मातातीर्थ औंसीकाे अवसर पारेर साहित्यकार विद्या ढकालको लघुकथासङ्ग्रह आमाको एक कार्यक्रमबीच विमोचन गरिएको छ।
ढकालकै जन्मस्थान तनहुँ जिल्ला, भानु नपा-४ ठाँटीको चौर-कालिका बालउद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट र स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्लले कृतिकाे विमोचन गरेका थिए।
साहित्यकार मेदिनी शर्मा चुँदेलीले विमाेचित कृतिकाे विवेचना गरेका थिए। उनले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत दिएका थिए।
कार्यक्रममा पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए। उनले मातातीर्थ औंसीको दिनमा सम्पूर्ण आमाको सम्मानस्वरूप आफ्नो आमा लघुकथासङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताए।
प्रमुख अथिति डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृतिविसङ्गतिमाथि कडा प्रहार गरिएको बताए।
स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गरेका थिए।
प्रकाशित: २७ वैशाख २०८१ १२:२० बिहीबार