६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

जताततै जात्रा

वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय हुने गर्छ। काठमाडौं खाल्डोका तीनै सहर मात्र होइन, गाउँगाउँमा समेत विभिन्न जात्रा भइरहेका छन्। वास्तवमा हाम्रो देश जात्रामय छ।

ललितपुर सदरमुकामबाट बाह्र किलोमिटर दक्षिण रहेको गोदावरी नगरपालिका–६ स्थित टिकाभैरव हेर्दा सानो गाउँजस्तो लाग्छ। त्यो ठाउँलाई पनि जात्राले छाडेन। भैरव मन्दिरमा स्थानीयले उमंगका साथ चैत पूर्णिमा मनाए। प्रत्येक वर्ष चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यसपटक वैशाख ११ मा सुरु भई १२ गते सकियो।

यसपटक मंगलबार बिहानैदेखि दर्शनार्थीको मन्दिरमा भिड लागेको थियो। प्रत्येक वर्ष चैत्र पूर्णिमाको चतुर्दशीका दिन बालकुमारी र जयकुमारीलाई टीकाभैरव मन्दिरमा राखेसँगै जात्राको सुरुवात हुन्छ। यी देवता लेले गाउँबाट चतुर्दशीको रातमा टीकाभैरवको मन्दिरमा ल्याइन्छ।

साथै रातमा विधिपूर्वक पूजा गरी होम गरिन्छ। त्यो रात ठुलो जनसमूह भेला हुन्छ। पूर्णिमाको दिन ठुलो मेला लाग्छ र त्यस मेलामा भाग लिन गाउँ र सहरका मानिस आएर टीकाभैरवको दर्शन गर्छन्। उनीहरू आफन्तकोमा बसेरै भए पनि जात्राको पूरा अवधि सकेर मात्र फर्कन्छन्।

त्यसरी सुरु भएको जात्रा भोलिपल्ट दुई रथलाई एकापसमा जुधाएर लेले लगेसँगै अन्त्य हुन्छ। यस जात्राको मुख्य आकर्षण भनेकै दुई कुमारीको रथलाई परम्परागत बाजागाजासहित ल्याउनु र लैजानु हो।

जात्रासँगै टीकाभैरवमा खुसीयाली छाउँछ। टोलटोलमा रमझम हुन्छ। जात्रा र जीवनको उमंग यहाँ देखिन्छ। यहाँको रीतिरिवाज, परम्परा र संस्कृति भने जोगाउन सफल भएको उक्त जात्रामा आएकी चमेली चौलागाईं सुनाउँछिन्।

‘यस संस्कृति बचाउन युवाहरू अगाडि बढेका छन्,’ उनले भनिन्, ‘कला संस्कृतिमा उनीहरूको माया यसपटक पनि बिछट्टै देखिन्थ्यो।’

जयकुमारी र बालकुमारीको रथ बोक्ने क्रममा युवासँगै कलिला हातले पनि खटलाई समाएका थिए। संस्कृति जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बुढापाका साह्रै हर्षित देखिएको दर्शनार्थी चौलागाईंले बताइन्। 

जात्रालाई भनेर टोलटोलमा नेवारी बाजा बजाएका थिए। ती दुई कुमारी रथ बोक्ने युवाहरूले थुप्रै पसिना बगाएका थिए। तर, पनि ती युवाहरू हर्षित हुँदै रथ बोकेर भैरवको मन्दिरलाई तीनपटक घुमाइरहेका थिए।

चैत पूर्णिको जात्रामा केटाकेटीदेखि वृद्धसम्मका मानिसहरू टीकाभैरव झर्ने गर्छन्। रथ बोक्ने क्रममा वृद्धहरूले बाटो देखाउँदै अगाडि बढ्दा युवा पिँढी रथलाई काँधमा थामेर नाचगानमा मस्त रहेको टीकाभैरवका स्थानीय पुजारी रमेश श्रेष्ठले बताए।

‘जात्रामा अघिल्ला वर्षभन्दा यो वर्ष दर्शनार्थीको भिड बढी थियो। खटसँगै युवापिँढीले संस्कृति बोकिरहेका छन्,’ पुजारी श्रेष्ठ सुनाउँछन्, ‘अब जात्राको जिम्मेवारी युवाको काँधमा आएको छ। टीकाभैरव मन्दिरको आफ्नै पौराणिक किंवदन्ती रहेको छ।’

चारैतिरका डाँडामा छरिएर रहेका मानिसहरू खासमा जात्राको रङ हेर्न टीकाभैरव झर्ने गरेका छन्। जात्रा हेर्न आएका मानिसका अनुहार हेर्दा बच्चालाई दसैं आएजतिकै हुन्थ्यो। यस जात्राको उमंगमा सबै रमाउँछन्। उनीहरूको अनुहार खुसीले भरिएको हुन्थ्यो। वर्षमा आउने टीकाभैरवको चैत पूर्णिमाको जात्रा निकै लोकप्रिय रहेको छ।

टीकाभैरवको मन्दिरदेखि पूर्व र दक्षिण तर्फबाट खोला बगेर आएको हुनाले बीचमा रहेको मन्दिर साह्रै रमणीय हुनुका साथै दुवै खोलाको पानी कलकल बगिरहेको देखिन्छ।

वरिपरि हराभरा घना जंगल भएका पहाडले घेरिएको, लीलावती, चन्द्रावती खोलाबीच त्रिवेणीघाटमा टीकाभैरव विराजमान रहेको छ। टीकाभैरवको बायाँपट्टि खोलापारि वासुकी नागको सानो मन्दिर छ। त्यही मन्दिर छेउमा बालकुमारी र जयकुमारीको रथ ल्याएर राखेसँगै चैत पूर्णिमा जात्राको रौनक सुरु हुन्छ।

टीकाभैरव मन्दिर उत्पत्तिको सवालमा यस्तो छ पौराणिक तथ्य। लंकाका राजा रावणले महादेवको धेरै वर्षसम्म तपस्या गरे। त्यो देखेर महादेव प्रसन्न भई ‘के वरदान माग्छौ, माग भन्दा’ रावणले ‘मलाई टीकाभैरव दिनुपर्‍यो’ भनी मागे र महादेवले ‘ल लिएर जाऊ’ भनी वरदान दिँदै हातमा भएको कलश सुम्पिदिएका थिए।

भैरवलाई लिएर आउँदा रावणलाई शौच लागेछ। देवता कसलाई दिने भनी यताउति भौंतारिँदा गोठालालाई देखेर एकपटक कलशसहित भगवान् समातिदिन आग्रह गरे। रावणले शौचमा निकै समय लगाए।

यता रावण नआएपछि गोठालाको बस्तुभाउ अरूको बालीमा पस्यो। आफ्नो पशु अरूको बालीमा घुस्दा गाली खाइने डरले ती गोठालाले कलशसहितका देवता भुइँमा राखिदिए। रावण फर्किएर गोठालालाई प्रश्न गरे, ‘खोई मैले दिएको कलश र देवता ?’ त्यो प्रश्नको प्रतिउत्तर फर्काउँदै गोठालाले भने, ‘ऊ त्यहीं छ त भुइँमा।’

उक्त कलशसहितका देवता उठाउन खोज्दा उठाउँनै सकिएन र जबर्जस्ती बल गरेर तान्दा कलशको बिट भाँचिएर आयो। साथै टीकाभैरवले प्रत्यक्ष दर्शन दिँदै ‘अब मलाई लिएर जान सक्दैनौ भन्दै भगवान् अलप भए भन्ने पौराणिक मान्यता छ।

रावण रिसले चुर हुँदै सिद्ध भएको कलशसँगै रहेका देवता ‘रामेश्वर’ को ढुंगालाई तरबारले दुई टुक्रा हुने गरी काटे। त्यो काटिएको ठुलो रामेश्वरको मूर्ति भैरवका पछाडि आजसम्म पनि यथावत् रहेको किंवदन्ती छ। रावण बोकेर ल्याएका कलशलाई उठाउन नसकेपछि ठुलो घ्याम्पो बनाएर भैरवको पूजा अहिले पनि गर्ने गरेका छन्।

गोदावरी नगरपालिकाकै चापागाउँ र ठेचोमा रोपाइँ गर्ने समयमा पानी परेन भने त्यहाँका मानिसहरू टीकाभैरवमा गएर पूजा गरी पानी माग्ने गर्छन्। पूजा गरेकै दिन वा त्यसको एकदुई दिनपछि ठुलो पानी आउने स्थानीयको मान्यता छ। यो पनि टीकाभैरवको ठुलो शक्ति मानिन्छ।

दक्षिण ललितपुरको यस भेगका जनताको मुख्य पेसा कृषि हो। उद्योगमा भन्ने हो भने प्रशस्त मात्रामा ढुंगाखानी भएको हुनाले प्रत्येक दिन तीनचार सय ट्रकभन्दा बढी ढुंगा ओसारपसार गरिन्छ। यसमा उद्योगपति र व्यक्तिहरूले निकै काम पाइरहेछन्, ढुंगामा काम गर्ने व्यक्तिहरूको आर्थिक लाभ लिएको देखिन्छ।

गोदावरी नगरपालिका ६ का वडा अध्यक्ष विष्णुमान महर्जनका अनुसार यहाँका मानिसलाई जात्राले बाँच्न सिकाएको छ। वर्षभरि काम गर्छन्। त्यही थकानलाई पनि यस चैत पूर्णिमाको जात्राले मेटाउने गरेका छन्। ससाना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्।

‘जात्राहरू कथैकथाले जोडिएका छन्,’ उनले भने, ‘इतिहासलाई भुल्नुहुन्न। सँगै डो¥याएर लैजानुपर्छ। टीकाभैरवमा मनाइने जात्राले थुप्रै सन्देश दिने अध्यक्ष महर्जन बताउँछन्।  

जात्राको महत्त्व बुझाउँदै यसलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने उनीहरूको भनाइ छ। ‘जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयसाक्षेप गर्नु जरुरी छ। यो समयभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउन आवश्यक छ,’ उनले भने।

पहिले नेवार समुदायले मात्रै मनाउँदै आएको जात्रा पर्वहरूमा पछिल्लो समय अन्य समुदायको सहभागिता पनि बढ्दै गएको छ। जात्रा हेर्नका लागि विभिन्न समुदायका व्यक्तिहरू जात्रास्थलमा पुग्ने गरेका छन्। अहिलेका युवामा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि हाम्रो समाजका परम्परा र संस्कृतिले युवा पुस्तालाई बुझाउन सजिलो हुने अध्यक्ष महर्जनले बताए।

देशमा कतिपय पम्परा मासिँदै आएका छन्। त्यसैले भावी पुस्तालाई आफ्नो रीतिरिवाज, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश दिनु ठुलो आवश्यक छ।

ललितपुरका जात्रा मात्रै नभएर पर्यटनको आकर्षक र कहलिएको गन्तव्यमा पर्ने दक्षिण ललितपुर पछिल्लो समय यसको सम्भावना अझै प्रचुर मात्रामा बढेको अध्यक्ष महर्जन बताउँछन्।

‘विभिन्न संस्कृति, जात्राको वातावरण, नयाँ ठाउँ पुगेर रमाउने संस्कारको विकास भएसँगै दक्षिण ललितपुरमा पछिल्लो समय बाह्य र आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। यहाँको गन्तव्यमा घुम्न सबै विविधताले भरिपूण भएकाले घुम्न आउनेहरू बढी मात्रामा भेटिन्छन्। पर्यटनका हिसाबले दक्षिण ललितपुर हराभरा हरियालीका साथै सुन्दरतामय छ,’ महर्जन बताउँछन्।

चारैतिर डाँडाले घेरिएका काठमाडौं, भक्तपुर र ललितपुर यतिबेला जात्रामय भएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका यी तीन सहर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्। भक्तपुरलाई बिस्का जात्रा, काठमाडौंलाई इन्द्रजात्रा र ललितपुरलाई रातो मच्छिन्द्रनाथको जात्राले यी ठाउँको भव्यता बढाएका छन्।

प्रकाशित: १५ वैशाख २०८१ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App