साहित्यिक पत्रकार संघले उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरेकाे छ।
कथाकार माया ठकुरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिविम्बित हुने गरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम गरेको बताइन्।
कार्यक्रममा इतिहासकार एवं राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको समय हाम्रा लागि अत्यन्त जटिल भएको बताउँदै यो स्थिति चिर्नुपर्ने आवश्यकता औंल्याए।
वरिष्ठ साहित्यकार प्रमोद प्रधानले पौराणिक विषय र पात्रलाई केन्द्रित गरी उपन्यास लेख्नु सजिलो नभएको धारणा राख्दै अझ त्यसलाई आजको समय, परिस्थिति र समस्यासँग जोड्नु थप कठिन भएको उल्लेख गरे। ‘तैपनि उपन्यासकार आचार्यले त्यस कठिन कामलाई अत्यन्त गम्भीरतापूर्वक पूरा गर्नुभएको छ,’ उनले भने।

समालोचक डा. गोविन्दमानसिंह कार्कीले उपन्यास विषय, संरचना र शैली सबै दृष्टिबाट महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले किरण आचार्य लामो समयदेखि लेखन कार्यमा समर्पित भएको बताउँदै उनको आगामी लेखन यात्राका लागि शुभकामना दिए।
उपन्यासकार किरण आचार्यले उपन्यासको रचनागर्भबारे प्रकाश पारेको उक्त कार्यक्रममा सङ्गीतकार एवं उपन्यासकार सन्तोष श्रेष्ठले पनि बोलेका थिए।
उपन्यास समाजका अध्यक्ष उपन्यासकार शंकर भारतीले नेपाली साहित्यमा ससाना संरचना भएका विधा, उपविधा बढी लेखिने तर उपन्यास लेखन अत्यन्त कम रहेको बताए।
कार्यक्रम संघका कोषाध्यक्ष उपन्यासकार पद्मावती सिंहकाे स्वागत भाषण र साहित्यकार श्रीबाबु कार्कीले संचालनमा सम्पन्न भएकाे थियाे।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू -किशोर पहाडी, युवराज नयाँघरे, विमल भौकाजी, राजेन्द्र केसी, राजकुमार बानिया, प्रद्युम्न जोशी, कृष्ण भूषाल, तुलसीहरि कोइराला, ममता मृदुल, सुभाषचन्द्र पौडेल, मुरारी सिग्देल, हरिश कल्पित, डा. बुनु दाहाल, रितु कँडेल, रुद्र अधिकारी, प्राडा जनार्दन आचार्य, नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २७ जेष्ठ २०८१ १३:४७ आइतबार





