९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

पसले बुबा

कथा

‘तिमीले ल्याएको गोलभेँडा हप्ता दिन बित्दा पनि हतपत गल्दैन’ तरकारी लिन बजार जाऊन् भन्ने मनसायले घरमा एकै मुख गरी भन्न थालेपछि जान करै लाग्यो। अनि झोला बोकी सरासर नक्सालस्थित नन्दीरात्री स्कुलसँगैको तरकारी बजार हिँडें। जस्ताको छानाले बारेर बनाइएका अस्थायी टहरामध्ये एक टहरामा मेरा एक पसले बुबाको तरकारी पसल थियो। जहाँबाट अघि सबैले तारिफ गरेको गोलभेँडा किनेर ल्याउने गर्थे।

बिहानीको समय हिँड्दै आउने क्रममा म प्रायः बाटो देख्थें, जहाँ उनीजस्ता उमेरका व्यक्तिहरू मर्निङ वाक त कोही मन्दिरमा हिँड्दा हुन्, उनी भने नक्साल नारायणचौरको उक्त तरकारी बजारमा कामिरहने उनका हातले गोलभेँडाका टोकरीमा सानाठुला पाकेका नपाकेका गल्न थालेका गोलभेँडाहरू क्यारेटमा छुट्याउन व्यस्त रहन्थे।

थोक बिक्रीदेखि खुद्रा किन्न आउनेसम्मका नियमित उपभोक्तासँग हँसिलो मुद्रामा गफिँदै गोलभेँडा बेच्न अभ्यस्त परिसकेको उनलाई कारणवश बिहानबेलुकी घरमा बस्नुपरेमा हातखुट्टा बाँधिदिए झैं लाग्छ रे, उनी भन्ने गर्थे। केही समयदेखि म पनि यिनै पसले बुबाकोमा किन्न बानी परेको थियो। बजार पुगेसँगै प्रायः उनैको पसलमा सिधै पुग्थे। मलाई देख्नेबित्तिकै मुस्कुराउँदै भन्थे-छोरी निकै दिनपछि बुबाको पसलमा आयौ त!

बिहानको उनको समय भ्याइनभ्याई हुने गर्छ। अघिल्लो दिन गोलभेँडाका भारी पसलमा ल्याइपुर्‍याइएन भने भोलि के बेच्ने भन्ने धुनमा कतिपटक औषधी खान भुसुक्कै बिर्सिन्छ रे, उनी भन्थे। घरकी बुढीले, ‘होइन, औषधी सम्झेर खानु भो?’ भनी सोध्दा ढुक्कसाथ ढाँटिदिन्छन् रे, ‘खाएँ हो!’

लौ! हेर त छोरी, मेरी बुढीले के जानोस्, यी पाखुरा बलिया नै छन्। कहिलेकाहीं दबाई छुटे केही हुन्न।’

हुन पनि उनी निकै फुर्तिला, उज्यालो मुहारका देखिन्छन्। उमेरले तीन बीस काटिसक्दा पनि उनको कामप्रतिको लगाव घतलाग्दो छ। उनका अन्य शारीरिक समस्या छन् वा छैनन् त्यो कहिल्यै सोधिनँ। म प्रायः देख्थेँ, उनको हात काँप्ने, टाउको हल्लिरहन्थ्यो तर यसले उनको कामकर्ममा खासै असर परेझैं लाग्दैनथ्यो। घरमा को को छन्? छोराछोरी कति छन् भनी आफ्नो परिवारबारे खासै बेलिविस्तार नलगाउने भएकाले कहिल्यै सोधीखोजी गर्न मन लागेन। उनी भन्थे-पाखुरी खियाएर खानुको जस्तो आनन्द अरूमा कहाँ पाउनु र!

डाक्टरले अब गुलियो कम गर्नु है बुबा ! भन्ने सल्लाहलाई बिर्साउँदै ‘बिहानको चिया त चिनीबिना कहाँ पिउन सक्नु माइला ? मेरो चियामा चिनी थोरै हालिदे है’ भन्दै ढुक्कले गुलियो चिया पिएको देख्दा चिया पसले माइलाले भन्दा रहेछन् -आज गुलियोबिनाको चिया खाम् है बडा।

जीवनप्रति सकारात्मक सोच भएका यी बुबाको पसलमा केही वर्षदेखि म पुगिरहन्छु साँझबिहान। यसरी तरकारी पसल चलाउनुमा उनको बाध्यता नभए पनि रहर त पक्कै होइन होला भन्न मनमनै अनुमान लगाए पनि सोध्ने आँट भने आएन। जे भए पनि आखिर जीवन चलायमान गर्ने आआफ्नै कथाव्यथा जोडिएका हुन्छन्।

केही गरी हप्ता दिन पुगिनन् भने यी बुबाको उही स्नेहीपूर्ण सोधाइ हुन्छ, ‘छोरी, धेरै दिन भो बुबाकोमा तरकारी लिन आइनौं?

कोभिड महामारी भएताका भनेका थिए-‘बिरामीसँग नजिक बस्नु हुँदैन। सकेसम्म अलग कोठामा बस्नु भन्छन्। अब यो महँगो, काठमाडौंमा भन्नेबित्तिकै घरका सबैलाई अलग अलग कोठा कहाँ पाउनु? त्यसैले भिन्दाभिन्दै कोठामा बस्न परिस्थिति नभएपछि खाट थपें। बिरामी मान्छे अलग बसेपछि कसैलाई छुनु पनि परेन’ भन्दै आफ्नो विवशताप्रति मन अमिल्याउनुभन्दा परिस्थितिलाई सहज ढंगमा लिएको देख्दा म चुपचाप यी पसले बुबाको मुख हेरेको हेर्‍यै भएकी थिएँ।

गीत गुनगुनाउँदै गरेको सुनेपछि अनायास भन्न पुगेकी थिएँ, ‘बुबा, लोकभाका पनि सुनाउनुस् न।’ यसो भन्दा जवाफ भने ‘ओहो! छोरीलाई बुढो मान्छेको गीत मिठो लागो अनि मैले गाएँ भने तिमी के गछ्र्यौ? लोकभाका सुनेर नाच्छ्यौ त? हाहाहा...’ भनेर उनी हाँस्न थाले। अरूले सुन्लाझैं गरी मैले मसिनो स्वरमा भनेँ, ‘बुबा, नाच्नगाउन त अलि अप्ठ्यारो लाग्ने भएकाले बजाउन सक्छु। बुबा तपाईंले भाका हालेर गाउनुुस्, म मादल बजाइदिन्छु।’

‘लौ, तन्नेरी मान्छे पनि नाच्नगाउन लाज मान्छन् कोही। म त बुढो भएर पो। नत्र छमछमी नाच्थें। तन्नेरी बेला त धेरै नाचियो’ आफ्नो विगत सम्झिएर होला, उनी मजाले हाँसेका थिए।

हरेकपटक उनीसित कुरा गर्दा लाग्थ्यो-‘मानिसलाई खुसी हुन विलासिताका सामानको आवश्यकता कहाँ पर्दोरहेछ? जो जीवनका पलापलामा रमाउन जान्दछ, ऊ नै सुखी रहनसक्दो रहेछ।

जीवनलाई सहज समस्यालाई सरल बनाउँदै परिस्थितिलाई सरलीकरण गर्न सकेमा यी बुबालाई झैं न कसैप्रति द्वेषभाव, न रिसराग। काम्दै गरेका हातले प्रविधिको सदुपयोग गर्दै पहिले जस्तो हातले गह्रौं सामान जोख्न उचालिरहनु नपर्ने। केवल सामान्य बल लगाए पुग्ने। आधुनिक तराजुमा बटम थिच्दै रम्दै आत्मनिर्भर हुन सकिँदोरहेछ। बुढ्यौली सोचमा हुँदो रहेछ उमेरमा होइन।’

अस्ति भर्खरजस्तै लाग्छ, भदौरे झरीलाई छिचोल्दै म हरितालिका तीजको केही दिनअघि पुगेकी थिएँ। मलाई देख्नेबित्तिकै चिरपरिचित हाँसोका साथ पसलेबुबाले भने-छोरी निकै दिन हराएछौं, म आज सम्झँदै थिएँ।

यति भन्दै उनले सुटुक्क हातमा सय रूपैयाँको नोट थमाउँदै भने, ‘लौ राख छोरी, आज यो पैसाले जे भए नि किनेर खानू। बुबाले तीजको दर खान दिएको नि! छोरीचेलीलाई दरखाने खर्च नाइँ भन्न पाउन्नौ है!’

सुस्तरी काननिर यति भन्दै उनले मेरो हातमा सय रूपैयाँको नोट थमाइदिएसँगै म अक्क न बक्क परी हस् बुबा भन्न पुगेछु। जवाफमा उनी उही चिरपरिचित तरिकाले मुस्कुराउनुभयो।

ढल्कँदो उमेरसम्म पनि आत्मनिर्भर भई काम गरिरहेका कर्मठ व्यक्तिको पसिनाको कमाइ यो सय रूपैयाँ, रगतको नाता नभए पनि नेपाली हुनुको आत्मीय साइनो जोडिएका बाबु सरहका व्यक्तिले दिएको यो पैसालाई जीवनकै अमूल्य उपहार सम्झेर साँचेर राख्ने छु। मनमनै उनले दिएको हातको उक्त पैसा जस्ताको तस्तै बोकी घर फर्केलगतै सानो कागजमा लेखेँ, ‘पसले बुबाले दिनुभएको तीजको दर खाने पैसा’ घरमा कसैले केही नभनी जतनले राखेकी थिएँ।

पर्वभित्र आआफ्नै विशेषता, श्रद्धा, रीतिरिवाज, परम्परा लुकेका हुन्छन् नै। सम्भवतः यसैले मानव समुदाय एकआपसमा जोडिएका हुन्। पर्वसँगै आउने सद्भाव प्रेम आफ्नोपनको आभास, समाज-राष्ट्रलाई चलायमान गराउने आधार यही नै हो।

मेरा यी पसले बुबालाई सायद जानकारी थिएन होला, प्रायः काठमाडौंका नेवार समुदायमा दर खाने तीजको व्रत बस्ने प्रचलन छैन। स्वेच्छाले विवाहित महिलाहरू ऋषिपञ्चमीका दिन पञ्चमी व्रत बस्ने गरे तापनि विधिवत् रूपमा व्रत बसी ब्राह्मणको साथमा पूजा गरिँदैन्, मात्र सामान्य ढंगमा पूजा गर्ने गर्छन्।

सानो छँदा वरिपरिका साथीका घरमा सबैले तीज मान्ने तर घरमा आमा पञ्चमीको मात्र व्रत बस्नुभएको देखेपछि आमासित सोध्ने गर्थें-हामीले तीज किन मनाउँदैनौं? मलाई पनि मेरा साथीहरूले झैं नाकमा फुली लगाउनुपयो भन्दै जिद्धी गरेकी थिए। मेरो बालमस्तिकमा यी खुलदुली र असन्तुष्तिका प्रश्न बनी आमासित पोख्थें।

त्यतिखेर आमाले के भनी मलाई फुस्ल्याउनुभयो, यादै भएन। तीजमा रातो लुगा लगाई सबै उमेर समूहका महिला युवती नाचेको देख्दा मलाई औधी रमाइलो लाग्थ्यो। हराउँछौ हुलतिर नजानु भन्दा पनि मेरी एक मात्र दिदी भने सबैको आँखा छली मलाई तीजको रमाइलो देखाउन लैजान्थिन्। पहिले लाग्थ्यो-तीजमा दर खाने भनेको दुधबाट बन्ने विशेष परिकार होलान्।

समयको परिर्वतन। हाल आएर केही अपवादलाई छोडी भन्ने हो भने अघिल्लो पुस्ताका व्यक्तिहरूले परिवर्तनलाई सहज ढंगमा स्वीकार गरेका छन्। समयले हाम्रो सोचलाई निकै फराकिलो बनाइदिएको छ। असी नब्बेको दशकमा जन्मिएका हामी मुलुकमा पञ्चायती शासन व्यवस्थादेखि समयको गतिसँगसँगै देशमा आएको आमूल परिर्वतनका साक्षी भयौं।

एकदलीय पञ्चायत व्यवस्था कस्तो हुँदो रहेछ भन्ने सानैमा भए पनि महसुस गर्‍यौं। बहुदलका लागि भएको जनआन्दोलन देख्यौं, जनताको बलिदानबाट आएको बहुदलीय शासन व्यवस्थाले दुई दशक पार गरी तेस्रो दशक छुन नपाउँदै फेरि देशमा अर्काे क्रान्तिकारी परिर्वतन ल्याइदियो। हाम्रो पुस्ताले विद्यालय, विश्वविद्यालयका किताबका पानामा पढेका, देखेका शासन व्यवस्था आफ्नै मुलुकमा पनि आएको हेर्न, सुन्न, भोग्न पाइरहेका छौं।

लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको देख्यौं। जनताका नैसर्गिक अधिकार, समतामूलक समान समाजको परिकल्पना गर्दै राज्य व्यवस्था, शासकवर्ग जनकेन्द्रित हुनुपर्नेमा सचेत गराउँदै देशमा गणतान्त्रिक लोकतन्त्रको स्थापनाका लागि नेपाली जनताले आफ्नो बलिदान दिएको देख्यौं। यसका लागि कति नेपाली आमाको काख रित्तिएको भरिलो यौवनमा कैयौं युवती विधुवा हुन पुगेको देख्यौं।

निःस्वार्थ स्वःस्फूर्त हजारौं युवायुवतीले बलिदानी दिएर आएको यो शासन व्यवस्थासँगै एघार पुस्ताभन्दा बढी समयदेखि जनताको श्रद्धा, आस्था, विश्वास पाइरहेको राजतन्त्र अस्ताएर नेपाल प्रगतिको नयाँ दिशातर्फ अग्रसर भई नयाँ संविधान बनी देशमा संघीय शासन प्रणाली लागु भइरहेको देखिरहेको छौं।

एकतन्त्रीय व्यवस्थाको सूर्यास्त भई देशमा संसदीय शासन व्यवस्था लागु भएको हामीले देख्दैछौं। बाल्यकालदेखि चौध अञ्चल, पचहत्तर जिल्ला पनि रति रति पढेका हामीले देशमा केन्द्रीय सरकार र संघीय शासन व्यवस्था आएसँगै सात प्रदेशमा छुट्टाछुट्टै प्रदेश सरकार बनी समाजमा म र मेरो धर्म जातिभन्दा माथि उठी अब हामी नेपालीको भन्ने भावना सोचमा आएको परिवर्तनका साक्षी पुस्ताका हामीले परिवर्तन जीवनको अभिन्न अंग मात्र नभई अघि बढ्ने साधनसमेत भएको तथ्यलाई बदलिँदो समयले आत्मसात गराइदियो।

विधुवाले रातो लगाउनुहुन्न, शुभकार्यमा सामेल हुनुहुन्न भन्ने परम्परागत सोच बदलियो। विधुवा महिला भन्ने शब्दको सातो एकल महिला भन्ने थाल्यौं। कानुनी व्यवस्थामा संशोधन भई अब एक नेपालीले आफ्नी जन्मदाता आमाको नामबाट समेत नागरिकता पाउन सक्ने भए। नेपाली राजनीतिमा युवा जमात आउन थाले, जहाँ लाखौं युवा रोजगारका लागि बिदेसिए। त्यही सीमित संख्यामा भए पनि युवाहरूले स्वदेशमा बसी स्वरोजगारतर्फ लागेका छन्।

क्षेत्रफलका हिसाबमा विश्व मानचित्रमा नेपाल सानो मुलुक, नेपाल एसिया महादेशबीच हामी आफ्नो सांस्कृतिक विविधता बहुभाषी, बहुजाति, धार्मिक सहिष्णुता भएको मुलुक मात्र नभई राज्य व्यवस्थाबाट विचलित भई हतियारसहित जनवादी क्रान्तिमा लागेका व्यक्तिहरू समेत शान्ति सम्झौतामा आए। यसले भविष्यमा हुनसक्ने रक्तपातबाट जोगायो।

विश्वलाई शान्ति हतियारले भन्दा शान्तिवार्ताबाट पनि सम्भव हुन्छ भन्ने सकारात्मक सन्देश दियो। कुनै समय जनक्रान्तिकारीलाई नेतृत्व गर्दै रक्तपातमा होमिएका व्यक्ति अहिले राष्ट्रिय पोसाकमा सजिँदै प्रत्येक दिन आफूमाथि लाग्ने आरोप प्रत्यारोप सुन्दै देशको शासन व्यवस्था हाँकिरहेका छन्। के यसले हामीलाई असम्भव भन्ने केही हुन्न भन्ने पाठ सिकाएको छैन र?

मेरा यी तरकारी पसले बुबा एक सामान्य नेपाली नागरिक हुन्, जसले ढल्कँदो उमेरको पर्बाह नराखी आत्मसम्मानपूर्वक जीवन जिउँदै छन्। यस्तै कुरा सोच्दै म सरासर उनै पसले बुबाको अस्थायी टहरामा रहेको पसलमा पुग्दा पसल सुनसान देखें। उनलाई नदेखेपछि नजिकका पसललेसँग सोधें-यहाँ तरकारी बेच्ने बुबा खै?

‘उहाँ त आजभोलि आउन छोड्नुभयो। के भो हामीलाई थाहा भएन’ जवाफ सुन्नेबित्तिकै मन खल्लो हुन पुग्यो। ओहो! यत्रो दिन आत्मीय व्यवहार देखाउने मेरा यी पसले बुबासित आजसम्म नाम ठेगाना नै सोध्न बिर्सिएको रहेछु। आफ्नो हुुस्सुपनदेखि आफैलाई पछुतो लाग्न थाल्यो। मनमा थकथकी लागिरह्यो। उनलाई के भयो होला? कहाँ कससित सोधूँ? सोच्दै विचलित मनले घर फर्कें।

प्रकाशित: २२ वैशाख २०८१ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App