२ असार २०८१ आइतबार
image/svg+xml
कला

‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

निर्देशक नवीन सुब्बा एउटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन युरोप जाँदै थिए। उनीसँगै यात्रामा थिए अर्का एक युवा पनि। ती युवा कहाँ जादै थिए सुब्बालाई थाहा थिएन। तर जब उनीहरु कतारमा झरे ती युवा कालो निलो भएर अत्तालिएको जस्तो देखिए। ती युवा मजदुरीका लागि विदेशिएका रहेछन्। त्यो समयमा आत्तिएका युवाको अनुहार अहिले पनि सुब्बालाई याद छ। उनलाई त्यो बेला लागेको थियो यस्तो किन हुन्छ? उक्त कुराले सुब्बालाई मनमनै पिरोलिरहेको थियो।

एकदिन महेश राई एउटा कथा लिएर उनीलाई भेट्न आए। उक्त कथामा गाउँमा सडक पुगेपछि त्यसले बाउछोराको सम्बन्धमा पार्ने प्रभाव, सडकले कसरी मान्छेहरुलाई गाउँ छोडाउँछ र मान्छेहरु किन आफ्नो गाउँ छोड्न बाध्य हुन्छन् भन्ने विषय समेटिएको थियो। यो कथाले सुब्बालाई यात्रामा भेटिएका युवाको अनुहार सम्झायो। यहि कुरालाई लिएर उनले फिल्म बनाए। नाम दिए ‘गाउँ आएको बाटो’।

फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।

सुब्बा भन्छन्, ‘फिल्मले शासक र शक्तिको भन्दा पनि आममान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उठाउनुपर्छ। जसले गर्दा आममान्छेसँग फिल्मले संवाद गर्न सक्दछ। अधिकांश मान्छेहरु जे कुराबाट प्रभावित छन्। त्यो कुरा उठान गर्नुपर्छ। त्यहि कुराले नै मलाई सानो सानो विषय उठान गर्न प्रेरित गर्दछ।’

फिल्म ‘गाउँ आएको बाटो’ले क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साओ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत स्थानमा भएका डेढ दर्जन चलचित्र महोत्सवको यात्रा गरिसकेको छ। उक्त महोत्सवमा फिल्मले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माता अमोद राई बताउँछन्। अन्तर्राष्ट्रिय दर्शकहरुले मन पराएको हुँदा घरेलु दर्शकको पनि साथ राम्रो पाउनेमा राई ढुक्क छन्।

राई भन्छन्, ‘विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्मलाई राम्रो प्रतिक्रिया दिनुभएको छ। उहाँहरुले मन पराउनु भएको छ। अन्तर्राष्ट्रिय दर्शकले त फिल्म मन पराउनु भएको छ भने हाम्रो घरेलुमा त झनै आफ्नै देशको, आफ्नै माटोको, हाम्रै जनजिवनको कुरा छ। त्यसैले घरेलु दर्शकले नी माया गर्नुहुन्छ।’

निर्माता अमोद राई 

राई समुदायलाई नै आधार बनाएर बनेको फिल्मले बाबु छोराको सम्बन्ध, मानवीय संवेदनाको कुरालाई उठाएको राई बताउँछन्। फिल्ममा सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभाव, सडकले गाउँमा लिएर आउने सपनाहरू, सपनासंगै आएका दुःख, बाउले आफ्नो छोराको सपना पुरा गर्न गरेका संघर्षहरु देखाइएको उनले बताए।

फिल्ममा दुख, मनोरञ्जन, कमेडी, बौद्धिकता सबै रहेको निर्देशक सुब्बा बताउँछन्। ‘मैले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दर्शकहरुले फिल्म हेर्दा रोएको, हुटिङ गरेको, सिटि बजाएको तालि बजाएको देखेको छु। नेपाली दर्शकहरुले पनि त्यो गर्नुहुन्छ। दुख, मनोरञ्जन, कमेडी, बौद्धिकता सबै कुराको प्याकेज बनेको छ फिल्म, उनले भने।

फिल्म व्यक्तिगत नभएर सामुदायिक लगानीमा बनेको छ। विश्वभरिका राई समुदायले फिल्ममा लगानी गरेका छन्। फिल्मबाट आएको मुनाफा लगानीअनुसार समुदायलाई नै वितरण गरिने छ।

नेपाली फिल्म मेकरले अन्तर्राष्ट्रिय र घरेलु दर्शकलाई जोड्न नसकेको सुब्बा बताउँछन्। उनी भन्छन्, नेपालमा सफलता पाइसकेका फिल्म मेकरहरु अन्तर्राष्ट्रिय स्तरमा जान सक्दैनन्। 

नेपाली फिल्म मेकरहरु किन अन्तर्राष्ट्रिय रुपमा नजाने भन्ने कुरामा बहस हुन आवश्यक छ। नेपाली फिल्म क्षेत्र पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेको सुब्बाको दाबी छ। नेपाली फिल्म मेकरलाई फिल्म बनाउन आर्थिक समस्या नभएको उनी बताउँछ। उनी भन्छन्, नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक सहयोग लिएर फिल्म बनाउने अवस्था छ। नेपाली फिल्मले सजिलै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्दछ।

अन्तर्राष्ट्रिय दर्शकका लागि पनि फिल्म बनाउन थालेमात्र नेपाली फिल्म क्षेत्रको पनि विकास हुने उनी बताउँछन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय दर्शकका लागि पनि फिल्म बनाउन थाले मात्र नेपाली फिल्म क्षेत्रको विकास हुन्छ भन्ने मेरो बुझाइ छ। हाम्रो नेपाली फिल्म क्षेत्रको विकास अन्तर्राष्ट्रिय दर्शकहरुसँग पनि सम्बन्धित छ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म पुगेपछि फिल्म मेकर, नायक नायिकालाई पर्ने मनोवैज्ञानिक प्रभाव छुटै पारेको छ।’

फिल्मको सिधा प्रचारप्रसार गर्न गाह्रो हुने र फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गए बिस्तारै प्रचारप्रसार पनि हुने सुब्बा बताउँछन्।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जानका लागि फिल्म कतैपनि रिलिज भएको हुनुहुँदैन। त्यसकारणले गर्दा फिल्म गाउँ आएको बाटो देशभित्र प्रदर्शन नगरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पठाएको निर्माता राई बताउँछन्। देशभित्र फिल्म प्रदर्शन गरेर बाहिर देशमा जाँदा अन्तर्राष्ट्रिय प्रिमीएर नभएर अन्तर्राष्ट्रिय रिलिज मात्र हुने उनको भनाइ छ।

सामुदायिक लगानीमा निर्मित भनिएको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई र राज थापाल गायतको मुख्य भूमिका छ। फिल्म जेठ २५ गतेदेखि नेपालमा प्रदर्शनमा आउँदै छ।  

प्रकाशित: ११ जेष्ठ २०८१ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App