७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

न काँडा न फूल बाटो उही छ सानु!

गजल

१) गजल

घरी वारि घरी पारि गर्न जानिएन,

घरी सेती घरी काली तर्न जानिएन।

चालढाल देख्दा लाग्छ कैल्यै मर्दैन कि,

जुकाजस्तै अघिपछि सर्न जानिएन।

कस्ले दियो त्यस्तो शिक्षा अचम्म पार्ने गरी,

लेकबेसी हिउँद बर्खा चर्न जानिएन।

मान्नुपर्छ तिम्रो शरीर सबैथोक पचाउने,

छाकैपिच्छे जन्मेर मर्न जानिएन।

२) गजल

कस्ले लेख्छ लुटिएकी ठूल्दिदीको कथा,

सबैसँग छुटिएको ठूल्दिदीको कथा।

हुरी, बतास, आँधी चल्दा पनि नढलेकी,

मकै जस्तै भुटिएकी ठूल्दिदीको कथा।

गाउँघर मेलापात सबै एक्लै भ्याउने,

गिट्टीसँगै कुटिएकी ठूल्दिदीको कथा।

सबैको हाइहाइ त बल-बैंस हुँदा रै छ,

मनमुटु चुटिएकी ठूल्दिदीको कथा।

३) गजल

लुगाफाटा छैन तिमी सुनका कुरा गर्छौ,

गाईभैंसी छैन तिमी थुनका कुरा गर्छौं।

बारी बाँझो छ, खेत बाँझो छ,

सागपात छैन तिमी नुनका कुरा गर्छौं।

न मुर्चुङ्गा न बिनायो न मादल बाँसुरी,

गीत-संगीत छैन तिमी धुनका कुरा गर्छौं।

अँध्यारो छ न दियाे बत्ती न बिजुली,

टेक्ने धर्ती छैन तिमी जुनका कुरा गर्छौं।

४) गजल

न काँडा न फूल बाटो उही छ सानु,

न मलमपट्टी टाटो उही छ सानु।

रगत र पसीनाले लपक्क भिजे पनि,

न गोरु न गाढा राटो उही छ सानु।

मैले शिर झुकाएँ पाउ समाएँ अहंकारीको,

न माया न प्रेम फाटो उही छ सानु।

जहाँ गए नि प्यारो त आमाकै काख हो,

आऊ हराभरा पारौ माटो उही छ सानु।

५) गजल

तिम्रो काख चाहियो नानु बस्नुपर्ने भो,

कि त मेरो मनमा छुरा धस्नुपर्ने भो।

रातमा पनि तिमी हुन्छौ दिनमा पनि तिमी,

बिपनामै अँगालोले कस्नुपर्ने भो।

सबै कुरा भुले मैले तिमीभन्दा अरू,

तपस्वी भै कि त जंगल पस्नुपर्ने भो।

समयले पर्खिंदैन एकपटकभन्दा बढी,

तिम्रो मेरो मायाजालमा फस्नुपर्ने भो।

प्रकाशित: १४ फाल्गुन २०८० १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App