१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

‘इतिहास–मणि’ को अवसान

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो।

उनका भाइ एकमणि नेपालका अनुसार ९२ वर्षीय नेपाललाई १० दिनअघि सिभिल अस्पतालदेखि गंगालाल हुँदै उक्त अस्पतालमा पु¥याएर भर्ना गरिएको थियो।

‘रुघाखोकी लागेपछि र ज्वरो आएपछि वैशाख २१ गते सिभिल अस्पताल लगिएको थियो,’ उनले भने, ‘उहाँको मुटुमा समस्या देखिएपछि त्यहाँको चिकित्सकहरूको सल्लाहमा गंगालाल हुँदै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सिसियु कक्षमा राखेर उपचार भइरहेको थियो।

उपचारका क्रममा मंगलबार साढे १२ बजे हृदयाघात भएपछि उहाँ हामीमाझ रहनुभएन।’ उनको उपचारमा संलग्न चिकित्सकहरूले हृदयाघातका कारण विभिन्न अंगमा क्षति पुगेको बताएका थिए। चिकित्सकले दुवै मिर्गौलामा समस्या भएको बताएपछि उनको तीन पटक डायलासिस पनि गरिएको थियो।

१९८९ माघ १७ गते (वसन्त पञ्चमीका दिन) जन्मिएका नेपालले नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताको गहकिलो परिचय बनाएका छन्।

उनका नेपाल निरुक्त (२०४०), नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५), नेपालको महाभारत (२०५०), नेपालको पूर्वमध्यकालको इतिहास (२०५४), मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४), नेपाल निरूपण (२०५५), नेपालको माध्यमिक कालको इतिहास (२०६२), अतीतका स्मृति र अनुभूति : विश्वेश्वरदेखि वीरेन्द्रसम्म (२०६५) तथा नेपाल र चीन–तिब्बत सम्बन्धको समीक्षात्मक इतिहास (२०७३) लगायत तीन दर्जन पुस्तक प्रकाशन भइसकेका छन्।

भोजपुरमा जन्मिएर खोटाङलाई कार्यक्षेत्र बनाएका उनले पछि काठमाडौंमा आएर इतिहासको अध्ययनमा अभिरुचि देखाएका थिए।

 उनले पण्डित नयराज पन्तबाट शिक्षा आर्जन गर्ने अवसर पाएका थिए। २००४ सालमा काठमाडौं आएपछि रानीपोखरी संस्कृत पाठशाला पुगेका उनी पन्त र शेषराज रेग्मीजस्ता गुरुहरूको नजरमा परेका थिए।

प्रचलित त्रिखण्डी शिक्षा पद्धतिका विरोधी पण्डित पन्तले खोलेको पाठशालाबाट इतिहासकार नेपालसहित धनवज्र बज्राचार्य, शंकरमान राजवंशी, भोलानाथ पौडेल र गौतमबज्र बज्राचार्यलगायतले शिक्षा हासिल गरेका थिए। उनीहरू प्राचीन, मध्यकालीन र आधुनिक इतिहासका अध्ययनका खम्बा मानिन्छन्।

पण्डित पन्त गुरुको प्रेरणाका कारण २००८ देखि २०१२ सालसम्ममा नेपालले नयाँ शिलालेख खोज्नेदेखि विदेशीले लेखेका अशुद्धि सच्याउने काम गरे। सो अवधिमा उनी दिउँसो काठमाडौं महाबौद्धनजिक मासंगल्ली चोकमा पण्डित पन्तसँग बसेर पढ्थे भने बिहान र बेलुका ब्रह्मचर्य आश्रममा पढाउने गर्थे।

२००९ सालदेखि पण्डित पन्तले २१ विद्यार्थीको समूहमार्फत ‘संशोधन मण्डल’को स्थापना गरी इतिहास संशोधन, सावधान पत्र, व्याकरण संशोधन र पञ्चांग संशोधनहरूको प्रकाशन गरे। २०११ सालतिर भने उनी दिनमा दुईवटासम्म ‘इतिहास संशोधनपत्र’ निकाल्थे। पण्डित पन्तले इतिहासका भ्रम र अशुद्धि औंल्याउने गरेका थिए।

सोमार्फत इतिहासकार नेपाल नयाँ शिलालेख खोज्न जुटेका थिए। २०२१ सालदेखि ‘संशोधन मण्डल’ले पत्रिका प्रकाशन सुरु गरेको थियो। २०१२ सालमा उनले गाउँमा फर्किएर पाठशाला खोलेका थिए।  

‘हामी पढ्दाखेर गुरु नयराज पन्तले खोलेको पाठशालाको पहिलो विद्यार्थी भनेर सुनाउनुभएको मलाई याद छ,’ इतिहासकार डा. नयनाथ पौडेलले भने, ‘मेरा बुबा भोलानाथ पौडेलका सहकर्मी इतिहासकार नेपाल विशिष्ट विद्धान् हुनुहुन्थ्यो। गुरु नयराज पन्तले पाठशाला खोल्नुअघि २००६ सालमा उहाँ र मेरा बुबा मृगस्थलीमा योगी नरहरिनाथलगायतले खोलेको संस्कृत पाठशालामा पढाउन जानुभएको थियो। हामी नयराज गुरुको पाठशालामा जाँदा उहाँ पढाइ सकेपछि भोजपुर गइसक्नुभएको थियो। केही वर्षपछि काठमाडौं फर्किएर त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) मा आबद्ध भएर नेपालको नामकरणदेखि तिब्बतसँगको सम्बन्धसम्मको इतिहास खोज्ने काम गर्नुभयो।’

संस्कृत वाङ्मयका खम्बा इतिहासकार नेपालजस्तो व्यक्तित्व पाउन असम्भव रहेको उनले बताए। ‘नेपालको इतिहासमा यो अतुलनीय क्षति हो,’ उनले भने, ‘संशोधन मण्डलको परम्पराबाट उहाँ हुर्किनुभएको हो। उहाँले संशोधन मण्डलको इतिहास लेखन परम्परालाई निरन्तरता दिनुहुन्थ्यो। उहाँले नेपालको राजनीतिक र साहित्यको इतिहास पनि कलम चलाउनुभयो। नयाँ पुस्ताले उहाँको त्यो लेख पढ्न उपयुक्त हुन्छ।’

२०५१ भदौमा प्रज्ञा–प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएपछि उनले नेपालका चाडपर्वदेखि सामाजिक जीवनमाथि खोजमूलक पुस्तकहरू प्रकाशनमा जोड दिएका थिए। २०३५ सालदेखि १७ वर्ष सिनासमा काम गरेका उनले सो अवधिमा १३ वटा पुस्तकको पाण्डुलिपि तयार पारेका थिए।

त्यस्तै प्रज्ञा–प्रतिष्ठानमा पाँच वर्ष बिताउँदा तयार पुस्तकका पाण्डुलिपिहरू हराउँदा र अरूका नाममा छापिएको गुनासो उनले गरिरहे। उनका दुई छोरा छन्।

प्रकाशित: २ जेष्ठ २०८१ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App