११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

पुस्तक

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

अनु विज्ञातिसँगको मेरो चिनाजान उनको लघुकथा सिक्ने हुटहुटीले भएको हो। उनीसँग विषयवस्तुका अस्मेल भेल थिए। तिनलाई रूपविधानका चौघेरामा ल्याउन भरमग्दुर प्रयत्न गर्दै जाँदा उनी यो लघुकथाकृति ‘अक्षर रेखा’ लिएर उपस्थित भएकी हुन्।

विज्ञता भएको व्यक्ति विज्ञाति भन्ने अर्थ हो उनको नामको। अर्थात् ज्ञान, समझदारी, विवेकशीलता भएको नाम चलेको जानकार मानिस हो विज्ञातिको तहगत अर्थ। यी तहगत अर्थबाट बाहिर निस्कँदा मलाई अनु विज्ञाति जिज्ञासु व्यक्ति जस्तो लाग्छ। अर्थात् आफ्नो कथनीमा अडिएर सत्य खोज्ने जिज्ञासु। लेखकका लागि यो ज्यादै राम्रो गुण हो। आफ्ना विचारमा संसारलाई घुराउन सक्ने जिजीविषा नै लेखकको सबैभन्दा महत्त्वपूर्ण शिल्प हो।

एउटा संयोग हो सायद। पिडिएफमा नै भए पनि उनको पुस्तक अद्योपान्त पढ्ने अवसर मिल्यो। यसलाई मैले संयोग किन भनेको भने नेपाली साहित्य क्षेत्रमा हजारौँ कृति प्रकाशित हुन्छन्। र, ती सबै कृति पढ्नु कम्तीमा मेरा लागि सम्भव छैन। तिनमा कुनै कृति संयोगले पढिन्छन्। काकतालीले पढिन्छन्। मैले संयोगले पढेँ। त्यसैले लेखनीका हिसाबमा अनु विज्ञातिलाई अस्मेलतामा अनुगमन गर्ने सुसंयोग पाएँ। मेरा लागि यो महत्त्वपूर्ण अवसर हो।

कृतिको कलेबरमा कलमको टुँडाले लेखेका रेखाहरू छन्, जसले जीवनका छाल बुझाउने कुराको सङ्केत गर्छ। अक्षरले कोरेका रेखाहरूमा जीवनको बहु रङ छ। पछिल्लो पातामा लेखक परिचय छ। त्यसमुन्तिर वरिष्ठ लघुकथाकार रवीन्द्र समीरको कथ्यौली छ। जसमा समीरले ‘पात्रको मनोवैज्ञानिक चरित्र चित्रण गरी लघुकथा बुन्नु अनु विज्ञातिको लघुकथा लेखनको विशेषता हो’ भनेका छन्।

लघुकथाइतर खण्डमा प्राविधिक पृष्टबाहेक डा. शेखरकुमार श्रेष्ठको प्रकाशकीय तथा लघुकथाकार अनु विज्ञातिको आफ्ना कुरा छन्। आफ्ना कुरामा सिर्जनाको रचनागर्भ उल्लेख भएको छ। ६२ लघुकथाको कथाक्रम सूची छ।

२०४३ सालमा जन्मिएकी अनु विज्ञाति पेसाले निजामति कर्मचारी हुन्। अनु विज्ञाति उनको साहित्यिक नाम हो। एमपीए तथा एलएलबीको अध्ययन पत्र बोकेर जागिरे जीवन जिउन जाइलागेकी हुन् अनु। कृतिका हिसाबमा यो पहिलो हो। मोरङ सुन्दरहरैँचा विराटचौकमा स्थायी मुकाम बनाएकी छिन्। फुटकर लघुकथाकै हिसाबमा उनले हेमलता स्मृति लघुकथा सम्मान २०८० पाएकी छिन्। यस कुराले उनको लेखनीको विशिष्टता प्रमाणीकरण गर्छ।

नेपाली साहित्यभित्र लघुकथाको रूपविधानका बारेमा प्रश्न, बहस तथा चर्चा परिचर्चाहरू हुने गरेका छन्। लघुकथा आख्यान विधाको अलग्गै प्रविधा हो कि कथाको संश्लेषित रूप हो भनेर बहस छेडिने गरेको छ। अग्रज ठानिएका विज्ञहरूबाट यस्तो विपर्यास बहस आउँदा लपसिक्खा लघुकथाकारहरू कुहिरोको काग बन्नु स्वाभाविक छ। तथापि नेपाली लघुकथाले आफ्नो छुट्टै विशेषताका कारणले प्रविधागत स्वरूप लिइसकेको छ। विद्यावारिधि र सिद्धान्तका पुस्तकहरू प्रकाशित भइसकेका छन्। जस अुनसार केही विशिष्ट तत्त्व नभई लघुकथा बन्दैनन्। तर, यदि लघुकथालाई कथाको खुम्चिएको रूप मान्ने हो विशिष्ट विशेषता आभूषण मात्र हुन्, अनिवार्य होइन। किनकि कथाका लागि ती विशेषता शिल्प हुन्, आभूषण हुन्। तर लघुकथाका लागि आवश्यक तत्त्व हुन्।

यो आलेखको आधारभूमि लघुकथा भन्नु आख्यानको अलग्गै अनुविधा हो भन्ने मान्यता नै हो। यसै आधारमा अनु विज्ञातिका लघुकथामा कथ्य विधान तथा रूप विधानको निर्क्याेल गर्ने प्रयत्न गरिएको छ।

सर्जकले गर्ने सिर्जना उसको देखाइ, भोगाइ, पढाइ तथा सोचाइमा आउने निजत्व अनुभूति हो। निजत्व चिन्तन नै सर्जकको वैशिष्ट्य हो। सर्जकका ज्ञानचक्षुमा एउटा घेरा हुन्छ। सायद बुझाइको घेरा। चिन्तनको घेरा। तुष्टिको घेरा। याने वैचारिक धरातल भन्नु पनि यही कुरा हो। अनु विज्ञातिका लघुकथामा पनि उनको यही वैचारिक धरातल आउने कुरामा दुई मत हुन्न। यसैले उनको लेखनीमा उनी आफू बाँचेको समाजका प्रभावहरू आएका छन्।

समाजमा मूलतः उनी बाँचेको संसारलाई लघुकथामा उजागर गरेको महसुस भएको छ। लघुकथामा उनका कर्मचारी, महिला तथा गृहिणी रूप प्रमुख भएर आएका छन्। कर्मचारी भएकाले कर्मचारी तन्त्रको विशेषज्ञता छ। महिला भएकाले महिलाका विशिष्ट समस्यासँग परिचित छिन्। गृहिणी भएकाले पारिवारिक तथा सामाजिक सम्बन्धहरूका प्रभाव उजागर भएका छन्। त्यसैले समाजमा रहेका विविध खाले सङ्गत/असङ्गत विसङ्गतिहरू केलाउनु र सुधारको अपेक्षा गर्नु उनका लघुकथाको सामाजिक विशेषता हो।

यसअन्तर्गत सामाजिक अन्धविश्वास, समाजमा अन्तरनिहित विकृति, विसङ्गति तथा विद्रुपता नै ज्यादातर रूपमा आएका छन्। संस्कृति संरक्षणमा जोड दिइएका छन्। हजुरबाले वा बाले चलाएझैँ परिवार चलाउन सकिन्छ कि सकिन्न भन्ने चिन्ता नातिलाई परेको देखिन्छ।

उनका लघुकथामा सामाजिक विसङ्गतिमाथि व्यङ्ग्यात्मकता पस्किएको छ। अर्थात् उनको कथ्य विधानको मूल चुरो भनेको व्यङ्ग्यात्मकता हो। व्यङ्ग्य निर्माण गर्न तथा प्रहार गर्न उनले स्वैरकल्पनाको पनि प्रयोग गरेको देखिन्छ। स्वैरकल्पनामा लघुकथा निर्माण गर्नु चुनौती हो, तथापि उनका लघुकथामा गजबसँग स्वैर कल्पनाको प्रयोग भएको छ।

यो संसारमा महिलासँग सम्बन्धित विषयले छुट्टै महत्त्व राख्छ। सर्जक अनु विज्ञाति आफैं महिला भएकाले उनका लघुकथामा महिलाका अन्तर्य उजागर भएका छन्। नेपाली समाजमा देखिने छोरी र बुहारी बिचमा मनोवैज्ञानिक फरक छ भने अर्कोतिर विदेश जाने सँग बिहे नगर्ने राष्ट्रवादी सोचाइ पनि छ।

महिलाका बिचमा सुनचाँदीका दर्शनले पारेको प्रभाव, छोरीको बिहेका बारेमा बाबुआमाको सामाजिक चिन्ता जस्ता सामाजिक मनोवैज्ञानिक चित्र पनि छन्। विधवा र विधुरका लागि अलग सिद्धान्त बनाएको समाजमाथि व्यङ्ग्य प्रहार गरिएको छ। बुहारीमाथि बच्चा पाउनु पर्ने प्रेसर हालिने गरेको यथार्थ पस्किएको छ। महिला पुरुषमा समानताको तथासमान न्यायको अर्ज गरिएको छ। र समग्रमा नारीको शक्तिको आकलन गरी सशक्तीकरणका मुद्दा उठाइएको छ।

अनु विज्ञातिका लघुकथामा समग्रमा मान्छेको दुईधारे जीवनयापनलाई कथावस्तु बनाइएको छ। सफ्टवेयर याने बुद्धि गुमाउँदै गएका मान्छेप्रति व्यङ्ग्य छ। धन कमाएपछि निद हराएको मान्छेको यथार्थ चित्र छ। दुर्वचन, लोभ, मानिसका शत्रु हुन् भन्ने साधु नै दुष्ट भएको विपर्यास दृश्य छ।

सुकुटीको विम्बमा मान्छेको चतुर्‍याइँको चित्र छ। जागिरे भएपछि पनि आफ्नो जोहो नगर्ने मान्छेलाई सामाजिक मनोविज्ञानका आधारमा हेरिएको छ। भर्चुअल प्रेम तथा मानवीय मनोविज्ञान प्रशस्त मात्रामा उधिनिएको छ। श्रीमानकाे लघुकथा पुरस्कृत भएर आफ्नो नहुँदा हुने मनोवैज्ञानिक दुःख अभिव्यक्त भएको छ। खुसी तथा सुखी हुने क्षणको निदान गरिएको छ।

समाजका स्वरूप बदलिएको छ। कृषि प्रणालीमा आधारित समाज ध्वस्त भएको छ। परम्परागत कृषि प्रणालीले समाजको आर्थिक समस्या धानेको छैन। त्यसैले संसार नै एउटा डिजिटल गाउँमा रूपान्तरण भएको छ। एउटा बजार भएको छ। जागिर खाने थलो भएको छ। त्यसो भएकाले युवाहरू जिन्दगी खोज्दै विदेश पुगेका छन्। अर्कोतिर वृद्धवृद्धाहरू गाउँ तथा थलो रुँगेर बसेका छन्। उनीहरू आश्रयविहीन हुँदै गएका छन्।

 यस्तो अवस्थामा वृद्धवृद्धाका समस्या जकडिएर देखापरेका छन्। यो समस्यामाथि पनि अनु विज्ञातिको नजर परेको छ। उनका लघुकथामा वृद्धवृद्धाका पीडा उजागर भएका छन्। वृद्धवृद्धाको अपहेलना गर्ने प्रवृत्तिमाथि बढेर गएकोमा विरोध गरिएको छ।

नेपाल त्यसै पनि भ्रष्टाचार पन्पिएको देश हो। जोजो सत्तामा पुगेका छन्, तिनले भ्रष्टाचार गरेकै छन्। विविध क्षेत्रमा भ्रष्टाचार फस्टाएको छ। यहाँसम्म कि कोरोनाको खोपमा समेत भ्रष्टाचार छ। खोपमा विभेद छ। त्रस्त मनोविज्ञान छ। दलाली तथा भ्रष्टाचारको जरो कर्मचारीतन्त्र भएको प्रति कटाक्ष गरिएको छ। कमसल सामान खरिद गर्ने प्रचलन भएको कर्मचारीतन्त्रमाथि गतिलो प्रहार गरिएको छ। कर्मचारी तन्त्रमा पनि आफ्ना मातहतका कर्मचारीसँग हाकिमले गर्ने मनपरीका प्रति पनि विरोध गरिएको छ।

भ्रष्टाचारको शृङ्खलामा राजनीतिक परिपाटी तथा नेता, कार्यकर्ता छन्। राजनीतिक विकृति, बिकौवा शासक, उधारो राष्ट्रवाद जस्ता विषय उनका लघुकथामा समेटिएका छन्। अर्कोतिर सिमाना मिच्न नदिने इमानदार जनताको दृश्य पनि समेटिएको छ र लगत्तै झोले कार्यकर्ताका कारणले राजनीतिक विकृति तथा भ्रष्टाचार पन्पिएको प्रति प्रहार पनि गरिएको छ।

विषयगत हिसाबमा भन्ने हो भने अनु विज्ञातिका लघुकथाहरूमा कथ्यगत विविधता तथा प्रवृत्तिगत अनेकता पाइन्छ। यसरी हेर्दा विद्रोहात्मकता उनको कथ्यका विशेषता हुन्। सँगसँगै उनी विद्रोही लघुकथाकारका रूपमा पनि देखिइएकी छिन्। छाउप्रथा नछुने हुने भन्ने मासिक धर्म निर्वाह गर्ने सवालमा गजबको दृश्य देखाएर विद्रोह गरिएको छ।

यसैगरी दृष्टिकोणमा सकारात्मकता देखिन्छ। ‘हाँस्ने दिन आउने कल्पना गरेर पनि त सोच्न सकिन्छ’ भन्ने जस्ता सकारात्मक विचार अभिव्यक्त भएका छन्। गाउँघरका कथानक छन्। कतिपय लघुकथाको कथानकको थिम प्रगतिशील छन्। सुधारोन्मुख रहेका छन्। सुधारका साथ उनले कथावस्तुलाई मार्मिक बनाउन पनि प्रयत्न गरेको देखिन्छ। मकै पोलिरहेकी महिलाले खोजेको समानता साँच्चिकै मार्मिक छ। अर्थात् उनका लघुकथाहरू समानताको पक्षमा छन्।

उनले आफ्नो कथ्यमा साहित्यकारका समस्या, दृष्टिकोण, विपर्यास चिन्तनमाथि पनि कलम कुदाएकी छिन्। साहित्यकार कुनै एक विधामा केन्द्रित हुन नसकेकोप्रति व्यङ्ग्य छ। सामाजिक पात्र र कृतघ्न साहित्यकार, पाठकको सार्वभौमिक महत्त्व दर्साउँदै सालीको कृतिको समालोचना गर्ने समालोचकको सम आलोचना गरेकी छिन्। समालोचक नै पक्षपाती भएपछि साहित्यको अवस्था कस्तो होला भन्ने कुरा छर्लङ्ग हुन्छ।

‘अक्षर रेखा’ लघुकथासङ्ग्रहलाई रूप विधानका कसीमा राखेर हेर्न प्रयत्न गरिएको छ। लघुकथा भनेको आख्यानको त्यो रूप हो, जसमा समग्रतामा कौतूहलता, उठानमा आकस्मिकता, बहाबमा तीब्रता, कथ्यमा संक्षिप्तता, लेखनीमा सूत्रात्मकता, उत्कर्षमा उच्चता, अनुभूतिमा प्रतिध्वन्यात्मकता तथा विद्युतीय तरङ्ग, आयाममा अल्पता, स्वादमा व्यङ्ग्यात्मकता आदि विशेषता जोडिएका हुन्छन्।

यसैगरी अणुसामथ्र्य, बीज वाक्यको निर्माण, एकोन्मुखता आदि विशेष हुन्। यीबिनाको छोटो आख्यान लघुकथा बन्न सक्दैनन्। यसबाहेक पनि आख्यानमा हुने तत्व द्वन्द्व, कथानक, पात्र, थिम, बुनौट, प्रयोजन आदि समावेश नभइ लघुकथा हुने कुरा पनि भएन।

उनको यो लघुकथाकृतिमा सबैभन्दा धेरै ध्यान दिइएको कुरा भनेकै रूप विधान हो। लघुकथाको मानक तत्वलाई पछ्याउँदै र बोध गर्दै लघुकथाको निर्माण गरिएको छ। त्यसैले रूप विधानका हिसाबमा लघुकथा अब्बल बुनौटमा छन्।

पूर्णता भन्नु पनि भ्रम हो। अपूर्ण छु भन्नु पनि भ्रम हो। जीवन न पूर्ण छ, न अपूर्ण। फेरि पनि अपूर्णताबाट पूर्णतातिरको यात्रा जीवन हो। विकास हो।चैतन्य हो। जतिसुकै पूर्ण भए पनि उधिनिने अपूर्णता हो, पाउने अपूर्णता हो। तर खोजी भने पूर्णताको हो। यो कुरा मानव विकासको प्रवृत्ति हो। यही प्रवृत्तिलाई मध्यनजर गर्दै छु।

कृतिको आवरण सुन्दर छ। तर लघुकथाकारको ‘आफ्नो भनाइ’ मा प”रै जीवनी नै आएको छ। अर्थात् आत्मकेन्द्रित वर्णन धेरै भएको जस्तो लागेको छ। पाठकले झन्झटिलो मान्ने गरी आएको छ।

यसैगरी प्राविधिक कुरामा कृति लघुकथासङ्ग्रहको भएकाले विषयसूचीमा कथाक्रम नभएर लघुकथाक्रम भएको भए झन् न्याय हुन्थ्यो।

लघुकथाकार अनुको कतिपय लघुकथा भन्ने शैलीविवरणात्मक देखिन्छ। बयानात्मक देखिन्छ। विवरणात्मकता तथा बयानात्मकता लघुकथामा कथ्य प्रस्तुतिका बाधा हुन्। कृतिमा प्रयोग भएको रूप विधानलाई मिहीन तरिकाले हेर्यो भने प्राय लघुकथामा उठानमा आकस्मिकताको अभाव देखिन्छ।

अर्को कुरा धेरै लघुकथा आयाममा लामो प्रतीत हुन्छ। आयाममा अल्पता भनेको दुई मिनेटमा पढिसकिने सामग्री भनेको होइन। छोटोमा तर कथावस्तु झिल्काजस्तो आउने र सकिने अर्थात् निमेषमै उठान भएर निमेषमै सकिने कथावस्तुलाई आयाममा छोटो भनिएको हो।

कृतिभित्रका कतिपय लघुकथाका कथानकहरूले लामो अर्थात् युगौं युगको समयलाई टिपेका छन्। त्यसैले आयाममा पनि छोटो भएको भए सुन्दर हुने थियो भन्ने आकांक्षा राख्नु लघुकथाका पाठकको मनासिव कुरा हो।

भनिन्छ राम्रो लघुकथा बन्न कथानक पनि गम्भीरकै हुनुपर्छ। स्वरूप मात्र मिलाएर लघुकथा अब्बल बन्ने होइन। जसरी कुकाठको सुन्दर आकारको हलोले जोत्न सक्दैन, त्यसैगरी हल्काफुल्का विषयवस्तुमा सिर्जित लघुकथा पनि कमकरी हुन्नन्।

यो कृतिमा उनिएका कतिपय लघुकथाका विषयवस्तुमा विषयप्रति गाम्भीर्यको अभाव छ। अर्थात् कृतिभित्र यथेष्ट मात्रामा सामाजिक, राजनीतिक, सांस्कृतिक, वैयक्तिक असङ्गतिप्रति असाध्य धेरै चिन्ता गरिएको छ। तर, त्यसमा चिन्तन पक्ष भने धिमा छ। जति चिन्तन पक्ष दर्बिलो भयो उति विषयले नवीनता पाउने हो।

लघुकथा लेखिरहँदा लघुकथाकारले आफ्नै सिर्जनालाई विविध दृष्टिकोणबाट हेर्नुपर्छ। किनकि सर्जक नै सिर्जनाको पहिलो र विश्वासिलो पाठक हो। कथावस्तुलाई सामाजिक न्यायको सिद्धान्तका आधारमा राखेर हेर्नुपर्छ। महिलावादी विचारबाट महिला पात्रको अवस्था, कथानकको अवस्था तथा तिनको चैतन्यको अवस्था कस्तो छ भनी आफैंले परख गर्नु जरुरी छ। कथानकले अग्रगम्यताका लागि सङ्घर्षशीलता उठाएका छन् कि छैनन् भन्ने कुरा हेरिनुपर्छ। यसरी जाँचीबुझी आएका लघुकथा निसन्देह धेरै हदसम्म दर्बिला हुन्छन्। यो कृति पढिरहँदा यी कुरा भने खट्किने सम्भावना छन्।

धेरै लघुकथाको आधारभूमि सामाजिक मनोविज्ञान रहेको देखिन्छ। वर्तमानमा प्रचलित सामाजिक यथार्थ, सामाजिक आदर्श तथा सामाजिक बन्धनलाई आधार बनाउनु भनेको सामाजिक मनोविज्ञान हो। धर्म, संस्कृति, चालचलन, परम्परा आदिले एउटा सामाजिक आधार बनाएको हुन्छ। जसमा परिवारका सम्बन्धलगायत समाजका सम्बन्ध पनि निक्र्यौल हुन्छन्। खासमा भन्ने हो भने यही भावभूमिमा अधिकांश लघुकथा लेखिएका छन्। यसैमा सुधार खोजिएका छन्। तर खास कुरा भने के हो भने प्रचलित सामाजिक मनोविज्ञानलाई भञ्जन नगरी अग्रगम्यता आउन्न। अग्रगम्यताको दृष्टिबिना लेखिनु सामान्य मात्र हो, विशेष होइन।

कुनैकुनै लघुकथामा तादात्म्यको अभाव देखिन्छ। ‘संविधानमा नै समानताको हक प्रत्याभूत गरिएको हाम्रो देशमा छोरा नभएको भन्दै पुरुषले दोस्रो बिहे गरेर एउटै घरमा अर्की श्रीमती भित्र्याउँदा बाध्यता ठहर्छ भने सोही कारण परी महिलाले दोस्रो पति भित्र्याउदा के ठहर गर्नुहुन्छ श्रीमान्’ भन्ने वाक्यले तादात्म्य देखाउँदैनन्। संविधानअनुसार कसैले पनि कुनै बहानामा बहु बिहे गर्न पाउन्न। यसरी लघुकथाको विषयवस्तु निर्माण गर्दा आक्रोश अभिव्यक्त भएझैँ लाग्छ। हमुराबीको कानुनजस्तै ‘टिट फर ट्याट’ मात्र हुन्छ। यस्ता कुरामा पनि ध्यान पुर्याउन सके कथ्य बढी यथार्थ हुन्थ्यो जस्तो लाग्छ।

‘अक्षर रेखा’ मा समेटिएका लघुकथा लेखनमा रूप विधानलाई प्राथमिकता दिइएको कुरा प्रष्ट छ। यो राम्रो कुरा हो। तर यसो गर्दा कथानकको बहाबमा अलि असहज भएको हो कि भने जस्तो पनि लाग्छ। कृत्रिमता, अर्थात् बढी टेक्निकल भएका हुन् कि भने झैँ प्रतीत हुन्छ। कथानक प्रस्तुति पनि उफ्रेका छन् कि भन्ने लाग्छ। कथ्यलाई ध्यान दिनुपर्ने अवस्था पनि छ।

अब पुछारमा छु। अनुका अक्षरले रेखा कोरेको छ ‘अक्षर रेखा’। रेखा भन्नु एउटा परिधि हो। एउटा साँध हो। गन्तव्य हो। सायद मान्छे बाँचेको गोलचक्कर हो। सीमा हो। याने सामाजिक सीमा हो। चैतन्यको सीमा हो। स्रष्टाको सीमा हो। द्रष्टाको सीमा हो। सङ्केत हो। सङ्केत अग्रगम्यताका लागि हो। सङ्केत सुधारका लागि हो। गणित हो। सायद मान्छेको जीवनको गणित। अर्थात् यो यस्तो गणित हो जहाँ दुईमा दुई जोड्दा चार हुन्न। बेला अनुसार गणितले नतिजा फेरिरहन्छ। यस्तै अर्थ लगाएँ मैले अनु, ‘अक्षर रेखा’ को। त्यसभित्र समेटिएका जीवनका जटिलताको। अरेख्य बन्न गाह्रो छ जिन्दगी।

शीर्षकले कौतूहलता, गहनता तथा प्रभावोत्पादकता देखाएको छ। अक्षरको धर्म र रेखाको साँधबाट प्रकाशित भएको होला पक्का ‘अक्षर रेखा’। अलिकति लेखाइबोध, अलिकति आवेग, अलिकति समाजप्रतिको दायित्वबोध र धेरै सामाजिक मनोविज्ञानगत आदर्श र यथार्थ। यिनै यिनै कुराको चेपबाट निसृत भएको हो यो ‘अक्षर रेखा’।

मैले इमानदार पाठक भएर पढेको छु। अर्थात् पाठक हुनुको धर्म निर्वाह गरेको छु। र, यो कृतिले विज्ञका समालोचकीय विज्ञता भेट्ला, पाठकको पाठक्यौली भेट्ला र अन्त्यमा आफ्नै बुताले ‘अक्षर रेखा’ उभिएला भन्ने ठानेको छु।

अब अन्त्यमा छु अनु! म के भनूँ? केही सिकेको छु, केही खोंचे थापेको छु। जँचे लिनू, नजँचे नलिनू। मर्जी। माथिमाथि भन्नुको कुनै जेनिथ छैन। फेरि पनि माथि पुग्नु छ। माथि पुग्नू भनी आशीर्वाद छ अनु। सायद मेरो विचार होला, कि अर्को सुन्दर र घनघच्ची कृतिको आश गर्दै यो कृतिको सफलताको कामना गर्छु।

प्रकाशित: ४ वैशाख २०८१ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App