१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

घाँसपातको उत्पात!

हास्यव्यङ्ग्य

हाँपझाँप गर्दै खायो भने हरियो घाँसले पनि पेट दिमाग दुवै पोल्छ भन्ने कुरा बिर्सनु भा’थ्यो कि के हो? यहाँ पनि भयो यस्तै। सहकारी नाउँको हरियो बन्सो अपच्दो भ्याएपछि गौरांगी संसारी माईले छोडेको घोर्ले बोको उवात उवात गर्दै जथाभावी मानिस पिरोल्दै हिँड्न थालेको थियो। अहिले वल्लो कुँडार र पल्लो करेसाबारीको लुटलाटको बेजो अपच्दो हसुर्नाले भुँडी फुलेर थला परेको पारा पनि टड्कारै देख्नुपर्‍या’ छ।

बोकाजी कुनै चानचुने छागछौंडा नभएर उन्नत नस्लकै पर्नुभएछ। त्यसैले कुनै दिन सम्मानपूर्वक यो धर्तीमै दुर्लभ मानिने जेठोबुढो नाउँको पोखरेली मार्सीभातको सौगात पाएर हाँपझाँप गर्दै तीन थाल बजाउनुभा’थ्यो। चौरासी व्यञ्जनमाथि लोलोपोतो मिसिएको थप पचासीथरी थपुवा चिल्लो चापुल्लो पनि चुच्चो जोर्दै नौथरी थाङ्ना गफ हाँक्तै उदर उद्रिने हदसम्म मनग्गे भ्याउनुभा’थ्यो। त्यतिले नपुगेर बुटवल बासमतीमाथि पनि कहाँकताबाट सुराकी लिँदै थुतुनो गाड्नुभा’थ्यो। विदेशको जुठोपुरो चाटेर रुख्खिएको ज्यान भर्नलाई नौथरी परिपञ्च मिलाएर पाहुना लाग्नुभा’थ्यो।

खाँटी दयानिधि बनेर गरिब दिदीबहिनी दाजुभाइले भोकैनांगै बसेर दुःखजिलो गर्दै कमाएका पसिना चाटेर घिउ, मह, मिष्ठान्न, मांस, मछलीमाथि उरुङ लागेका सलादसाथ मिठा पानपरागको अनुरागमा पनि सुगररोगीको शौचमा कमिलाझैं रत्तिनुभा’थ्यो। जर्दा सुपारीका मुखसिद्धि खुराक पनि बुढो भालुले मकैका घोगा चपाएझैं बंगारा बङ्ग्याएर माक्लाकमुक्लुक पार्नुभा’थ्यो।

खास कुरा त अझ थप टीकाटाला दानदक्षिणाका किस्ती बन्डल भेटेर सुटकेस, गोजीभरि अटसमटस कोच्नुभा’थ्यो र दसैंको दक्षिणा पाएका बालबालिकाजस्तै खुसीले काँचो पिँडालु बिर्साउनेगरी कोक्किनुभा’थ्यो। अनि बगालिएको अर्ना छटाएझैं उछिल्लिएर पुच्छर उचाल्दै बुर्कुसी मार्नुभा’थ्यो र सिधै काठमाडौंदेखि चितवनका रिसोर्टसम्म पुग्नुभा’थ्यो। त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, सोझासादा मनुवाको मानभाउको तीनपाने तुजुकले हो कि, केले चैं हो, आफ्नो औकात भुलेर मालसिरीमा डान्स पनि गर्नुभा’थ्यो। त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, पात्तिँदै मनमौजी चर्तिकला पनि अजमाउनुभा’थ्यो।

बिहान पशुपन्छी, जंगलको दृश्यावलोकन र बेलुकीका क्याम्पफायरका मोजमस्तीमा हल्ला हाउगुजीका गणसहित गस्ती गर्दै मांसमदिराका तोङ्बा बोतल पनि भेटेजति लडाउनुभा’थ्यो। देश बनाउने गफका पर्रा छोडेर दशै दिशाभरि आफ्नै हात जगन्नाथ भएको गुड्डी हाँक्नसमेत भ्याउनुभा’थ्यो। ‘कठै ती दिन गैगए।’ वनवासी राजारामकै चाल पो हुने भयो त अहिले आएर। तर यताको समस्या अर्कै बल्झिदिएको छ यतिबेर। के तलबितल परेर हो कुन्नि, ती दिन अब रहेनन्।

कमजोर पाचन शक्तिले गर्दा घाँसपात पचाउन नसकेर हो वा त्यसको रसायनले उन्माद जगाएर हो या अत्यधिक रसादि ग्रहण गरेर हो, दैव जानून्। आज त्यही हरियो पात छड्किएर अन्धाधुन्द उत्पात मच्चाउन थालेको पो हो कि। उसै त चिसो पानीको मार्सी धान उसको पनि भातलाई बिर्साउने घाँसपात। त्यसलाई पनि अपच्तो भ्याएपछि के गरौं, कता जाऊँको सन्निसर्पन भा’छ। पेटमा पगितो अपच पदार्थ परेर दिमाग छड्किएको थाहा पाएपछि बहुपोथीका स्वामी बोका हजुर बल्ल ग्वाँ पर्नुभा’छ।

घाँसपातले महँगो भाउ खोजेर छिर्के दाउ लगाएपछि हाउगुजीले हाराबारा पारेको छ। डोरीमा गोमन सर्पको आभास भएर भासमा दबिँदै गएको भान भा’छ मनुवागणलाई। उठौं त, उठ्न नसकिने बोलौं त।

कसैले नसुन्ने र नपत्याउने झम्पाट खलपात्रको बेढंगी चालले ठाडो शिरमाथि तेर्सो पेलमपेल भा’छ। रातमा बास बसेका महिला, बुढाबुढीलाई अरिंगाल सेना पठाएर लखेट्ता पनि घाँसपातको आँत गलेको होइन, झन्झन् अरट्ठिएको छ। आँट खस्किएको होइन, झन्झन् दरिएको पो छ।

माइतीघर पराइघर बनाएर प्रतिबन्ध लगाउँदा पनि बैरीको आँट छाँटिएको होइन, उल्टै पोखराका चौराह चोकमा आगो बाल्न पुगेर वाटर क्याननका फोहोरा छोड्नुपर्‍या’छ। मकैबारीमा पसेका बाँदरलाई जस्तै टिन ठटाएर लखेटौंभन्दा उल्टै ङिच्च दारा देखाएर जिस्क्याउन थालेको छ।

बन्दुकका कुन्दा खटटट चलाउँदै हर्काउँदा पनि उल्टै फर्की फर्की ढुंगामुढाले जाइलागेर हैरान पार्‍या’छ। महँगो अश्रुग्यासका लोला पड्काएर जाइलाग्नुपर्‍या’छ। थरीथरी जासुस प्रहरी र पाल्तु अरिँगालका तीनपाने शक्ति र सामथ्र्य खर्चिएर दबेट्नुपर्‍या’छ। तैपनि टसमस हुने होइन, घोर्ले बोकाजीको शिरमाथि आइलागेको मोरो घाँसपातको उत्पात!

यता पुलिसबाबाको दीक्षाग्रहणको कानेखुसी। अर्कातिर गलबन्दी थुत्ने भोकानाङ्गा असहाय ठगिने लुटिने श्रमिकहरूको लामबन्दी। कताकताका भातले साँच्चै उत्पात मच्चाउने इरादाले भोकानाङ्गा सेना बटुलेर चौबाटा सडक कब्जा गरेपछि टोक्नु न बोक्नुको चाल भा’छ।

बन्दुक तोपको शक्ति प्रयोगको धमास दिएर ललकार्दा पनि अटेरी भात भने झन् पो वाचाल भा’छ। तथानाम गालीगलौजको मुख छोडेर हड्डी नै गाल्ने पगाल्नेखालको अड्डी लिएको छ। कहिले चोक र थानाहुँदी ढुंगामुडाको वर्षाले सन्निसर्पन पारेर भन्नु नभन्नु भनेको सुन्नुपर्‍या’छ।

त्यो बेइज्जती खप्तै सहँदै गर्दा अचाक्ली भएपछि कतिबेर तिनै मार्सी सेनामाथि पुलिसका डन्डा भिडाउनुपर्‍या’छ। डन्डा अश्रुग्यासमाथि भिजिलान्ते खटाएर ढुंगामुढाको वर्षा पनि गराउनुपर्‍या’छ। त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवाजस्तै झन्झट झ्याउलो र सास्तीका पुलिन्दा पनि अझै बढ्या’छ।

जवाफी फायर काम नलागेपछि बसीखप्नु भा’छैन। दुई दिन भए पनि तनावमुक्त हुने इरादाले कहिले यताउताका कुनाकाप्चातिर लुसुक्क लहसिनुपर्‍या’छ। कहिले बिनाबित्थाको जरुरी काम देखाएर पूर्वपश्चिम दायाँबायाँ नाम्सिँदै मुन्टो लुकाउनुपर्‍या’छ। कतै कसैले प्वाक्क केही भनिदेला भन्ने डरले शिर झुकाउनुपर्‍या’छ।

के भन्नु, के नभन्नु खै! अग्नि मन्द भएर हो कि निकासी ढोका बन्द गरेर हो, उतिखेर पेटमा पुगेको घाँसपात यतिखेर भाँडिएर भाँडभैलो गर्न लाग्या’छ। भन्नु पनि भन्छ, नभन्नु पनि भन्छ भान्सेले। कतिखेर आसनबाट खँगार्छु भन्छ, कतिखेर शासनबाट लघार्छु भन्छ।

कतिखेर सडक छोप्या’छ, कहिले दोबाटोमा छातीभित्र आक्रोशको आगो र गोली बोक्या’छ। कतिखेर कहाँ पड्किएर त्यो ज्यानमाथि आइलाग्ने हो भन्ने मानसिक त्रास र अशान्तिको बिउ रोप्या’छ। मोफसलमा भए त तद्बिसेक भन्नुहुन्थ्यो तर राजधानीमै आएर भातको बदला उत्पातले लिएझैं तमास देखाएको छ।

शान्ति सुरक्षामा सन्निसर्पन पारेपछि पुलिस लगाउनुपर्‍या’छ अनि तिनै भातका दातामाथि नजरबन्दका फन्दा राख्नुपर्‍या’छ। त्यसैले आज जेजे गर्नु नगर्नु पनि सहकारीको हरियो घाँसमाथि घिउ र मार्सीभातले गर्‍या’छ। बस पार्नु पिर पार्‍या’छ।

प्रकाशित: १९ जेष्ठ २०८१ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App