९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

‘ब्रोकन होम’ ले निम्त्याएको समस्या

फाइल तस्वीर

‘ममी तपाईंलाई थाहा छ? मेरो सिरानी हरेक रात तपाईंको यादमा भिज्ने गरेको छ। तपाईंले यो घर छोडेर जाँदा म मात्र ६ वर्षकी थिएँ। हरेक साल मेरो उमेर त बढ्यो भन्छन्, तर म त्यही ६ वर्षमा अड्किएकी बालिका हुँ, जसले आफ्नी आमाको न्यानो स्पर्श खोजिरहन्छे।

सबै भएर पनि अधुरो, अपुरो, एक्लो भएको छु म। तपाईंबिनाको यो घर मात्र होइन, मेरो जिन्दगी नै शून्य लाग्न थालेको छ मलाई। आइ मिस यु मम।’

 यो क्रन्दन चौध वर्षीय बालिका रोजीको हो। आठ वर्षदेखि उनका डायरीका हरेक पाना यस्तै भावनाले भरिने गरेका छन्।

‘सधैंको झगडापश्चात् बाबुआमाले अलग हुने निर्णय गरे। एकअर्कासँग अलग हुँदा समेत तेरो इच्छा के छ भनेर मलाई कसैले सोधेनन्। मलाई त दुवैजना चाहिन्छ नि! बाबाआमासँगै बस्ने त मेरो भाग्यमा रहेनछ। एउटासँग बसेको छु, अर्कोसँग कुरा गर्ने, भेट्ने अवसरबाट पनि वन्चित गराए,’ सुशान्तले पीडा पोखे।

यी दुई बालबालिका हाम्रो समाजका प्रतिनिधि पात्र हुन्। यो समस्या अहिले हाम्रो समाजमा व्याप्त रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार सन् २०१५ मा एक हजार तीन सय ५५ डिभोर्स केस दर्ता भएको थियो भने सन् २०२० मा बढेर ६ हजार ६ सय ४४ केस दर्ता भएको थियो।

यसरी सन् २०२३ अगस्ट ५ सम्ममा ५० हजार एक सय ११ डिभोर्स केस दर्ता भएको तथ्यांकले देखाएको छ। यसबाट के स्पष्ट हुन्छ भने सम्बन्ध विच्छेदका घटना दिन प्रतिदिन तीव्र गतिमा वृद्धि भइरहेको छ। यसकारण दुवै दम्पतीको जीवनमा उतारचढाव त ल्याउँछ नै, दुई परिवारबिचको सम्बन्ध पनि विच्छेद हुन पुग्छ। यसको सबैभन्दा बढी असर बच्चालाई पर्छ। यसको कारणले बच्चाको जीवनमा यसप्रकार समस्याहरू आउन सक्छन्।

व्यावहारिक समस्या

सम्बन्ध राम्रो नभएको अथवा सम्बन्ध विच्छेद (ब्रोकन होम)मा हुर्किएका बालबालिकामा धेरै किसिमका व्यावहारिक समस्या देखिन सक्छन्। यिनीहरूमा बढी रिसाउने, झगडा गर्ने, अभिभावक, शिक्षक, प्रहरी, प्रशासनप्रति विद्रोही बन्ने, सामाजिक नीतिनियमको अवज्ञा गर्ने अर्थात् असामाजिक व्यवहार प्रदर्शन गर्ने, अनुचित क्रियाकलापतिर अग्रसर हुने, लागु पदार्थ सेवन गर्नेजस्ता व्यवहारगत समस्या देखिन सक्छ।

भावनात्मक समस्या

बाबुआमाको सम्बन्धविच्छेदको नराम्रो अनुभव लिएको बच्चाको मानसिक तथा भावनात्मक स्वास्थ्यमा समस्या आउनाले विवाह, सम्बन्ध, विश्वास तथा समाजप्रतिको धारणामा नकारात्मक दृष्टिकोण भएको पाइन्छ।

 अध्ययनअनुसार मृत्युको कारण अभिभावक गुमाएका बच्चामा भन्दा (सम्बन्ध-विच्छेद) ब्रोकन होममा हुर्किएका सन्तानमा मनोवैज्ञानिक समस्या अधिक भएको पाइयो।

६ वर्षको उमेरदेखि उसमा भावनात्मक परिवर्तन देखाप¥यो भने १३ देखि १८ वर्षको उमेरमा यस्तो परिवर्तन अत्यधिक रूपमा भएको पाइयो। यिनीहरू भावनात्मक रूपमा अत्यन्त कमजोर भएको पाइयो। यस्ता बच्चाले भावनात्मक पीडाको अनुभव गरिरहेका हुन्छन्। यसकै कारणले आत्मविश्वासमा कमी, क्षमताअनुसार शैक्षिक उपलब्धी हासिल गर्न नसक्ने, स्ट्रेस, एङ्जाइटी, डिप्रेसनजस्ता समस्या आउन सक्छन्।

यिनीहरूमा आफैंलाई घृणा गर्ने, अरूभन्दा कमजोर ठान्ने, आफूलाई अभागी मान्ने स्वभाव बढ्दै जाँदा कन्फिडेन्ट लेभल घट्दै जान्छ। यसको कारणले यस्ता बच्चा यौन शोषणको सिकार हुने सम्भावना बढी भएको पाइन्छ।

सन् २०१९ मा अमेरिकामा भएको एक अध्ययनमा सिंगल प्यारेन्ट्सका बच्चामा बडी मास इन्डेक्स नर्मलभन्दा कम भएको पाइयो।

यति हुँदा हुँदै पनि दुवै दम्पतीबिच मन नमिलेपछि, सँगै बस्न सक्ने वातावरण नभएपछि सम्बन्ध टिकाइराख्नुको कुनै औचित्य हुँदैन। स्वतन्त्र भएर आफ्नो जीवन अगाडि बढाउन पाउने अधिकार सबैलाई छ। तर आफ्नो कारणले आफ्ना सन्तान कहिलेकाहीं पीडामा पनि पर्न सक्छन्। यस विषयमा बाबुआमा सचेत भएमा यसको कारणले बच्चामा पर्ने असर कम गर्न सकिन्छ।

समस्या समाधानका उपाय

१. डिभोर्सको सम्बन्ध बच्चालाई अवगत गराउनुपर्छ। बच्चा स्वभावैले कुनै चिज वा घटनाको कारण खोज्ने हुन्छ। यस घटनाको कारण कतै आफैं त होइन? भनेर आफैंलाई दोषी मान्ने सम्भावना बढी हुन्छ। यसको कारणले आफैंभित्र कुण्ठित भई विभिन्न किसिमका समस्या आउन सक्छन्। त्यसैले यस विषयमा आफ्नो सन्तानलाई यथार्थ जानकारी दिएको खण्डमा उमेरसँगसँगै परिस्थितिसँग आफूलाई सामञ्जस्य गराउँदै लान सक्षम हुन्छन्।

२. दुवै आमाबाबुको सम्बन्ध बच्चासँग राम्रो हुनुपर्छ। डिभोर्सपछि बच्चाको कस्टडी जसले लिए पनि, उनीहरूको आपसमा सम्बन्ध जेजस्तो भए पनि बच्चासँग दुवैको सम्बन्ध सुमधुर हुनुपर्छ।

सन्तानका लागि आमाबाबु दुवैको महत्व र भूमिका समान हुन्छ। बच्चाले आमासँग प्रेम खोज्छ भने बाबुसँग सुरक्षा। आआफ्ना स्थानमा दुवै महत्वपूर्ण छन्। दुवैको अभाव महसुस हुन नदिई समय समयमा कुराकानी, भेटघाट, घुमफिर गर्ने वातावरण मिलाउनुपर्छ।

३. विरोधात्मक अभिभावकत्व प्रदर्शन गर्नु हुँदैन। मान्छेका लागि यो संसारमा सबै नाता सम्बन्धको विकल्प छ। केवल आमाबाबु र सन्तानबीचको नातासम्बन्धमा विकल्प छैन। यस्तो पवित्र सम्बन्धमा बालमस्तिष्कमा कुनै कारणले नकारात्मक धारणाले प्रवेश पाएमा जीवनभरका लागि संसारप्रति नै वितृष्णा पैदा हुन्छ। त्यसैले बाबुआमामध्ये कसैले पनि आफ्नो इगोका कारण एक अर्काप्रति दोषारोपण गर्ने, नकारात्मक व्यवहार प्रदर्शन गर्नेजस्ता कार्य बिल्कुलै गर्नु हुँदैन।

आजका हाम्रा सन्तान नै भविष्य निर्माता हुन्। हाम्रो सानो गल्ती तथा गैरजिम्मेवारपूर्ण कार्यले भावी पुस्ताको भविष्य बिग्रन सक्छ। त्यसैले सन्तान जन्माउनुलाई मात्र ठुलो नठानी हरेक आमाबाबुले सन्तानप्रतिको कर्तव्य पूरा गरी यो समाजलाई पूर्ण स्वस्थ (शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक) व्यक्ति दिनुपर्ने आजको आवश्यकता देखिन्छ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App