२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

पवित्रा अधिकारीको ‘देहउत्सव’ माथि एक फर्लङ यात्रा

समीक्षा

सायद सुरभि आख्यान वाचन कार्यक्रममा पहिलो भेट भएथ्यो कथाकार पवित्रा अधिकारीसँग। कोसेली पाएको सम्झना छ उनीद्वारा लिखित कथासङ्ग्रह ‘देह उत्सव’। अमेरिका छिराएको थिएँ पढ्न। तर समयको सोपान यति लामो रह्यो कि कथाकार पवित्राको ‘देह उत्सव’ बल्ल मेरा नजरको पालोमा आयो। कृतिको आवरण भागमा जलिरहेको मैनबत्तीको आगाको लप्कामा एउटी महिला पिल्सिरहेको चित्र अङ्कित छ। जसले स्वाभाविक रूपले कृतिभित्र नारीका उत्पीडन छन् भन्ने कुराको बोध गराउँछ। आवरणको पश्च भागमा कथाकार पवित्रा अधिकारीको तस्बिर र एकदम छोटो व्यक्तिगत विवरण छ। पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले २०७७ सालमा प्रकाशनमा ल्याएको यो कृति कथाकारको पहिलो सङ्ग्रह हो।

कथासङ्ग्रहको ‘देह उत्सव कथासंग्रहमा प्रयुक्त शिल्प सौन्दर्य’ शीर्षकको भूमिकामा प्राडा कुमारप्रसाद कोइरालाले कृतिको अन्तरकुन्तर चाहारेका छन्। यो भूमिका नै कथासाहित्य साधकका लागि सहयोगी सामग्री बनेको छ। अशेष मल्लको शुभेच्छा तथा कृतिकारको आफ्ना कुरा अटाएको यो पुस्तकमा तेइस सङ्गृहीत छन्।

२०३३ सालमा हेटौडामा जन्मिएकी कथाकार अधिकारी आफैं पनि नेपाली भाषा साहित्यमा स्नातकोत्तर तहको अध्ययन गरेकी स्रष्टा हुन्। नेपाली साहित्यभित्र पनि उनी कथामा विशेष अध्ययन गर्छिन्। कथाकै शास्त्रीय अन्तर्यमा विद्यावारिधिमा लागिपरेकी छन्। कथामै दक्खल राख्छिन्। त्यसकारण सुलेख आख्यान पुरस्कार -२०७५ बाट सुशोभित भइसकेकी कथाकार अधिकारी पद्मकन्या क्याम्पसको विद्यार्थी रहेको थाहा पाउँदा कुनै समय मैले पनि पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको सम्झना आइरहेको छ। २०७२ सालदेखि कथालेखनमा होमिएकी तथा विविध पत्रपत्रिकामा कथा प्रकाशन गराइसकेकी हुनाले उनलाई कथासमर्पित स्रष्टा भन्न सकिन्छ।

कथा विनिर्माणको पहिलो कडी द्वन्द्वको निर्माण र व्यवस्थापन हो। याने द्वन्द्वको निराकरण हो। कथाकृति ‘देह उत्सव’ पढिरहँदा कथाशील्पको रूपमा पवित्राको कथालेखनको द्वन्द्व विधान देखापर्छ। नेपालको परम्परागत समाजमा रहेका असङ्गत परिवेश एकातिर छ भने अर्कातिर सोही असङ्गत परिवेशका प्रति सङ्गत खोज्नु प्रायः कथाभित्र पाइएका द्वन्द्व हुन्।

खासगरी नारीको मनोद्वन्द्व नै कथासङ्ग्रहमा प्रयुक्त द्वन्द्व रहेको छ। यसलाई बाह्य द्वन्द्व तथा आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ। एकातिर समाजका जन्जिर छन् भने अर्कातिर ती जन्जिरले दिएको प्रताडनाबारे परिवेशीय विद्रोह छ।

उपर्युक्त द्वन्द्वलाई प्रकटीकरण गर्न ‘देह उत्सव’ मा विविध कथाको निर्माण गरिएको छ। प्रायः कथाहरू परम्परागत समाजका तडपनबाट टिपिएको छ। अर्थात् कथाहरू सामाजिक वृत्तका छन्। सामाजिक वृत्तमा पनि ज्यादातर महिलामुखी छन्। महिलाका कुरा छन्। कथाको भावभूमि समयकालका महिलाको भित्री तहसम्म पुगेका छन्।

तीन पुस्तासहित पाहुनापासासमेतले यौन शोषण गरिएकी कमारीको अन्तरपीडा अभिव्यक्त भएको छ। लास नाघेर अर्को बिहे गर्न जाने पतिको क्रूरता देखाइएको छ। गोप्य रूपमा परपुरुषबाट सन्तानबीज लिने महिलाको परिवेशीय मनोविज्ञान बाध्यता देखाइएको छ। धर्म परिवर्तन गराउने तथा प्रभुले सुन्नेछन् भनी गरिबी तथा पीडामाथि खेल्ने परिवेशलाई कथानक बनाइएको छ। मनोवैज्ञानिक रूपले झन् गरिब बनाइएको दृश्य छ।

भौतिकताको दौडमा पारिवारिक तथा यौनजीवन ध्वस्त भएको तस्वीर छ। रोडा कुटेर जीवन गुजारेका बैंस गुजारेका एक वृद्धको आत्मसम्मानको कथा पनि समेटिएको छ।

बैंसपूर्व नै बिहे, जसका कारणले जीवनमा शून्यता आएको छ। शारीरिक बनौटका कारणले बिहे नभएकी एक महिलाको यौन मनोविज्ञान गजबसँग उजागर भएको छ। यसका साथै अपाङ्गता भएको व्यक्तिमा पनि यौनाङ्ग हुने र त्यसमा आउने उत्तेजनाले उत्पन्न गरेको मनोवैज्ञानिक तथा भौतिक विद्रूपताको चित्रण गरिएको छ। घरघरमा दिनहुँ भइरहने वैधानिक बलात्कारका कथाहरू पनि चित्रित छन्। दाम्पत्य जीवनभित्रको भुङ्ग्रो देखाइएको छ। सेतो फूलको सादृश्यमा विधवाको जीवनलाई अर्थ्याइएको छ।

धनसम्पत्ति दुःखको कारण हो, सन्तानका लागि झगडाको मेलो हो भन्ने यथार्थ पस्किएको छ। बुढाबुढीको अवस्थालाई बेसरी चित्रण गरिएको छ। बुढीको मृत्यु, छोराबुहारीको टोकेसोले बनाएको वृद्धको जीवनकैरन मार्मिक भएको छ।

बाढीले बगाएको विद्रूप अवस्थाको चित्र कहालीलाग्दो छ। आमा गुमाएको बच्चाका लागि पिताले खेलेको भूमिकालाई मजाले महत्त्व दिइएको छ।

कथालेखन प्रक्रियामा कथा प्रस्तुत गर्ने माध्यमका रूपमा पात्रलाई प्रयोग गरिन्छ। कथा भन्ने स्थान याने दृष्टिविन्दुका हकमा भने प्रथम पुरुष तथा अन्य पुरुष प्रयोग भएको छ। ज्यादातर अन्य पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको पाइन्छ। स्वाभाविक छ कि कथाको द्वन्द्वले नायक र खलनायक पात्रको व्यवस्थापन गरेको छ। पात्रलाई कथाले मागेको चरित्रसँग जोडिएको छ। पात्रचयन यथार्थवादी र आदर्शवादी छन्।

कथाकारले कथा भनिरहँदा कथाको भित्री कुरा भनेको परिवेश हो। परिवेशको चित्रणबिना कथाले न्याय पाउन्न। किनकि परिवेशपिच्छे नै कथानकको यथार्थ धरातल फरक हुन्छ। अर्थात् कथानक र पात्रको आधार परिवेश हो। द्वन्द्वको आधार पनि परिवेश हो। अर्थात् कालखण्ड हो। अर्थात् कार्यपीठिका हो। यो कृतिलाई परिवेशीय दृष्टिबाट हेर्यो भने कतै शहरीया, कतै गाउँले परिवेशका सांस्कृतिक, मानसिक,  सामाजिक तथा कालखण्डीय परिवेशको निर्माण सहजसँग भएको छ। यसै क्रममा प्रकृति चित्रण र बयानले पनि कथामा परिवेशको सुन्दर चित्र निर्माण गरेका छन्।

कथाका माध्यमबाट अभिव्यक्त हुने केन्द्रीय विचार थिम हो। कथाकारले कथा लेख्नुको एउटा आलोकित उद्देश्य हुन्छ। केही कुरा भन्नका लागि कथा लेखिन्छ। भनिन्छ। यो कृतिभित्र समेटिएका कथाहरूको समग्र थिमलाई एकै पल्ट भन्ने हो भने समाजमा नारीको अवस्थाको विद्रूप चित्र उतार्नु रहेको छ। र, कथ्यलाई मृत्यु, विछोड, तडपन जस्ता सामग्री प्रस्तुत गरेर कारुणिक, मार्मिक, दयनीय तथा विद्रूप बनाइएको पाइन्छ।

भाषा शैली भाव सम्प्रेषणको सशक्त माध्यम हो। सिर्जनाभित्र सशक्त, सरल तथा सलील शब्दसिर्जना भयो भने पाठकको मनमष्तिष्कभित्र सहज तरिकाले पस्छ। सुन्दर र बोधीय हुनु सिर्जनाको स्वाद हो। यो तथ्यका आधारमा ‘देह उत्सव’ मा प्रयुक्त भाषा तथा भाषा प्रस्तुत गर्ने शैली बेजोड छ।

खासमा भन्ने हो भने यो कृतिमा प्रयुक्त भाषा तथा भाव सम्प्रेषण शैली सवैभन्दा लोभलाग्दो बनेको छ। स्वाभाविक, सरस,सुन्दर, तद्भवप्रधान शब्दचयन, सरल वाक्य निर्माण, आलङ्कारिकता, सूक्तिमय कथन आदि कृतिलाई सरस बनाएका छन्।

यसैगरी वर्तमान पुस्तामा लोप हुँदै गएका भर्सेली, अँगेनु, लैनो, बकेर्नु, मझेरी जस्ता अनेकन ठेट शब्दको प्रयोग भएको छ, जसले कृतिलाई महक प्रदान गरेको छ। भाषा प्रस्तुतिमा जब्बर साहित्यिकता, अलङ्कार, प्रतीक आदिको प्रयोग भएको छ। मुख्य कुरा त भाषा खेलाएर शब्द चातुर्य, वाक्यशिल्प आदिका माध्यमले सामान्य कथावस्तुलाई पनि मार्मिकता बनाउन सक्ने शक्ति लोभलाग्दो छ कथाकारको।

‘देह उत्सव’ कथासङ्ग्रहमा असाध्य धेरै विशेषताहरू छन्। सामान्यतया सामाजिक विषयका कथाहरू भएकाले कृतिभित्र सामाजिक कुरीति, लैङ्गिक विभेद, असङ्गति, असमानता, मनोविज्ञान, यौन, प्रेम, अध्यात्म, सामाजिक मनोविश्लेषणात्मक जस्ता विशेषता पउल छन्।

कृतिभित्र नारी केन्द्रित मनोविज्ञान छन्। दुःखान्त, व्यङ्ग्यात्मक तथा पात्रको चरित्रमा कथानक बुन्ने क्षमता पाइन्छ। कृतिभित्र द्वैअर्थी शब्दको प्रयोगले यौनसामग्री पस्किएको छ, जसले शालीनता, सुन्दरता र स्तरीयता पस्केको छ। व्यक्त अव्यक्त यौनका तिर्सना र यौनजन्य मनोविज्ञान कृतिको विशेषता हो।

लघुकथामा जस्तो कुतूहलता तथा आकस्मिकताबाट कथा सुरु गर्ने शैली पनि देखिन्छ। कथाभित्र अध्यात्मको निराशावादी दर्शन पनि देखिन्छ। जीवनको निस्सारतानजिक छन् कथाहरू। कथाकारकै ‘अब त मृत्यु पनि त्यही एक ओछ्यान न हो, अन्तिम ओछ्यान’, ‘कथै कथाको संसारमा कैयौं कथा खहरेको भेल, नदी तथा समुद्र बन्छन्, मात्र त्यही एक भेल न हुँ म’, ‘मृत्यु कुरुन्जेलको रमिता न हो जीवन’‘श्वासविहीन देहमा नै जीवन खोजें’ जस्ता  शब्द तथा वाक्य सापट लिने हो भने यो कुरा पुष्टि हुन्छ। कथानकमा उल्लेख गरिएका जीवनका पीडाहरूले निस्सारतातिर अग्रसर गराएका छन्।

कथाका शीर्षक सामञ्जस्यमूलक, व्यङ्ग्यात्मक र प्रतीकात्मक छन्। अर्थात् कथाका शीर्षकले नै मार्मिकता, सौन्दर्य तथा गम्भीरता प्रस्तुत गरेका छन्। कथाको भावभूमि सामाजिक यथार्थ रहेको छ। सामाजिक आवश्यकता रहेको छ। यही यथार्थ खोज्दै जाँदा विवाहको अप्राकृतिक स्वरूपसम्म कथानक पुगेका छन्। यसलाई आधार मान्ने हो भने केही कथा अत्याधुनिक वादमा पनि पुगेका छन्। परपुरुषसँग सन्तानबीज लिएर सन्तान जन्माउने परिवेशको निर्माण भएको छ। कथाभित्र मौन विद्रोह छन्। यसरी समग्रमा कथाहरू विशेषताले घनीभूत छन्।

‘देह उत्सव’ कथासङ्ग्रह निकै मार्मिक र सामाजिक रहेको कुरा नकार्न सकिन्न। तर फेरि पनि यो ब्रह्माण्डका हरेक विषय अपूर्ण छन् भन्ने सिद्धान्त पनि सँगै छ। अर्थात् अपूर्णता यथार्थ हो। अपूर्णतामा पूर्णता खोज्नु जीवन हो। प्रयत्न हो। फेरि सो प्रयत्नमा अपूर्णता हात लाग्नु दैनन्दिनको यथार्थ हो। यही यथार्थको धरातलमा बसेर हेर्दा कृतिभित्रका कतिपय कथाहरू आकारीकरणमा छोटा कथा जस्ता लाग्छन्। कथाको बहाव पूरा नभई हठात अपूर्ण नै कथा समापन गरेजस्तो लाग्छ। कथा भन्ने शैली विवरणात्मक छ। बयानात्मक छ। कथाकार आफैंले कथा भनेजस्तो लाग्छ। यसो भएकाले कृतिभित्र दृश्यात्मकता, नाटकीयता तथा चित्रात्मकताको पउलता देखिन्न।

यद्यपि कथाहरू मार्मिक छन्। तर कथाभित्रका कथ्यले कार्यपीठिका तथा कालपीठिकाको सूचना नदिएका हुनाले वर्तमानमा राखेर कथानकको औचित्य पुष्ट्याउन समस्या पर्ने देखिन्छ। कथाहरू सामान्यतया आदर्शवादी छन्। परम्परावादी सामाजिक मनोविज्ञानका आधारमा द्वन्द्व निदान गरिएको छ।

प्रायः पात्रहरू  रुन्चे, कमजोर र अविद्रोही छन्। द्वन्द्वको समाधान परम्परावादी तरिकाले गरिएको छ। बालविधवालाई तपस्वीनी बनाएर छोडिदिने खालको समाधान छ। अत्यधिक कारुणिकता, गरिबी, अन्याय, अत्याचार, विसङ्गतिको विद्रूप रूप छन्। जीवन कुनै पनि मानेमा उल्लासमय देखाइएको छैन। बरु मृत्यु छ, विद्रोह छैन।

बाल्यकाल, बैंस, किशोर, वृद्ध सबै दुःखेको छ कथामा। दुःखै दुःखको भवसागर छ। अर्थात् जीवनका हिसाबबाट हेर्दा विद्रूपता देखिन्छ। उल्लास तथा सुन्दरता छैन। समाजिक समस्याका चाङ छन्, निकास छैन। द्वन्द्वलाई अधकल्चो बनाएर समाधान गरिएको जस्तो लाग्छ। अन्धविश्वासलाई पनि प्रश्रय दिएका कथानक छन्। गिट्टी कुट्ने मजदुरले भगवान्को भक्तिभावबाट मुक्ति पाएको कथा छ। यसले यही कुराको सङ्केत गर्छ।

प्रायः नेपाली साहित्यमा कथ्यको उठान, विनिर्माण तथा समापन गर्दा विविध खाले असङ्गतिप्रति चिन्ता प्रकट गर्ने गरिन्छ। यही धारलाई ‘देह उत्सव’ ले पनि पछ्याएको देखिन्छ। यसो भन्नुको तात्पर्य समस्यामाथि चिन्तनको अभाव देखिनु हो। यथार्थ मात्र पस्कनु चिन्तन होइन। स्थापित मान्यताको अनुसरण मात्र पनि चिन्तन होइन। आफूले उठाएका विषयलाई सन्देहवाद (थियोरी अफ डाउट) का आधारमा राखेर हेरिएको छैन।

भनिन्छ कि बिनाभोग तृप्तता आउन्न। बिनातृप्तता वैराग्य र मोक्ष पनि हुन्न। तृप्तता भौतिक हो भने वैराग्य र मोक्ष आध्यात्मिक कुरा हो। कथासङ्ग्रह ‘देह उत्सव’ लाई परम्परागत आदर्शका धरामा राखेर हेर्नुपर्छ। नेपाली समाजले त्यो कुरा भोगेर आएको छ। कतिपय परिवारले अझै भोग्दै होला। कतिपय परिवारले लामो समय अझै भोग्ला, त्यो अलग विषय हो। तर यो कथासङ्ग्रह भने नेपाली समाजको विकास क्रमको कैरन ल्याउने दस्तावेज हो।

यो कृतिले नेपाली समाजको सामाजिक इतिहासको रेखीय चित्र उतारेको छ। भाषाको सरलताका माध्यमबाट सुन्दर कथा पस्किएको छ। मार्मिकताले भरपूर छ। महिलाका सम्वेदना, परिवेश तथा भोगीय अनुभव सँगालिएको छ।

 पुरुषसत्तात्मक समाजमा महिलाले लामो युग कहर काटेका छन्। पीडा बोकेका छन्। सो कुरा यो कृतिबाट आकलन गर्न सकिन्छ। यसो भएकाले समग्रमा कृति उम्दा बनेको छ। एउटै कृतिमा जीवनको समग्र पाटो उजागर हुने कुरा पनि होइन। समग्र युगलाई खँदार्न सकिने विषय पनि होइन।

अन्त्यमा, कृतिकार पवित्रा अधिकारीको आफ्नो भनाइमा कृति कति सफल हुने हो भन्ने जिज्ञासा छ। सायद सफल भइदेओस् भन्ने कामना पनि हुन सक्छ। तर मलाई लाग्छ सफल र असफल भन्नु आनुपातिक हो। सोच हो। विचार हो। पाठकको मान्यता हो। के हुँदा सफल? के हुँदा असफल? यो प्रश्न जटिल छ।

बजार व्यवस्थापनका हिसाबबाट हेर्दा एउटा लामो र पीडायुक्त जँघार नतरी पुस्तक बजारमा पुग्दैनन्। बजारमै नपुगेका कृति बिक्री हुने कुरा भएन। पुरस्कारका हिसाबमा भन्दा नेपाली वृत्तमा बार्टर ट्रेड हुन्छ भनिन्छ। ज्ञातै छ, पुरस्कारको बाटो पनि निकै दुरूह छ। नामुद पत्रिकाका सवालमा हेर्दा कार्टेलिङ हुने गरेको कुरा जगजाहेर छ। आम पहुँचभन्दा बाहिर छ। वर्ग हावी छ। मलाई निसन्देह लाग्छ कि यो त्रासदीपूर्ण यात्रा एउटा सच्चा लेखकले गर्न सक्दैन। त्यसैले कृति के सफल, के असफल?

तर मजस्तो एउटा पाठकका नजरमा भने कृति उम्दा छ। सफल छ। किनकि यसमा कथाकारको धुकधुकी संगेलिएको छ। सौर्य उजागर भएको छ। मनभित्रका पीडा अभिव्यक्त भएको छ। शालीन छ र सुन्दर छ। यद्यपि योभन्दा माथि उठ्ने ठाउँ त जहिले पनि भइरहन्छ। युग तथा युगका मान्यता परिवर्तन हुँदै जाँदा कृतिले अभिव्यक्त गरेको सन्देश पनि पुरानिने हुन्छ। त्यसलाई तत्कालीन कार्यपीठिका तथा कालपीठिकाका तराजुमा राखेर जोख्नुपर्छ। यदि यसरी जोखिंदा भने कृति घच्चीको बनेको छ। जिन्दगी आखिर एक फर्लङ यात्रा त हो। त्यही एक फर्लङ यात्रामा पाइने/सोचिने/देखिने र अनुभूत गरिने घटना र परिघटनाको आकारीकरण त हो कथा।

‘देह उत्सव’ को पाठक हुन पाएकोमा बधाई कथाकार पवित्रा अधिकारी।  

प्रकाशित: ३ असार २०८१ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App