउँछ।
अहिलेको बढ्दो परिवेशमा महिला प्रजनन संख्या घट्दै गएको छ। यो संख्या पनि दिनानुदिन खस्कँदो छ। सन् २०२१ को तथ्यांकअनुसार देशको कुलजनसंख्यामा १४ वर्ष वा मुनिका बालबालिका कुलजनसंख्याको २७.८३ प्रतिशत थियो। जुन २०११ को जनगणनामा भने ३४.९१ प्रतिशत थियो। यस आँकडाअनुसार पनि के भन्न सकिन्छ भने बालजन्मदर नै घट्दै गएको छ। नेपाली समाजको ठुलो समस्या भनेको महिला प्रजनन दर घट्दै जानु हो। यो जनसांख्यिक तथा स्वास्थ्यका दृष्टिकोणबाट पनि नेपालको अर्को चुनौती हो।
विभिन्न समयमा अध्ययन गरिएको आँकडाअनुसार महिलाको प्रजनन दर पनि कम भएको देखिन्छ। जस्तो घट्दो प्रजनन दरलाई नेपालको आँकडाअनुसार विश्लेषण गरौं। सन् २०२३ मा नेपालको हालको जन्मदर प्रति १००० व्यक्तिमा १८.३७७ जन्म भएको छ, जुन सन् २०२२ को तुलनामा १.७५ प्रतिशतले घटेको छ। सन् २०२२ मा नेपालको जन्मदरप्रति १००० व्यक्तिमा १८.७०५ जन्म थियो, जुन २०२१ को तुलनामा १.७३ प्रतिशतले घटेको छ।
सन् २०२१ मा नेपालको जन्मदर प्रति १००० व्यक्तिमा १९.०३५ जन्म भएको थियो, जुन २०२० को तुलनामा १.६९ प्रतिशतले घटेको छ। सन् २०२० मा नेपालको जन्मदर प्रति १००० व्यक्तिमा १९.३६२ जन्म भएको थियो जुन २०१९ को तुलनामा १.६७ प्रतिशतले घटेको थियो। यसरी दिन प्रतिदिन प्रजनन क्षमता घट्दै जानुले बालदर कम हुने, बल्ल सन्तान जन्मने, त्यो पनि छोरा नै चाहिने समाजले गर्दा पुरुष संख्या अझ बढ्ने देखिन्छ। यो असन्तुलन मिलाउनका लागि राज्यले छिटै नै यसको समाधानको उपाय पनि निकाल्नुपर्छ। नत्र भोलिको समाजमा धेरै महिलाको प्रजनन क्षमता ह्रास हुने देखिन्छ।
राज्यको नीति र सामाजिक मनोविज्ञान
नेपाली समाजमा दिन प्रतिदिन महिलाको प्रजनन दर घट्दै गएको छ। अझ छोरा पाउने चाहना आजको एक्काइसौं शताब्दीमा झन् बढेर गएको देखिन्छ। राष्ट्रिय जनगणना २०७९ को प्रतिवेदनअनुसार पाँच वर्षभन्दा माथिको कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। तीमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ। यस्तो साक्षरता भएको समाजमा किन छोरा पाउने सामाजिक मनोविज्ञान झन् बढ्दो छ?
यो भने अझ खोजको विषय बनेको छ। आज विज्ञानको आविष्कारले छोरा चाहिने भएका कारण झन् भ्रूण पहिचान गर्दै छोरी भएमा हत्या गर्ने मानसिकता अत्यधिक बढेको छ। यो मानसिकतामा राज्यले पुरुष र महिला जन्मदरको अनुपातमा समानताका लागि एक नीति बनाउँदै पुरातनदेखि गढेर बसेको सामाजिक मनोविज्ञानलाई चिर्न सक्नुपर्छ।
राज्यको नीतिले कति प्रभाव पार्छ भन्ने कुरा हामी चीनको नीतिलाई विचार गरौं। चीनमा सन् १९७९ मा एक बच्चा नीति लिँदा छोरा मात्र पाउन थाले, जसले गर्दा चिनियाँ बेबी क्यालेन्डरको प्रयोग गरियो। यो अहिले विश्वभरि लागु भएको छ। विज्ञानको ज्ञानले पेटमा नै छोरीको भ्रूण हत्याले धेरै नै प्रश्रय पायो। यसका प्रयोग चीन देखि भारत, नेपालमा पनि खुब प्रचलन छ। अझै पनि चिनियाँ समाजमा महिलालाई हेर्न दृष्टिकोण फरक छ। त्यो समाजको मनोविज्ञान पनि छोरा पायो भने बुढेसकालमा आफूलाई हेर्छ भन्ने छ। छोराहरूले परिवारको नाम राख्न सक्ने क्षमता हुन्छ। तिनीहरूको सम्पत्ति विरासत धान्ने नै छोरा हो। फलस्वरूप राज्यको एक बच्चा नीतिले हरेक वर्ष पुरुष बच्चा जन्मिएका छन्। जसले अनन्तकालमा एक महिला वापत बहुपुरुषको अनुपात हुने देखिन्छ। छिमेकी मुलुक भारतमा पनि यही मनोविज्ञान छ। पुरुष जन्मदर वृद्धिले अब हाम्रो नेपाललगायत विश्वका अधिकांश देशमा यो समस्या अबको केही दशकपछिको ठुलो समस्या निम्त्याउने छ।
नेपाली समाजमा छोरा चाहिने सामाजिक, धार्मिक र सांस्कृतिक मान्यताको सामाजिक मनोविज्ञानले अझै पनि ग्रामीणदेखि सहरी क्षेत्रमा धेरै महिलाहरू छोरा नभएर उनीहरूको पारिवारिक समस्यामा छन्। विभिन्न स्वास्थ्य क्षेत्रमा लागेका विज्ञहरूले अझै पनि चिनियाँ बेबी क्यालेन्डरबाट छोरा पाउने तरिका सिकाएकाले धेरै महिला दिदीबहिनीको छोरा पाउने पारिवारिक समस्या धेरै घटाएको छ भन्छन्।
आजकल आएर सोसियल मिडियामा छोरा पाउने विधि र तरिकाहरूको प्रचारप्रसार गर्ने महिला दिदीबहिनीहरू नै छन्। यो मानसिकता झन् बढ्दो देखिन्छ। हामीलाई हिन्दु शास्त्रको धेरै ज्ञान छैन तर पनि आजकल केही विद्वान्हरूले यही शास्त्रको ज्ञानले गर्दा नेपाली समाजमा छोरा पाउनेहरूका लागि मनुस्मृतिको श्लोक उपयोग गरेको पाइन्छ:
युग्मासु पुत्राः जायन्ते स्त्रियोऽयुग्मासु रात्रिषु।
तस्माद्युग्मासु पुत्रार्थी संविशेदार्तवे स्त्रियम्।।
जोडी रात अर्थात् छैटौं, आठौं, दशौं, चौधौं र सोह्रौं रातमा स्त्रीसँग सहवास गर्नाले छोरा जन्मिन्छ। बिजोडी रात अर्थात् पाँचौं, सातौं आदिमा सहवास गर्नाले छोरीको जन्म हुन्छ, त्यसैले पुत्रको कामना गर्ने मानिसले जोडी रातमा नै सहवास गर्नुपर्छ।
निष्कर्ष
नेपालमा पुरुषसंख्या भन्दा महिलासंख्या बढी छ। यो देखिनुका धेरै कारण छन्। यसको मिहिन विश्लेषण गरिनु पर्छ। तर दशकौंदेखि महिला जन्मदरभन्दा पुरुष जन्मदर धेरै भएको कारणले महिलाको जनसंख्या धेरै कम भइसकेको छ। भविष्यमा महिलासंख्या कम हुँदै जानेछ। यसले महिला र पुरुष अनुपातमा खाडल आउने देखिन्छ।
नेपाली समाजमा छोरा चाहिन्छ भन्ने सामाजिक मनोविज्ञान, छोरा पाए स्वर्ग पुगिन्छ, मृत्यु संस्कार गर्छ भन्ने मनोविज्ञान छ। एक्काइसौं शताब्दीको शिक्षित समाजमा पनि छोरा पाउने अनुपात बढ्दै जानु आफैंमा आश्र्चयको विषय बनेको छ। अबको केही दशकमा नेपाली समाजमा महिला जनसंख्याको अनुपातमा पुरुष जनसंख्या बढी हुनेछ। यसले नेपाली समाजको सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा ठुलो समस्या निम्त्याउने छ।
राज्यले यो खाडल व्यवस्थापन गर्नका लागि महिला जन्मदरको वृद्धिमा विभिन्न नीति र विशेष सुविधाको नीति अवलम्बन गर्न सक्नुपर्छ। अर्कातिर जन्मदर बढाउनका लागि महिलाहरूको प्रजनन वृद्धिदर पनि बढाउनु पर्छ। छोरी जन्माउनेलाई आर्थिक, सामाजिक तथा शैक्षिक सहयोग गर्ने नीति राज्यले लिनुपर्छ।
आनुवंशिक अधिकारका लागि विशेष नीति बनाई सामाजिक मनोपरामर्श गर्नुपर्छ। धेरै लामो समयदेखि अन्तर्राष्ट्रिय गैरसहकारी संस्था र नेपालका गैरसहकारी संस्थाले लैंगिक समानतासम्बन्धि धेरै डलर खर्च गरिसकेका छन्। धेरै वर्षदेखि लैंगिक समानताको विषयमा वकालत गरेका छन् तर नेपाली सहरी तथा ग्रामीण समाजमा अझै पनि लैङ्गिक समानता के हो भन्ने बुझ्न नसकेका हुन् कि?
प्रकाशित: २२ असार २०८१ ०८:५१ शनिबार