१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ। अरब राष्ट्रमा निर्मित विश्वको ठूलोमध्येको हिन्दु मन्दिरमा दैनिक सात लाखसम्म पर्यटक पुग्ने गरेका छन्।

बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले करिब ११ हेक्टर जग्गामा सात सय करोड भारु खर्च गरेर निर्माण गरेको मन्दिरमा भारतीय र नेपालीसहित विश्वभर रहेका हिन्दुहरू पुग्ने गरेका छन्। मन्दिरमा दैनिक एक लाखभन्दा बढी धार्मिक पर्यटक पुग्ने गरेका छन्।

मन्दिरको प्रवेशद्वारदेखि मुख्य मन्दिरसम्म व्यवस्थित छ। मन्दिरभित्रका मूर्तिहरूको तस्बिर र भिडियो लिन निषेध गरिएको छ। मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ। मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ। हिन्दु मन्दिरमा दर्शनका लागि पुगेका यूएईका नेपाली व्यवसायी प्रकाश कार्कीले मुस्लिम देशमा हिन्दु धर्मको उच्च सम्मानको नमुना भएको बताए।

‘यूएई सरकारले विश्वमा एकपटक घुम्नैपर्ने गरी पर्यटनलाई जोडेर संरचना बनाइरहेको छ, ‘हिन्दु मन्दिरले विश्वभरका हिन्दु पर्यटकलाई आकर्षित गरेको छ’, उनले भने।

यूएईमा रहेका नेपाली, भारतीय अन्य देशका हिन्दु धर्मावलम्बीसमेत मन्दिरमा पुग्ने गरेर र तेस्रो देशबाट समेत पर्यटक आउने गरेकाले मन्दिरमा दैनिक भीड लाग्छ। मन्दिरभित्र करिब डेढ घन्टासम्म अवलोकन गर्न मिल्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको फागुन महिनाको पहिलो साता मन्दिर उद्घाटन गरेका थिए।

मन्दिर निर्माणका लागि यूएईका राजा शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका थिए। मन्दिरका मूल पुजारी ब्रह्मविहारीदास स्वामी छन्। यूएईमा रहेका म्याग्दीका सुवास राम्जालीले पर्यटनमा यूएईले पछिल्लो एक दशकमा धेरै फट्को मारेको बताए।

उनले धार्मिक, जल, जमिन र आकाश प्रयोग गरी पर्यटन क्षेत्रमा यूएईको प्रगतिलाई नेपालले समेत सिको गर्न सक्ने बताए। मन्दिर क्षेत्रमा काम गर्ने नेपालीले समेत दैनिक आउने पर्यटकको संख्या लाखभन्दा बढी रहेको बताउँछन्। भारतबाट सात पुजारीसहित प्रधानमन्त्री मोदी आबुधाबी पुगेका थिए। हिन्दु र मुस्लिमबीचको सम्बन्ध सुधारमा समेत सघाइरहेको त्यहाँ पुग्ने भक्तजनको भनाइ छ।

मन्दिर प्रवेश निःशुल्क छ भने मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाका लागि खेल्ने स्थानलगायत सुविधा पनि छन् भने उद्यान, वाटर फिचर्स र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन्। त्यहाँभित्र खानाका परिकार, लुगा पाइन्छ।

यूएईमा पहिल्यैदेखि थप दुई हिन्दु मन्दिर भए पनि यो सबैभन्दा ठूलो मन्दिर  हो। मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकका रुपमा लिइएको छ। मन्दिरमा हिन्दुबाहेक मुस्लिम र अन्य धर्मावलम्बीसमेत अवलोकनका लागि जाने भएकाले सद्भावको प्रतीक भएको र सबै धर्म मान्नेका लागि खुला गरिएको बीएपीएसले जनाएको छ। अन्य नयाँ संरचनासमेत निर्माणाधीन अवस्थामा रहेकाले अगामी वर्ष थप सुविधा हुने बताइएको छ।

मूल मन्दिरभित्र सिसी क्यामेरा जडान गरिएकाले भिडियो वा तस्बिर लिएमा तत्कालै नियन्त्रणमा लिएर कानुनी कारबाहीसमेत गरिन्छ। मन्दिर अभिलेखमा ३० हजारभन्दा बढी पत्थरमा विभिन्न बुट्टा र आकृति कुँदिएको उल्लेख छ। मन्दिरलाई आकर्षक बनाउन भारतको राजस्थानका झन्डै २५ हजार कलाकारले बुट्टा र आकृति बनाएका थिए।

हिन्दु धर्मसँग सम्बन्धित भगवान्को मूर्ति राखिएको मन्दिरमा हिन्दु धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ। मन्दिरपरिसरमा हिन्दु धर्मावलम्बीले मान्ने गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर प्राङ्गणमा तीनवटा सुन्दर पोखरीसमेत छन्।

प्रकाशित: ११ चैत्र २०८० १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App