२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भ्यागुता, कुखुरा र झ्याँउकिरीमाथि मुद्दा

यस्ताे पनि!

शहरको वातावरणबाट दिक्क भएर जब तपाईं गाउँको फराकिलो वातावरणमा बिदा मनाउन जानुहुन्छ, त्यो आनन्दको बिहानीमा तपाईंलाई भालेको डाकमा उठ्नुपर्ने हुन सक्छ। तापनि तपाईं अल्छी मानेर अझै सुतिरहनु हुँदा चराको चिर्बिर, गाईबस्तुको डुक्राई र अनेक आवाज सुन्नुपर्ने हुन्छ। फ्रान्सेली शहरियाहरू गाउँमा रमाइलो मनाउन जान्छन्। सप्ताहान्तपछि गाउँ छाडेर शहर पस्छन्। गाउँ बसेका बेला उनीहरूलाई गाईबस्तु र कुखुराका दैनिकीले बिदा नै खल्बलाएको भन्दै गुनासो गर्छन्।

कतिपय त गुनासो मात्र गर्दैनन्, स्थानीय काउन्सिलमा मुद्दा नै हाल्छन्। यो क्रम बढ्दै गर्दा यतिबेला फ्रान्सेली संसद्ले गाउँले जीवनलाई आफूअनुकूल ढाल्न खोज्ने शहरियाहरूको सो रवैयाप्रति कटाक्ष गर्दै नयाँ कानुन बनाउने तयारी गरेको छ। तर यस कानुनका विरोधीहरू भने शहरको धुँवाधुलो र होहल्लाबाट जोगिन गाउँ जाँदा पनि आफूहरूले गाईबस्तु, चराचुरुंगी, भुस्याहा कुकुर आदिको चर्को आवाजका कारण पूर्ण आराम लिन नपाई हराम हुन पुगेको तर्क छ।

गएको मार्चमा स्थानीय अदालतमा एकजना शहरियाले मध्य रातमा गाईको ‘बाँ’ गरेर आफ्नो निद्रा खल्बलाएको भन्दै मुद्दा दर्ता गराएका थिए। मार्चको किसान महोत्सवमा एक जना फ्रान्सेली मन्त्रीले त्यस्ता मुद्दा र गुनासाप्रति व्यंग्य गर्दै भनेका थिए, ‘के अब गाईबस्तुलाई पनि हामीले अनावश्यक बेला मुखाडी लाइदिने?’

सांसद निकोल ली पेह भन्छिन्, ‘यसको अर्थ गाईबस्तुले जे पनि गर्न पाउँछन् भन्ने होइन, किसानको पनि निश्चित भूमिका त हुन्छ नै तर सबैभन्दा ठूलो कुराचाहिँ गाउँ जाने शहरियाहरूमा कमन सेन्स हुनुपर्छ।’

पछिल्लो समय शहरियाहरूमाझ गाउँमा रमाइलोका लागि जाने, त्यहाँ दोस्रो घर किन्ने क्रम बढेको छ। यस्तोमा गाउँका चर्चमा बज्ने घण्टीको समेत गुनासो थुप्रिएर स्थानीय अधिकारीहरू हैरान छन्।

सन् २०१९ मा गाउँमा आराम गर्न गएका एक शहरियाले कुखुरोका कारण आफू सुत्न नसकेको भन्दै मुद्दा हालेको घटना त्यो बेला निकै चर्चामा थियो। मौरिस नामक कुखुरोमाथि हालिएको सो मुद्दापछि हाँस, गाई र अन्य जनावरमाथि पनि मुद्दा हाल्ने क्रम ह्वात्तै बढेको थियो। कतिसम्म भने गएको वर्ष मेमा ९२ वर्षका कोलेट फेरीले पालेका तीन वटा भ्यागुताको ट्यारट्यार र टुरटुरका कारण छिमेकीलाई हुनु सास्ती भएको भन्दै मुद्दा परेपछि उनले तिनलाई अचार बनाई खानु परेको थियो।

यस्तै फ्रान्सको भारस्थितले बौसेट काउन्टीमा झ्याँउकिरीको एकोहोरो आवाजले दिक्क लगाएको भन्दै एक जना पर्यटकले मुद्दा हालेपछि तीन वर्षअघि नै त्यसलाई मुद्दा नलाग्ने ‘सेन्सरी हेरिटेज’ कानुन बनाइएको थियो। त्यसपछि पनि गुनासो कम नभएको पाइएपछि द सोसलिस्ट पार्टीका सांसद गेरार्ड लेसुलले यस्ता वाहियात विषयमा गनगन गर्नबाट रोक्न नयाँ कानुन बनाउन संसद् बाध्य भएको बताएका छन्।

प्रस्तुतीः अच्युत कोइराला

प्रकाशित: ३ वैशाख २०८१ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App