२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्मृतिको डोबमा फुलचोकी यात्रा

यात्रा संस्मरण

कोभिडले विश्व आक्रान्त छ। नेपाल पनि यस महामारीबाट अछुतो थिएन। कार्यालयहरू प्रायः बन्द। देशैभर लकडाउन थियो। गाउँमा हामी थुप्रिएको पनि धेरै भो। उद्धव भाइहरूले योजना बनाएका रहेछन् फूलचोकी जाने भनेर। मलाई अघिल्लो दिन साँझ फोन आयो। कहीं जान नपाएर  उकुसमुकुस भैरहेको थिएँ। उनीहरूको यात्रामा म पनि सरिक हुने जानकारी गराएँ।

बस्दाबस्दा कुँजोझैं भएको शरीर र खुट्टाका पाइतालाहरूले यात्रामा केही भए पनि धर्ती गोडे भने सकस कम होला कि! विहानको भुकभुके उज्यालोमा नै निस्केका हामी। समय आफ्नै लयमा लयबद्ध भएर बग्दै थियो।

यात्रा गर्न पाउँदाका सुखका छर्काहरूले छोएकै छन् मलाई। चिसिएको छ याम ठिहीले छोपेर। तैपनि उत्सुक ह्रदय बोकेर यात्रारत छौं। मसँग छन् सात जना साथीभाइ लिलाप्रसाद सापकोटा, उपेन्द्र तिमल्सिना, रामचन्द्र, आत्मराम, श्याम, उद्धव,विजय र सत्य।

यीमध्ये लिला र उपेन्द्र सिनियर हुन्। रामचन्द्र नजिकका दाजु हुन् भने सत्य मेरो बाल दौतरी। श्याम, उद्धव, प्रकाश र विजय सापकोटा जुनियर भाइहरू। हामी फुलचोकी चढ्दैछौं। पनौती, रयाले हाम्रो थातथलो। यहाँबाट नयाँ विहानीको झिसमिसेमै हामी उक्लिन्छौं। आजको यो योजनाका परिकल्पनाकार उद्धव भाइहरू हुन्। प्रत्येकले झोला बोकेका छौं। दु लिटरका जम्बो कोकका रित्ता बोतल पनि बोकेका छौं। हामीलाई थाहा छ फुलचोकीमा पानीको समस्या हुन सक्छ। केही चामल, कुखुराको तयारी मासु, अचारको निम्ति टमाटर र तिल, सलादका लागि मूला र गाँजर समेत बोकेका छौंं। खाना बनाउन ३ थान भाडाकुँडा,पानीका लागि पेपरको गिलास र खाना खान पेपरको ल्पेट समेत साथमा छ। एकएक वटा लौरा टेकेका छौं।

मूल सडकबाट दायाँ लागेर उक्लियौं चापाँबोट। चाँपाबोट कुनै समय तिमल्सिनाहरूको सानो तर घना बस्ती थियो। तर, भूइँचालोपछि शहर र बजार झर्नेहरू बाक्लिए र यहाँ अहिले दुईतीन घर मात्र तिमल्सिना बस्ती छ।

हामी बायाँतिर अलिकति तेर्सो बाटो लाग्छौं। पर देखिन्छन् निउरेखोलाको आसपासका केही थान घर। यताको प्राकृतिक दृष्यहरू आँखाभरि कैद गर्छु म। केही मानिस दूधका क्यान बोकेर विक्रीका लागि डेरीतिर झर्दै छन्। देव्रेतिर झरे निउरेखोला तर हामी दाहिनेतिरको सिलिङे डाँडातिरको उकालो लाग्छौं। त्यहाँबाट झनै मनोरम दृष्य हेर्न पाइने।

दाहिनेतर्फ तलतिर अविरल बगिरहेको सङ्लो खोला लिलावतीको सफा पानी। लिलावतीपारि हामीलाई एकटकले हेरिरहेको संसारेडाँडा र त्यहाँ हामीले नै बनाएको शहीदपार्क।

एकनास बत्तिसै लहर मिलेका दाँत जस्ता चाक्ला घरहरू भएको पुराना भोटेगाउँ। शहीदपार्कको सिधा तल खम्बालेको बन। अनि अलिक पर देखिएको लिलावती खोलापारिको लामदुवाली फाँट। अझ माथितिर हेर्छु  रयालेको सुन्दर बस्ती पारितिर फलामे गाउँ। फलामे गाउँका घरहरूको साइज एकनास जस्ता लाग्छन् र छानो निलो जस्तापाता लगाइएका छन्।

२०७२ सालको भूकम्पले फलामे गाउँका घरहरू भग्नावशेषमा परिवर्तन भएपछि कुनै दातृ निकायले एकनासका घरहरू पुर्ननिर्माण गरिदिएको हो। म तिनै दृष्यहरूमा मग्न भएर रमाइरहेको छु। साथीहरू अघि बढी सकेछन्। रामविर तामाङ दाइ आँगनमा दाँत माझ्दै गरेका देखिए। उनले यात्राको जिज्ञासा राखेकाले मैले फूलचोकीतिर जान लागेको बताएँ। उनले चिया खाऔं न भनेर आत्मीय प्रदर्शन गर्दा साथीहरू अघि गैसके भनेर कृतज्ञताज्ञापन गरेर अघि बढें।

माथि डाँडाको कापबाट फुत्त निस्किएको घामले न्यानो सिंचित गर्यो पिठ्यूँमा। मेरा पाइला अलिक छिटो उकालिए यात्राको पथमा। साथीहरू त भन्ज्याङ शिव दाइको घरभन्दा पनि अघि पुगिसकेछन्।

बल्ल भेटाएँ फरक मार्दै रहेछन् साथीहरू। म पुग्नासाथ अघि बढ्यौं। निउरेखोलाको देब्रेतिर पाटापारेलाई पछि पार्दै हामी अघि बढ्यौं। चिसापानीको तामाङ गाउँ। धारा देखेर हामीले रित्ता बोतलहरूमा पानी भरयौं।

फराकिलो छाती बिछ्याएर बसेको चिसापानीको चौरले हामीलाई स्वागत गर्यो। यहाँ पाँच सय रोपनीभन्दा बढी खाली जग्गा छ। सल्लाका घारी र बुट्यानले घेरिएको चौर। तलको तामाङ गाउँमा पिउने पानीको स्रोत कुवा छ यहाँ।

हामी अब ठाडो उकालो चढ्छौं। जताततै छरपष्ट छ विहानीको शीत। हाम्रा जुत्ता पूरै शीतले भिजेका छन्। चरीहरूको सुरिलो गीत र सङ्गीतले स्वागत गर्दै मनमोहक बनायो हाम्रो यात्रा। रूखबुट्यानका शीत पनि झर्दैछ जमिनमा। सायद हर्षविभोर छन् यिनीहरू हामीलाई भेट्दा। अलिक पर सल्लाका ठूलाठूला रूखहरू ढालिएका छन्। काठ तस्करी भनेकै यही होला। नियमन गर्ने निकायको निगरानी नहुँदा वन मासिंदै छ।

अहिले साँगुरो बाटोतिर छौं हामी। गफिंदै उकालो चढ्दैछौं। उकालोमा खुट्टाले पनि नजानिदोसँग ब्रेक लगाउँदो रहेछ। उषाको लाली जंगलभर फैलिएको छ। माथितिर हेर्दा नीलगगन छोइएला कि जस्तै नजिकै देखिन्छ। तर, यथार्थ कहाँ त्यस्तो हुनु त्यो त कहाँ हो कहाँ हामीबाट धेरै टाढा छ। मभन्दा अघि छन् रामचन्द्र र आत्मराम। म तिनका पदचाप पछ्याइरहेको छु।

एउटा दुष्ट काँडाको हाँगो अगाडि उभिएको रहेछ। आत्मरामले त्यसलाई जबरजस्ती भाँचेर पन्छाउँछन्। यहीं त हो काँडेघारीको यात्रा। यही त हो दुःखभित्र लुकेको सुखद यात्रा।

श्याम बा जो हामीभन्दा उमेरमा भाइ छन्,नाताले सबैका काका पर्छन् उनी प्रत्यक्ष प्रसारण गर्दैछन् हाम्रो यात्राको, ‘आत्मराम दाइले बाटोमा उभिएको अवरोध बडो गजबले हटाउनुभयो। त्यसपछि रामचन्द्र दाइ र प्रदीप दाइ अनि सत्य दाइ। विजय र उद्धव पनि पछिपछि छन्। रमाइलो छ हाम्रो यात्रा। आज हामी केही थान मनुवा रहर गर्दैछौं फुलचोकी पुग्ने। दाजुहरू उकालोमा स्याँस्याँ गर्दैछन्।’

यस्तैयस्तै।

यतिखेर उकालो तर पातलो जंगलको बिचबाट हाम्रो यात्रा गुज्रँदैछ। केहीबेरमा अलिक तेस्रो तर खुला ठाँउ भेटिन्छ। यसो हेरेको देब्रेतिर नागी डाँडा शिर झुकाएर मौन मुद्रामा एकटकले हामीलाई हेर्दै बसेको छ। खोई किन हो कुन्नि! नागीको मौनताको रहस्यबारे म मात्र नभएर सब यात्री बेखवर छन्। हैन मौसम पनि उस्तै धुम्म र उदासी पोतिएको नागी के कारण होला मन जिज्ञासु बन्छ।

म यसो नियाल्छु। नागीको वरिपरि तलदेखि डोजर गुडाएर घाइते पारिएको रहेछ। नागी आफ्नो अस्तित्वमा आएको खतराले दुःखी बनेको रहेछ। प्रकृतिमाथि मान्छेको कति तुच्छ व्यवहार! भासिएको छ नागी। मान्छे कति स्वार्थी छ है आफ्नो सुख र रूचिअनुसार दोहन गर्छ प्राकृतिक संरचनामाथि! म नागीको दुःखमा दुखित बनेर अघि बढ्छु।

हामी घना जङ्गलको बीचमा छिर्छाैं।

‘थाकियो यार। धेरैपछि यसरी हिंडियो।’ रामचन्द्र दाइले थकित मुद्रामा आफ्नो भाव व्यक्त गरे।

‘पर्खाल चौरमा बसीबसी यस्तो भएको हो। हिंड्ने बानी हुनुप¥यो नि त। साउजी बनेर बसिरहने। अनि..’

आत्मरामले व्यंग्य कसे। सबैभन्दा पातला शरीरका धनी आत्मराम हिंड्न गाह्रो मानिरहेका थिएनन्। पेशाले उनी सवारी चालक तर पनि उनको हिंडाइमा थकाइ देखिएन। भाइहरू राजधानी बस्ने उनीहरूलाई पनि थकाइले गाँजेको प्रष्टै देखिन्थ्यो। म पनि थाकेकै थिएँ।

‘एकछिनचाहिं बसुम दाइहरू।’ विजयले स्वाँस्वाँ गर्दै भने।

हामी एकछिन त्यहीं सिंढीमा थचक्क बस्यौं। सत्यनारायणले फोटो खिच्यो।  

‘अलिक पर गएर बसौं न साथीहरू। त्यहाँ बस्ने ठाउँ रे’छ।’ सानु दाइ (लिलाप्रसाद) ले एउटा टिनको पाताले छाएको पाटी जस्तोतिर औंल्याए। हामी उठेर उनले औंल्याएको ठाउँतिर लाग्यौ। बस्ने पेटी बनाइएको नयाँ पाटीमा बस्यौं एकछिन हामी। घना जङ्गल भएकाले घाम छिर्ने कुरै भएन। ठूलाठूला र बुढा खस्रुका रूख।

मैले हाम्रा आमाहरूले म स्कूले केटो हुँदा खस्रुका सेउला काट्न आएको सम्झें। हाम्रा गाउँका आमा, दिदी र भाउजूहरू यहाँसम्म आएर गाईभैसीका लागि सेउला लिन आउँथे। हामी सघाउन घरदेखि केही माथिसम्म आउथ्यौं र केही मुठा बोकेर घर लैजान उहाँहरूलाई सघाउँथ्यौ। तर मचाहिं विरलै आउँथे। मैले दौतरीहरूलाई पुराना कुरा सम्झाएँ। सबैजना नोस्टाल्जिक भए।

‘हामीले यत्रो बाटो काटिसक्यौं तर कोही भेटिएन है।’

रामचन्द्र दाइ अचम्म मानेर बोल्दै थिए।

‘पहिले पहिले पो तलतिरका सबैजना बन बोक्न आउँथे। अहिले भक्तपूर फाँटको परालले यता आउन छोडे नि। हेर्नुुस् त कति बाक्लो खस्रुका सेउला। जरबुट्टो घारी उस्तै छ।’ उपेन्द्र तिमल्सिनाले प्रत्युत्तर लाए।

प्रकाश भाइले चिन्ता गरे, ‘अब कति वर्ष हो र भक्तपुरको पराल खेप्ने? बस्तीले गरेर भक्तपुरमा धान खेत त विस्थापित हुन थालिसक्यो।’

‘साथी हो! यसरी एकै ठाउँमा बसिरहे त गन्तव्यमा कहिले पुग्ने? अनि कहिले घर फर्कने? लागौं अब उकालो।’

उपेन्द्र तिमल्सिनाले सबैलाई समय बितेको सचेत गराए। हामी उनको पछि लाग्यौं ठाडो उकालो। साँच्चै कठिन भो हामीलाई उकालो चढ्न। उकालोको विचतिर मोटो धोत्रे सल्लाको रूखको फेदमा पूरै ओडार परेको देखेर केटाहरू फोटो खिच्न तम्सिए। आहा! यहाँको बनमा त विभिन्न रंगका गुराँसहरू! मैले त रातो बाहेक देखेको थिइन। यहाँ सेतो पनि देखियो। प्रकृतिको हाँसो र सौन्दर्य  लुकेको छ फुलचोकीमा हरियालीमा सिंगारिएर।

हामी गन्तव्य नजिक छौं। गोदावरीबाट आउने मूलबाटो भेटियो। चिसोको स्पर्श गर्यो मेरो ज्यानले। शैन्य पोशाकमा केही जवान देखिए। नत्र प्रायः सुनसान छ। अबको केही मिनेटमा हामी पुग्दैछौं काठमाडौंदेखि दक्षिणपूर्वमा पर्ने उपत्यका वरिपरिका डाँडामध्येको अग्लो डाँडा फुलचोकी। यसको उचाइ २७६२ मिटर छ।

यहाँ नेपालमा पाइने  पुतलीका सबै प्रजाति, धेरै प्रजातिका चराहरू, चितुवा, मृग, बँदेल आदि जंगली जनावर समेत पाइन्छन्। यहाँबाट तराईको समथर फाँटदेखि हिमाली श्रृंखला समेत देख्न सकिन्छ। मलाई फुलचोकीको उचाइ बाँच्न मन छ। उपत्यका वरपरका सबै ठाउँ नियाल्छ यो। तर म त्यो उचाइमा कहाँ बाँच्न सक्नु। आह्रिस लाग्छ बाबै मलाई उसँग।

हाम्रो यात्राको लगाम आर्मीको क्यान्टिनबाट अघि बढ्छ। सोधपुछ भयो सुरक्षा निकायबाट। हामी मन्दिर जान माथि चढ्यौं। नेपाल टेलिभिजन र दूरसञ्चार संस्थान प्राधिकरणको गगनचुम्बी टावर पनि रहेछ त्यहाँ। फलामखानीका लागि प्रख्यात ठाउँ हो।

 पहिले नेपालकै सबैभन्दा ठूलो फलाम खानी थियो यहाँ। तर अहिले त खानी बन्द छ। हामीले फुलचोकी माईको दर्शन र पूजाआजा आआफ्नै ढंगले ग¥यौं। हरेक वर्षको चैत्रको पूर्णिमामा यहाँ मेला लाग्छ। जाडोमा यहाँ हिउँ पनि पर्छ। हिउँसँग खेल्न शहरदेखि मानिसहरू आउँछन्।

हामीले सामूहिक केही स्न्याप फोटो लियौं। मध्यान्ह प्रहर छ, प्रखर घाम लाग्ने बेला पनि चिसो सिरेटो चलेको छ। मैले वरपरको दृष्यापान गरें। आहा, माथितिर फर्केर हेर्दा नीलगगन नजिकै देखिन्छ। उत्तरतिर काठमाडौ उपत्यकाको अव्यवस्थित घरहरू। दक्षिणतिर घना बन। पूर्वतिर हाम्रो गाउँ। मैले मेरो घर ठम्याउने कोसिस गरें तर सकिन।

 मेरो घरपारिको घटेरागाउँ र पोखरीचौरचाहिं पहिल्याँए। धेरैबेर बस्यौं। चिसो मुटु नै हल्लिने। तर ती प्राकृतिक दृष्य जो पायो उसले कहाँ अवलोकन गर्न पाउँछ र! यहाँ विभिन्न जातका गुराँसहरू पाइने राता मात्र हैन सेता पनि। अनि प्याजी रङका पनि। सल्लाका विभिन्न प्रजाति पनि देखिएका छन्।

हाइकिङ रूट पनि रहेछ यहाँ। पर पारितिर हेर्दा कुहिरोले घुम्टो ओढाएको छ नव विवाहिता दुलहीलाई जस्तै। आफ्नै वरिपरिको प्राकृतिक सौन्दर्यहरूको सम्झना भुल्न नसकिने छ।

यहाँ थुप्रै किसिमका जडिबुटीको बास छ। स्वच्छ मन र पवित्र तन लिएर उभिएकी छे फुलचोकी। यसका पाखामा सुनखरी फुल्छन्। शान्त सौम्य र सुन्दर छे। चिन्ता गर्छे उपत्यकाको प्रदूषण देखेर ऊ। वर्षाैंदेखि एकनास छ उसको मौन हेराइबाहेक केही गर्न सक्दिनँ। कोहीकोही उसको दर्शन गर्ने नाउँमा यहाँ आउँछन् मनुवा। अनि उसैमाथि फोहोरको डंगुर थोपरिदिन्छन्। बदला लिन्न ऊ ती स्वार्थी मनुवाहरूसँग वरू निःशुल्क आर्शीवाद दिन्छे ‘भलो होस्’।

समय चिप्लिंदै गएकाले हामी फुलचोकीमाईबाट विदा भएर तल झर्छाैं। फेरि अलिक घना जङ्गलको भित्र समथर परेको अनि अलिक खुला ठाउँ रहेछ। खाना बनाएर खान सजिलो होला भन्ने ठानेर त्यहीं छिर्छाैं। थकान र भोक दुवैले सताएको छ हामीलाई। चुलो बनाउन थाल्यौं कोही। कोही दाउराको जोहो गर्न, म पनि त्यही मिसिएँ।

यामानका पाइलाहरूको डाम देखिन्छ जताततै हामीले पक्कै पनि यो बँदेलको हुनपर्छ भन्ने अनुमान लगायौं। बँदेलले हाम्रातिर नि किसानहरूलाई दिनसम्म दुःख दिएको छ। बालीनाली खत्तम बनाएको छ।

दाइ लिला र भाइहरू भान्साको जोहो गर्दैछन्। हामी गीत गाउने तथा ख्यालठट्टा गर्दैछौ। हामी उन्मुक्त छौं। कोभिडको मतलव छैन। आफ्नै संसारमा रमाउँदैछौ,चरीहरूको चिरविर सुन्दै। अघि भोक र थकानले ओइलाए पनि हाम्रो शरीर छिट्ट हराभरा भयो। स्फूर्तिको संचार जागृत भयो। सबै आआफ्नै धुनमा छौं। थकाइ मेटाउन ल्याएको शराव रूच्नेले लिनुभयो। नरूच्नेले साथ दिनुभो। जङ्गलमा चरीहरूको चिरविराहटसँगै विभिन्न किराले पनि संगीत भरेको सुन्न सकिन्छ। विशाल रूखहरू पनि रमाइरहेका छन् हामीसँगै।

खाना तयार भयो। दाइहरू उपेन्द्र र लिला तथा भाइहरू विजय र उद्धवले खाना पस्किए। हामीले बनभोज खायौं। भोक मीठो कि भोजन! त्यस्तै मीठो भो आजको खाना। रमाइलो भयो आजको दिनको यात्रा।

प्रकृतिपूजक मान्छे म जङ्गललाई माया गर्छु। पहाडलाई माया गर्छु। अनि यो विषम भूगोललाई उत्तिकै माया गर्छु। त्यही भएर होला ती रूखहरूले क्वारक्वार्ती हेरिरहेका छन् मलाई। तिनका सजल नेत्रहरूले नियालिरहेका छन् हाम्रा गतिविधिहरू।

खाना खाइसकेपछि भाँडाहरू बटुलेर राख्छौं बोरामा। कागजका गिलास र प्लेटहरूलाई त्यही आगोमा सुरक्षित ढंगले समाधिस्थ गर्छाैं। अनि त्यहाँबाट विस्तारै झर्छौ।

अरूलाई के गर्याे कुन्नि थाहा भएन, चिसो बतासको एक झोक्काले हान्यो मलाई। आत्मरामले खरबुट्टाका झाँङहरू फैलिएको देखेर एक भारी काटेर लाने त प्रदीप भनेर मलाई सोधे। मैले आफ्नो घरमा बस्तुभाउ नभएको बताएँ। हामी ठट्टा गर्दै बाटोको दुरी घटाउँदै छौं।

यात्राको मज्जै यही हो। प्रकृतिको सुन्दर रंगरूप र सौन्दर्यको रस्वादान आहा! नयाँ दृष्यमा कौतुहलता र त्यसले मनमा दिएको आनन्द यात्रा नगर्नेलाई के थाहा! अझ यसमा प्राकृतिक सौन्दर्यको वर्णनलाई जीवनसँग तारतम्य मिलाएर यात्रा तय गरियो भने त्यो यात्रा शब्दमा वर्णन गर्न सकिने होला त! पारिलो डाँडामाथि सर्दै सर्दै गयो सूर्यको लालीमा पनि। हामी भने ओरालो झर्दैंछौ विस्तारैविस्तारै। घर पुग्दा साँझ निक्कै गहिरिसकेको थियो।

प्रकाशित: १३ फाल्गुन २०८० ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App