२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सामाजिक यथार्थवादी धारमा लेखिएकाे नाटक लासमाथिको मानवता

डा. पुरण राईको नाटकसंग्रह लासमाथिको मानवता सामाजिक यथार्थवादी धारमा लेखिएकाे वक्ताहरूले बताएका छन्। नेपाल स्रष्टा समाज नेपालले आयाेजना गरेकाे डा. पुरण राईको लासमाथिको मानवता नाटकसंग्रहको अन्तरक्रियामा वक्ताहरूले साे विचार प्रस्तुत गरेका थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्य क्षेत्रमा धेरै कलम चलाइसकेका डा. पुरण राईलाई नाट्य क्षेत्रमै लागिपरेका विशिष्ट व्यक्ति र संस्थाबाटै उनको नाट्य अवस्था पर्गेल्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए।

थिएटर मलका निर्देशक तथा नाट्यकर्मी केदार श्रेष्ठले लासमाथिको मानवताका नाटकहरूमा वर्गीय समाजको सुन्दर चित्र उतारिएको बताए। उनले भने, ‘सामाजिक यथार्थवादी धारमा लेखिएका नाटकहरू शीर्षकअनुसार सार्थक सबै छन्। पात्रहरूमा विविधता, ग्रामीण परिवेशको बाहुल्य र वर्गीय समाजको सुन्दर चित्रण डा. राईको नाट्य विशेषता हुन्।’

त्यस्तै चलचित्र बोक्सीको घरका निर्देशक तथा नाट्यकर्मी सुलक्षण भारतीले डा. राईका नाटकहरूमा आम नेपाली जनताको भावना समेटिएको बताए। मीठो भावना, संक्षिप्त दृश्य र नेपाली माटोको सुगन्ध समेटिएकाले नाटक पठनीय बनेका छन्। उनले डा. राईका नाटकहरू सिनेम्याटिक भएको पनि उल्लेख गरे।

डा. कान्छी महर्जनले कथा र कविताको मञ्चन गर्ने जमानामा संग्रहका नाटकहरू प्रदर्शन गर्न त्यति गाह्रो नहुने बताए। उनले मानिसको स्वार्थी चरित्रविरुद्ध कटाक्ष, अब्बल दर्जाको मातृत्व प्रेम र ग्रामीण परिवेशको सुन्दर चित्रणले नाटक लोभलाग्दो भएको बताइन्।

त्यस्तै उनले संग्रहका नाटकहरू रंगमञ्चीय चेतनामा त्यति सबल नभए पनि विषयवस्तु र कथावस्तुको दृष्टिले उत्कृष्ट रहेको बताइन्।

प्रमुख अतिथि नाटककार अशेष मल्लले राज्यले नाटकका लागि केही नगरे पनि नाटक विधा निकै फस्टाएको बताए।उनले भने, ‘दक्षिण एसियामा नेपालमा मात्र एकसाथ लामो समयसम्म नाटक चलेको छ। मञ्चमा पुगेपछि मात्रै नाटकले पूर्णता पाउँछ। नाटक लेख्न जति सजिलो छ, मञ्चन गर्न उत्तिकै गाह्रो छ। यस्तो अवस्थामा युवा नाटककार थपिनु सुखद् पक्ष हो।’

प्रमुख अतिथि मल्लले नाटकले कमिटमेन्ट र कन्ट्युनिटी खोज्ने भएकाे हुँदा डा. राईलाई नाटय लेखनमा निरन्तरता दिन पनि अनुराेध गरे।

लासहरूको मौनता नाटककार डा. पुरण राईले कथा र कवितामा सजिलै भन्न नसकिने कुरालाई नाटकमार्फत प्रस्तुत गरेको बताए। उनले भने, ‘म नाटकमा शिशु हुँ। कविता र कथामा सजिलै भन्न नसकेका कुरालाई नाटकमार्फत प्रस्तुत गरेको छु। पाठकहरूले दिएकाे प्रतिक्रिया र सल्लाहसुझावले मलाई थप हौसला मिलेको छ।’

स्रष्टा समाजका सदस्य मधु पाठकले नेपाल स्रष्टा समाजले पहिलोपटक नाटक विधाको अन्तरक्रिया कार्यक्रम राख्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।

समाजका सचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा राससका प्रबन्धक निर्देशक सिद्धराज राई, प्राज्ञ गंगा सुवेदी, तारा सुवेदी, स्रष्टा समाज नेपालका मधेस प्रदेशका संयोजक लक्ष्मी श्रेष्ठ ‘रोशनी, जयराम बिडारी, डिल्लीरमण सुवेदी, प्रकाश साउद, मनिष राई, राजेश खनाल, लक्ष्मी श्रेष्ठ ‘रोशनी’, हरिबोल ढकाल, मुरारि सिग्देल, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।

उक्त कृतिमा छोरो, लाहुरे, लासमाथिको मानवता र आमा शीर्षकका चार नाटक संग्रहीत छन्। केही समयअघि उक्त कृतिकाे लाेकार्पण भएकाे थियाे।  

प्रकाशित: २९ चैत्र २०८० ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App