१) कविता
निरमाया,
भो बस्दिनँ म तिम्रो शहरमा
न हावा न पानी
न माटो न जवानी
न प्रेम न सद्भाव
खाली,
हतारहतार
म मेरो गाउँ जान्छु
खान्छु कलकल मूलको पानी
ताप्छु रापिलो घाम
झुलाउँछु लहलह धान
माटोमा बस्छु
माटोमै खेल्छु
माटोमै मिल्छु।
२) कविता
ऊ भोकले काम्यो
ऊ जाडोले काम्यो
एउटाले
कानमा फलामको
कुन्डल लगाइदियो
नाकमा सुनको फुली
हातमा चाँदीका बाला
अर्काले,
धान विउ राखिदियो
मकै छरिदियो
अनि सुन्तला रोपिदियो
मान्छेहरू भन्छन्
फुलीवाला ठिक हो
किनकि,
हामी फुली हेरेर
सलाम गर्ने बानी परेका छौ।
३) कविता
हामी टाउको काटेर आका हैन ऊ
हामी घाँटी रेटेर आका हैन ऊ
हामी त
मालिकको
खुट्टा मोलेर आका
हामी त दुनियाँको
पसीना खाएर आका
हामी गरिबका आँसु
झारेर आका
र त
हामीलाई सामन्तको
टाउको काट्नेसँग
सारो रिस उठ्छ।
किनकि
स्वतन्त्रता नआएको भा
गरिबका रगत चुस्न पाइन्थ्यो।
४) कविता
बाउले नै राम्रो भनेपछि
बाउले प्रशंसा गरेपछि
के सारो रोइलो है
छोराछोरीको
छताछुल्ल भैसक्यो
मित्र,
तिम्रो नियत
कम्तीमा राम्रालाई
राम्रो त भन।
५) कविता
भ्यूटावर चढेर झरेका
काइँला बालाई सोधें
के देख्नुभो बा
भ्यूटावरबाट
बाले अँध्यारो मुख लाएर
भन्नुभो
खै बाबु के देख्नु र
मैले त
तल जन्तरे बाजेको
चुहिएको छाप्रो देखे।
प्रकाशित: २२ फाल्गुन २०८० ०९:०५ मंगलबार