म्याग्दीको सदरमुकाम बेनीबजार त बेलाबेलामा पुगेकै थिएँ। कहिले मुस्ताङ जाँदा बेनीलाई ‘गेट वे’ बनाइयो त कहिले टोड्के जाँदा। त्यसो त, बेनीबजार नै घुम्न भनेर गएको रेकर्ड पनि छ।
म्याग्दीमा धेरै छन् घुम्ने ठाउँहरू। पुनहिल, केभहिल, तातोपानी कुण्ड, टोड्के, झाँक्रीपानी, मोहरेडाँडा, धौलागिरि वेस क्याम्प आदि। करबाकेलीका विषयमा भने झन्डै वर्ष दिनअघि मात्र सुनेको हुँ। त्यो पनि आफ्नै कर्मथलोमा।
एकदिन दिउँसो पत्रकार मित्र अमृत भादगाउँले र करबाकेलीका सामाजिक अभियन्ता चामबहादुर पुन काठमाडौंको सोह्रखुट्टेस्थित हाम्रो पसलमा आउनुभएको थियो। त्यही दिन चामबहादुर दाइसँग चिनजान भयो। र, करबाकेली क्षेत्रको बारेमा सङ्क्षिप्त रूपमा बुझ्ने मौका मिल्यो।
त्यतिबेला चामबहादुर दाइ जीवनकथा लेखिरहनुभएको थियो। पछि काठमाडौंमै उहाँको किताब ‘लाहुरेको सङ्घर्ष’ विमोचन भयो। बिमोचन कार्यक्रममा पुग्दा बल्ल उहाँको योगदानका विषयमा छर्लङ्ग हुने मौका मिल्यो।
उहाँको किताब प्रेरणादायी छ। आफ्ना पितापूर्खाको सम्मान गर्दै उहाँले पुन समुदायको पहिचानका लागि उदाहरणीय काम गर्नुभएको छ। अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा उहाँकै नेतृत्वमा बनाइएका करबाकेली थान, पुन समुदाय सङ्ग्रहालय, सामुदायिक पाहुना घर, ‘करबाकेली इको ट्रेक’ तिनै सत्कर्मका उदाहरण हुन्।
उहाँले पुनका विषयमा अध्ययनमुलक पुस्तक लेख्नुका साथै फिल्म पनि बनाउनुभएको छ।
सुनेको र पढेकोभन्दा आफैं पुगेर हेर्न पाउँदा झन धेरै कुरा बुझिँदो रहेछ। पुस्तक बिमोचनकै दिन ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गर्ने घोषणा भएको थियो। काव्ययात्रीको हुलमा हामी दुई साइकले रञ्जन राजभण्डारी र मैले पनि सहभागिता जनायौं।
कात्तिक १९ गते काठमाडौंबाट हाम्रो यात्रा सुरु भयो। त्यसको भोलिपल्ट अर्थात् कात्तिक २० गते दिनभर हिँडेर काफलडाँडा पुग्यौं। राती पुगेकाले बिहान मात्र त्यहाँको प्राकृतिक, धार्मिक र सामाजिक सम्पदा अवलोकन गर्न पायौं।
कात्तिक २१ गते बिहानै हामीले पाहुनाघरको झ्यालबाटै धौलागिरि हिमालको दृश्यावलोकन गर्यौं। त्यसपछि करबाकेली थान पुगेर त्यहाँभित्रका करबाकेली बाबा र उनको परिवारका प्रतिमा अवलोकन गर्यौं। करबाकेलीलाई आस्थाको फूल चढायौं।
करबाकेली बाबा रहेछन् यस क्षेत्रका पुन समुदायका कुल देवता। त्यसैले चामबहादुर दाइको नेतृत्वमा तिनै कुल देवताको सम्मानमा भव्य थान (मन्दिर) बनाइएको रहेछ।
झट्ट हेर्दा गाउँले घर जस्तो देखिन्छ करबाकेली थान। ढुङ्गा, माटो र काठबाट बनाइएको थान मौलिक छ।
करबाकेली दर्शनपछि हामीले सङ्ग्रहालय हे¥यौं। सङ्ग्रहालय भवनले पनि गाउँले घरकै झल्को दिन्छ। निकै मिहिनेत गरेर त्यहाँ सामान सजाइएको छ। पुन समुदाय र करबाकेलीको अध्ययन गर्नेहरूका लागि सङ्ग्रहालय उपयुक्त छ।
बेनीबजारबाट काफलडाँडासम्मै सडक जोडिएको छ। हामी भने दिनभर हिँडेर राती मात्र त्यहाँ पुगेका थियौं। यिनै चामबहादुर दाइको नेतृत्वमा पुनहिलबाट काफलडाँडा भएर बेनीबजारसम्म हिँड्ने गोरेटोलाई ‘करबाकेली इको ट्रेक’ नाम दिइएको रहेछ।
यस पदमार्गमा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन्। सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन्। सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी छन्।
गाउँलेले हामीलाई महभिरमा पनि भव्य स्वागत गरे। काफलडाँडामा पनि त्यसैगरि स्वागत सत्कार गरे। त्यति मात्र होइन, आफ्नो परम्परागत नाच पुख्र्यौली पनि देखाए। उनीहरूसँगै हामी पनि नाच्यौं।
हामीले पदयात्राको दोस्रो दिन करबाकेली थानबाट फूलबारीसम्म पदयात्रा गर्याैं। फूलबारीको गुराँसे जङ्गल देख्दा चैतवैशाखमा पो पदयात्रा गर्नु पर्ने रहेछ भन्ने लाग्यो!
हामीले तेस्रो दिन फूलबारीबाट पुनहिल, घोडेपानीबजार हुँदै उल्लेरीसम्म पदयात्रा गर्यौं। उल्लेरीबाट जिपमा पोखरा पुगेर बास बस्यौं। काव्ययात्राको पाँचौ दिन हामी काठमाडौं नै फर्कियौं।
यात्रामा नयाँ साथीहरू पनि बनाउन पाइयो। कुमारी लामा, प्रभा बराल, प्रगति राई, अनुपम रोशी जस्ता चर्चित लेखकलाई यही यात्राले चिनायो। हेमन्त विवश, अभय श्रेष्ठ, सागर उदास, तारानाथ पहारीहरूसँग त खप्तड यात्रादेखि नै चिनजान थियो। त्यसैगरी राजकुमार गजुरेल, घनश्याम पौडेल, दिनेशनारायण श्रेष्ठ, सुरेन्द्र राना, भवानी शिलाकार पनि पुरानै साथी हुन्।
काफलडाँडाले मलाई धेरै कुरा सिकाएको छ। मनमा चामबहादुर दाइप्रति अझै सम्मान भाव बढाएको छ। नेपाली समाजमा लाहुरेहरू रिटायर्ड लाइफमा आरामदायी जिन्दगी बाँच्छन् भन्ने भास्य स्थापित छ। चामबहादुर दाइको योगदानलाई नजिकबाट नियाल्दा फरक अनुभूति पाएँ।
बेलायती सेनाबाट रिटायर्ड भएको मान्छे, त्यो पनि बुढ्यौलीमा परिवारलाई उतै छाडेर जन्मथलोको सेवामा खटिनुभएको छ। लाग्छ उहाँको शब्दकोषमा ‘रिटायर्ड’ भन्ने शब्द नै छैन।
नेपाली समाजमा एउटा भनाई प्रचलित छ, ‘पितृ देवोः भव’ । करबाकेली थानमा पुगेका बेला मैले यो भनाई सम्झिएँ। चामबहादुर दाइहरूले पितापुर्खालाई सम्झेर काम गर्नुभयो। त्यसैले उहाँको शिरमा करबाकेली बाबाको आशीर्वाद छ।
चामबहादुर दाइकै सोच, नेतृत्व र गाउँलेको मिहिनेतका कारण काफलडाँडा पर्यटन गन्तव्य बन्न पुग्यो। हामीले उहाँबाट प्रेरणा लिनुपर्छ।
काव्ययात्राबाट फर्केपछि बारम्बार मनमा प्रश्नहरूका छाल उठिरहेका छन्, ‘हामीले आफ्ना पितापुर्खाको सम्मानमा कति काम गर्यौं? जन्मथलोको विकासमा कति योगदान पुर्यायौं? समाजको विकासमा निस्वार्थ भएर केके गर्यौं?
प्रकाशित: १३ चैत्र २०८० १२:०० मंगलबार