आज क्या दामी तरीकाले एक्जामको प्रिपेरेशन गर्ने झोक चल्या’ छ मलाई। तर, छुट्टी भएपछि सबै इच्छा किताबको पाना थोत्रिएर किताब स्टोरको पुरानो दराजमा थन्क्याएर राख्नु जस्तो हुँदो रहेछ। एकदिन अगाडि एक्जाम सकिएपछि कोही साथीलाई नपर्खीकन घर आएकी थिएँ तर आएपछि मेरो दिनभरिको टू डु लिस्ट नै परिवर्तिन भएको कुरा झल्झली सम्झिन्छु।
मेरा टू डु लिस्टभित्र मेरा बच्पनाका कुरा निकै परेका थिए। मैले सधैं एक्जामलाई सरल तरीकाले हेरें। कहिल्यै अन्तिम दिनलाई साँचेर राखिनँ पढाइ। कक्षामा सबै दिन मेरो प्रेजेन्स हुन्थ्यो र मलाई शिक्षकहरूका लेक्चर सुन्न विशेष चाख लाग्ने भएकाले म कहिल्यै क्लासेस बङ्क गर्ने छट्टूहरूको सूचीमा दाखिल भइन र सुरभी भनेपछि सधैं ठट्टा गरिराख्ने, पढाउँदा पढाउँदैको बेला जोक्स बनाएर सरलाई नै हँसाउने भनेर कहलिएकी केटी भन्थिन् एउटी कक्षाकी दिदीले। र मलाई धेरैले हँसमुख भनेर जिस्क्याउँथे क्लासमा।
आज म तिनै जिस्किएका तर्कनाहरू सम्झेर खिसी गरिरहन्छु। आमालाई मैले खाना पकाउँदा यति हँसाएकी थिए एकचोटि कि आमाले रिसाएको भावमा अनुहार बिगारेर मलाई “तँ बेमौसमी बाजा नबजा’’ भन्दै झण्डै मलाई डाडुले ठटाउनुभाथ्यो।
म ठट्टा गर्ने गर्थें, “आमा मलाई भोक लागो।’’
“खुरुक्क कोठामा गएर किताब पल्टा अनि पेज बाई पेज रट्न थाल। पढ्यो भने भोक आफैं हराउँछ। खानेको होइन पढाइको भोक जगा।’’
तर म पनि के कम तलतल लागेको बेला यसो छुट्टी पनि परेको दिन मुख मीठो पारूँ भन्दै खल्तीबाट पैसो झिकेर कसोकसो आमाको आँखा छल्दै सरासर नजिकैको डेरीमा गएर बदाम पिस्ता र दूधले बनेको कुल्फी खान्थे। खाँदा खाँदै मुन्टो खुट्टातिर पुग्दा त छुट्टै चप्पल पो ला’की रछु। कस्तो झुक्किएछु। कुल्फी सकिन नपाउँदै बैनीहरूले हिजो भनेका कुरा झल्याँस्स सम्झिएँ। दिदी पारि लोकन्थलीमा क्या गजबको टेस्टी ससेज पाइन्छ। थोरैमा अघाइन्छ नि। जाने हो खान?
मैले खल्ती फेरि हेरें। अझै पैसा बाँकी रहेछ। अनि लोकल होटलमा गएर चिकेन ससेज भनेर मगाएँ। अघाउन त अघाइएन तर मुखमा स्वाद भने सधैं झुन्डिरहनेछ भन्ने सोच्दै औंलामा लागेको अचार न्यापकिनले पुछेर म इभिनिङ वाक गर्न तम्सिएँ।
कौशलटार पुग्न आँट्दा मैले बच्पनको पैसा काण्ड सम्झिएँ। एकचोटि स्कूलमा हुँदा केही धनी र शोअफ गर्ने स्टुडेन्टका मोहमा लाग्दा मैले दराजमा भएका पचासका केही नो सुटुक्क झिकेकी थिएँ। ममीले सुइँको पाउनुभएछ। पछि स्कूल जाने बेलामा मलाई फकाउन खोज्दा पनि पैसा चोरे भनेर मुखबाट ओकल्न सकिन।
अनि दाइले मलाई, “तँ ठग होस्, त चोर कहलिस् मेरो नजरमा। खुरुक्क निकाल नत्र नराम्रो हुन्छ’’ भन्नुभाथ्यो। तर किन किन मेरो क्लासमेटहरूले क्यान्टिनको खानेकुरा खान देखाएको लोभले मलाई जित्यो।
मैले पहिलो पटक दादा र आमालाई आँखामा ठाडै हेरेर झुट बोलेकी थिएँ। मेरो मन विचारको वायुपंखी घोडा चढेर मनोलोक पुगिसकेकी थियो। म मूर्ख या अल्पबुद्धि मान्छे मलाई थाहा थिएन तर मैले त्यो पैसा मासिहाल्न भने सकिन।
झिसमिसे अँध्यारो थियो बाहिर। परपरबाट कुकुरहरू आफ्ना छाउरासँग भुकेको र बाझेको आवाज मेरो कानमा गुन्जिरहेको थियो।
बाटाका बिजुलीका पोलहरूबाट आएको प्रकाशले देखाएको मेरो छाया कच्ची बाटामा मसँगै अगाडि लम्किरहेको थियो। मैले बारबार दाइले घरमा बोलेका ती शब्दहरू याद गरिरहें। के आखिर मेरा हात लागेका ती पैसाका नयाँ नोटले मलाई चोर बनाएको होला त? के गरिबीले मलाई नसोचेको पाप गरायो कि मैले मेरो आमाबाको सन्दूक नै रित्याउनुपर्नेभो?
मैले यस्ता प्रश्नहरू खण्डन गर्नै सकिनँ। मेरा आँखा अगाडि मात्र क्यान्टिनको मीठो खाजाको चित्र आइराख्यो। स्कूल पुगेर क्लासभित्र बस्दा किताबमा आँखा त सल्बलाइरहका थिए तर मन भने किताबको कथामा नभएर क्यान्टिनका मम, पिज्जा या आइसक्रिमको मिठासमा पल्किंदै थियो।
क्लासको अन्तिम घण्टी बज्यो। सबै जना आफ्ना नेपाली किताब, ज्यामेट्र बक्स होस् या घरमा आमाबाको आँखा छलेर ल्याएको मोबाइल होस् व्यागभित्र हाल्दै थिएँ। सर क्लासबाट निस्केपछि कसैले मोबाइलको टर्चलाइट मेरो व्यागनर झिलिक्कै बाल्यो। कसैले मेरो चोरीको पैसा आफ्नो खल्तीबाट झिकेको देखे कि भन्ने शंका मलाई लाग्न थालिसक्यो थियो। फनक्क फर्केर हेर्दा स्कूलको लोवर सेकेन्डरी ब्लक इन्चार्ज मेरो अनुहारमा ताकेर टर्चलाइट बाल्दै मेरो अनुहारको हाउभाउ हेर्दै हुनुहुन्थ्यो।
मलाई बिजुलीका झट्का लागेझै भयो। के बहाना बनाएर परिस्थितिबाट उम्किनू जस्तो नि भयो। भोलिको खाजाको लागि आइटमहरू कागजमा टिपेर गन्न सुरु गर्दै के थिएँ सरलाई अगाडि देख्दा सपनाबाट झल्याँस्स बिउँझिएँ।
सरको शरीर विशाल थियो। लामो कद भएका सर स्कूल इन्चार्जको युनिफर्ममा आफ्नो कैलो कपाल मिलाउँदै हातमा समातिरहेको क्यापलाई निधारतिर लग्दै आफूलाई इशारा गर्नुभयो अनि मलाई डेढ दुई मिनेट भाषण छाँटेर कपाल मिलाउँदै क्यापले आफ्नो शिर छोप्नुभयो।
मलाई कराउँदै भन्नुभो,“तिम्रो ममीले मलाई कल गर्नुभाथ्यो अनि आइ वन्ट टू आस्क यु इफ यु ह्याब स्टोलेन् यर मदरस् मनी?
मेरो अनुहार डरले रातो भो।
क्यान यु कम टू माई अफिस? हयाब टू टीच यु ए गुड लेसन।
इन्चार्जको अफिस छिरेपछि केहीबेरसम्म त मलाई मेरो डरले काबुमा पार्यो। हिम्मत जुटाएर मैले आँखाबाट आँसु खसालें अनि राति घरमा भएको चोरी काण्डको खुलेर कुरा गरे। तिमीलाई मेसो भएन होला तर तिम्रो आमा मजस्तै अफिस म्यानेज गर्नु हुँदो रहेछ। उहाँलाई कत्रो चिन्ता छ तिम्रो बेटर फ्यूचरको। यसरी संघर्ष गरेर कमाएको आमाको कमाइको अंश आवारा साथीहरूको लहलहैमा लागेर नष्ट पार्छन् त!
ल भन अबदेखि यस्तो मिस्टेक दोहोर्याउँछौ? फेरि यस्तो मिस्टेक दोहोर्यायौ भने आइल इसू यु ए पेनाल्टी स्लिप। मैले भनेको कुरा लामो समयसम्म याद राख्नु।
फर वान विक यु शुड नट इन्टर द क्यान्टिन प्रेमिस।नाउ यु में गो टू एसेम्ब्ली। योर क्लास इज ओभर फर टुडे।
म केही निराश भावमा आफ्नो आँखाको परेला सुम्सुम्याउँदै र आँसु पुछ्दै सरासर तोकिएको बस नम्बरको लाइनतर्फ लागे। त्यहाँ मेरी मिल्ने साथी नीलिमा मलाई कुरिराखेकी थिई। ऊ जुनियरहरूसँग अन्ताक्षरी खेल्दै गरेको देख्या थिएँ मैले।
के छ बस मनिटर?
लाइन अगाडि गएर उभी। अनि तेरो आँखा कस्तो सुन्निएको?
म फटाफट भाइबहिनीहरूको अगाडि लागेर स्कूल बसतर्फ अघि बढें। ऊ मेरो सिटको छेवैमा आएर अर्को सिटमा बसी।
-के भो तँलाई?
लामो कहानी छ। पछि सुनाउला भने मैले।
उसले टाउको हल्लाउँदै हस् भनी।
अनि बस स्टप आउने बेलामा मैले उसलाई सोधें, “के तैंले क्लासमा सब सब्जेक्टको नोट बनाकी छेस्?
-अँ बनाएकी छु।
त्यसो भए मेरो प्राण धानिने भो। म भोलि घर गएर खाजासाजा खाएर गट्ठाघर आउँछु अनि हामी अडियो कथाहरू मोबाइलबाट सुन्दै असाइनमेन्ट गरौला।
-हस् बाई नक्कली। मैले उसलाई जिस्क्याउँदै बसबाट ओर्लिएँ।
प्रकाशित: ३० चैत्र २०८० ११:२२ शुक्रबार