९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

पुरुषप्रधान आदिम समाज

मिथक

‘गुरुदेव! समाजमा प्रायः पुरुषको प्राधान्य देखिन्छ। सबै पुरुषप्रधान समाजकै कुरा गर्छन्। नारीप्रधानको कुरा खासै सुनिन्न र देखिँदैन पनि। यस्तो किन हुन्छ, किन भयो? आदिम कालदेखि नै यस्तै थियो कि पछि गएर हुन थालेको हो। पछि विकास भएको हो भने कहिलेदेखि भयो र किन भयो। आजको पाठ यसैमा केन्द्रित हुन चाहन्छु,’ एक दिन सम्यक्प्रास आश्रममा स्वाध्याय गर्न बसेका शिष्य रोमहर्षणले व्यासलाई सोधे।

स्मरण रहोस्, व्यासजीबाट सर्वप्रथम १८ पुराण पढ्ने काम उनै रोमहर्षणले गरेका थिए। व्यासजीले वेद विभाग स्थापना गरेपछि ऋग्वेद पैललाई, यजुर्वेद वैशम्पायनलाई, सामवेद जैमिनिलाई, अथर्ववेद सुमन्तुलाई र पुराण रोमहर्षणलाई पढाएका थिए। (भागवत १२/६/५२–५३) ‘ठिक भन्यौ वत्स, अहिलेको समाज पुरुषप्रधान नै हो। प्रायः सबै स्थानमा पुरुषकै प्राधान्य छ। यसको अर्थ नारी प्रधान छँदैछैन भन्ने होइन। छ, कतैकतै तर नाम मात्रको। तर, तिनलाई पनि क्रमशः पुरुषसत्ताले खोस्दै छ। पहिले त्यस्तो थिएन।

सृष्टिको सुरुवात नारी सत्ताबाटै भएको हो। सृष्टिको स्रोत नै नारी हुन्। उनीहरूबाटै सृष्टि सम्भव भएको हो। कुरा त्यतिबेलाको हो, जसलाई हामी सत्ययुगको सुरुवाती चरण भन्छौं। जब प्रजापति ब्रह्माले पुरुषसत्ताबाट सृष्टिलार्ई पूर्णता दिन सकेनन्, तब आफैंभित्रको नारी शक्ति प्रयोग गरेका थिए, जसलाई शतरूपा भनिन्छ। (भागवत ३/१३/५३) प्रारम्भिक समाज गणमातृका युगको थियो। गणमातृकाहरू जे भन्थे त्यही हुन्थ्यो। जस्तो चाह्यो त्यस्तै गराउँथे, गराउन सक्थे। देवताहरूसमेत अप्ठ्यारो पर्दा उनीहरूकै शरणमा जान्थे। उनीहरूले पनि आवश्यकतानुसार कमला, षोडशी, उग्रतारा, छिन्नमस्ता, त्रिपुरासुन्दरी, बगलामुखी, भैरवी आदि रूपमा प्रकट भई सहयोग पु¥याएका थिए।

वेदमा नारी शक्ति र सत्ताबारे प्रशस्त चर्चा भएको छ। ऋग्वेदले कतै अदितिको कुरा गरेको छ, कतै उषाको कुरा गरेको छ। उनीहरू आफूले मन पराएको पुरुषसित लगन गाँठो कस्नसमेत आफैंले लेखेका मन्त्र पढ्ने गर्थे। ऋग्वेद र अथर्ववेदमा विवाह सूक्त नामक एउटा सूक्त छ, जसका लेखक सूर्यासावित्री हुन्। यही सूक्तका आधारमा विवाहपद्धति बनाइएको हो।

उपनिषद् युगमा पनि नारी शक्तिकै वर्चस्व थियो। एकपटक इन्द्रादि देवताहरू आफैंलाई चिन्न नसकेर हैरान थिए। त्यतिबेला यिनै नारी शक्तिले हैमवती उमाको रूपमा प्रकट भएर चिनाएकी थिइन् (केनोपनिषद् ३/१२)। ‘महिषासुर तथा शुम्भ निशुम्भ आदिबाट सत्ता छिनिएका बेला देवताहरू उनकै शरणमा पुगेका थिए। उनले पनि विभिन्न रूपमा प्रकट भएर सहयोग गरेकी थिइन्। मार्कण्डेय पुराणमा मैले यसको सम्यक विवेचन गरेको छु,’ व्यासजीले तत्कालीन समाजको दर्पण देखाए।

‘अनि त्यतिबेलाका नारीको सामाजिक र व्यावहारिक जीवन कस्तो थियो नि गुरुवर? के गर्थे? कसरी व्यवहार चलाउँथे? यसमा पुरुषशक्तिको भूमिका कस्तो हुन्थ्यो? उनीहरू पुरुषसत्ताबाट कसरी सहयोग लिन्थे? पुरुषसत्ताले कसरी सघाउँथे? मिल्छ भने त्यो पनि सुन्न चाहन्छु,’ रोमहर्षण थप जिज्ञासु बने।

‘मिल्छ, मिल्छ किन नमिल्ने। त्यति बेला उनीहरूले पुरुष शक्तिलाई कठपुतली बनाएका थिए। जे भन्यो, त्यही गराउँथे। यहाँसम्म कि प्रजनन प्रक्रियासमेत उनीहरूले चाहेअनुसार हुन्थ्यो। उनीहरूले जति बेला भन्यो त्यतिबेला, जसरी भन्यो त्यसैगरी पुरुषशक्ति प्रस्तुत हुनुपथ्र्यो।’ व्यासजीले नाक खुम्च्याए।

‘कुनै व्यावहारिक उदाहरण पनि छ कि गुरुदेव?’

‘छ नि, किन नहुने? कति छन् कति।’

‘जस्तै?’

‘जस्तै, यही कि एकपटक कश्यप प्रजापतिकी जेठी महारानी दितिले साँझ समागमको चाहना गरिन्। यतिबेला यस्तो काम शास्त्रवर्जित छ भनेर कश्यप प्रजापतिले निकै सम्झाए तर उनको केही लागेन र तत्कालै गर्भाधान गरिदिए। फलतः हिरण्याक्ष र हिरण्यकशिपुजस्ता खुंखार दानव जन्मेर तबाही मच्चाए,’ व्यासजीले अमिलो मुख पारे।

‘ओहो! त्यति ठुलो धृष्टता गर्ने हिम्मत कसरी गरिन् उनले? के उनलाई यस्तो कार्य दैवी नियम विपरीत हो भन्नेसम्म पनि थाहा थिएन र?’ रोमहर्षणले जिज्ञासा थपे।  

‘थियो नि किन नहुने। भएर नै भनेकी हुन्।’

‘कुनै त्यस्तै कारण पो थियो कि?’

‘थिएन, नियम मिचेकी हुन् उनले। नियम मिच्नकै लागि यस्तो कुरा गरेकी हुन्। नियम मिच्ने भनेकै सत्तामा हुनेले, शक्तिमा हुनेले हो। अरूले मिचे भने त कारबाही भइहाल्छ नि। सत्तामा हुनेलाई कसले गर्ने? त्यसैले त उनीहरूले जे भन्छन् अरूलाई पनि त्यही गर्न कर लाग्छ। यहाँ पनि त्यस्तै भएको थियो। नारी सत्ता थियो। उनीहरूले भनेको मान्नैपर्ने हुन्थ्यो। विचरा कश्यप प्रजापति यसैको मारमा परेका थिए,’ व्यासजीले सांकेतिक उत्तर दिएर उम्कन खोजे।

‘त्यसो भए नारी शक्तिको स्थान कहिलेदेखि र कसरी खस्क्यो त गुरुदेव? आखिर के कारण थियो त्यस्तो, जसले गर्दा पुरुषसत्ता हाबी हुन पुग्यो? यसबारे पनि जानकारी पाए आभारी हुने थिएँ,’ रोमहर्षणले पन्छिन दिएनन्।

‘आभारी हुनुपर्ने कुरा के भयो र वत्स? यसको कारण पनि नारी शक्ति आफैं हुन्। कहिलेदेखि भयो भन्न त सकिन्न। बिस्तारै बिस्तारै भएको हो। लामो समय लगाएर भएको हो तर खस्काउने काम भने नारी शक्तिले नै गरेका हुन्।

उनीहरूले आफ्नो स्थान छाड्दै गएकाले नै पुरुष शक्तिले उठ्ने अवसर पाएको हो। खाली ठाउँ ढाक्न अर्को आउने प्राकृतिक नियम नै हो। प्रकृतिले खाली देख्नासाथ के गर्छ थाहा छ। सके त झारपात, रुख, बिरुवा, वनस्पति उमारिदेला। नभए घुलोमुलोले भरिदेला। त्यो पनि सम्भव नभए हावा त पक्कै भरिदिन्छ। यहाँ पनि भएको यस्तै हो। नारी शक्तिले स्थान छाड्दै गए। पुरुषसत्ताले हत्याउँदै गए,’ व्यासजीले खुइड्ढय गरे।

‘पुन नारी सत्ता स्थापित हुन सम्भव छ कि छैन ? भए कसरी गुरुदेव!’

‘सम्भव त छ तर ...।’

‘तर, के तर गुरुदेव?’

‘यही कि यसका लागि नारीशक्ति आफैं तात्नुपर्छ। उनीहरूकै कमजोरीले खस्केको हो। अब उठाउने काम पनि उनीहरूकै हो। सके सबै, नसके पनि ५१ प्रतिशत सत्ता नारीले लिनुपर्छ। प्रकृतिमा ५१ प्रतिशत नारीशक्ति छ। यसको अर्थ हो ५१ प्रतिशत सत्ता नारीको हुनैपर्छ।’ व्यासजीले उत्साह देखाए।

‘त्यस्तो नभए के हुन्छ गुरुदेव!’

‘के हुन्छ भन्ने? प्राकृतिक सन्तुलन बिग्रन्छ नि। जब प्रकृति नै असन्तुलित हुन पुग्छ, तब के हुन्छ तिमी आफैं अनुमान लगाउन सक्छौ।’

‘५१ प्रतिशतमा नारी सत्ता हुनेबित्तिकै असन्तुलन छुमन्तर हुन्छ भन्ने पनि त छैन नि, होइन र गुरु?’

‘छुमन्तर नै भन्न त सकिन्न तर के बुझ भने समस्या निम्तिने भनेकै असन्तुलनबाट हो। प्राकृतिक असन्तुलन, सामाजिक असन्तुलन, मानसिक असन्तुलन, व्यावहारिक असन्तुलन। यस्तै यस्तै, बुझ्यौ?’

‘बुझें गुरुदेव।’

यति भनेर रोमहर्षण आफ्नो कामतिर लागे। व्यासजी मध्याह्न स्नानका लागि सरस्वती नदीको किनारतिर हिँडे।

व्यासजीले त त्यतिबेलै ५१ प्रतिशतको कुरा गरेका थिए तर समाज भने अहिले पनि उस्तै छ। लामो सङ्घर्षपछि बल्ल ३३ प्रतिशतको कुरा आएको छ। त्यो पनि कतै कतै मात्र। ३३ प्रतिशतकै कुरा गर्नेहरूले पनि पूर्णतः व्यावहारिक बनाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा व्यास वचनअनुसार ५१ प्रतिशत पुग्न कति बढी सङ्घर्ष गर्नुपर्ला ? स्वतः अनुमान लगाउन सकिन्छ। 

प्रकाशित: १७ चैत्र २०८० १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App