७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

आउनुहोस्, हामीचाहिँ भिसी नै खाऔं !

सिसी लडाउनुपर्ने यो झरीबादलले धाम्मधुम्म जाडो बेला कताको भिसी पद उडाउने बाउँठो कुरा गर्छ यो पड्के भन्नुहोला। कुरा बुझेर या नबुझेर भन्नू नभन्नू, तपाईंको मनचिन्ते मर्जी।

यसमा खासै लाग्दैन कतैबाट बाध्य बनाउने अर्जी तर खाली सिसी र हृष्टपुष्ट उप्रीथुप्री भरिभराउ भिसीमा कसरी तुलना हुन्छ भन्नुहोला। कुराको पिँधैमा सनेसो गाडेर उधिन्नुहोला तर त्यो के हो जस्तो लाग्छ भने बुद्धि, विवेक र अनुभवको ह्याङओभरले दिमागमा गोबर भरिएका रागेपाटे विद्वत्जनबिच यो घुरानका र त्यो रछ्यानका भन्नेमा खासै फरक छैन हिजोआज।

यस्तै भिसी–रेक्टर आदिका प्रभावले शिक्षाको गुण र स्तर वृद्धिसँगै बौद्धिक समृद्धि पनि बढेकाले यो तहमा पुगिएको हो र अलि प्रतिभाशाली युवा वर्गजतिलाई सात समुद्रपार लखेट्ने काम सफलतापूर्वक सम्पन्न बन्दै गएको हो भन्ने कुरा सभ्यभव्य नेपाली जनताले किमार्थ भुल्नु हुन्न।

कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो। ज्यान बाजी राखेर शत्रुलाई छिमल्ने, छास्ने, गिँड्ने बहादुरी देखाएपछि मात्र त्यो उटाम्बरे उपाधि बल्लतल्ल फेला पथ्र्यो तर आज कालक्रमले चोला बदल्यो।

उतिबेला घाँटीमा लगाउने सम्मानको त्यो तक्मा आज आएर थर्की थापेर जमाउने जुवाको खालमा दाउ पार्ने जागिरमा बदलिएपछि भए न त उखपात?

त्यो पनि बाँसको तामा होस् कि धानभित्रको सामा होस्, पाएको कुरा चपाउन बाँकी राख्नुहुन्न भन्ने लुटलाट तन्त्रले मान्छेपिच्छे कान फुकेर नेपालीलाई रनभुल्ल बनाएको बेला छेला हान्न पछि पर्नु भनेको गरी खान नसक्ने लुन्दीमा दरिनु हो। सदाबर्त लगाइदिएपछि फड्के किराको बानी टिपेर कहिले यो पात कहिले ऊ फूल चाख्न पुग्नुपर्छ। अल्छी गरे आफ्नै घाँटीमा पर्नआउला बल्छी।

फट्टिचर अगुवाले बाटो फोहोर पार्दै हिँड्ने गरेको पोहोरपरारदेखि नै हो। तिनै नामका ठुलाबडाले सधैं जनताको गिदीदेखि लिदीसम्म खाइखेली गर्न पल्किएको यो धरधाममा आफू मात्र टाउकामाथि फलेका फुरौला छाडेर लुरेलारे हराम बन्नु यथोचित नहोला। अरूले जे खान्छन् खाऊन्, हामी चाहिँ भिसी नै खाऔं।

भनाइ यति मात्रै हो। विश्वविद्यालयजस्तो महान् ठाउँको सदाबर्त भण्डारा खुलेको कुरा थाहा छैन कि क्या हो? यति बेला पजनीको खेला भुलेर अन्त डुलिहिँड्ने बानी चट्टै छाडेर ध्यानमग्न बनौं। अनि ध्यानस्थ अर्जुन बनेर विधाताको धामतिर कुइँचमार ठोक्नु ठुलो काम ठहर्ने छ, किन त भन्दा भिसी नपाएसम्म शान्त नहुने बरु उल्टै उन्माद चढ्ने र धामीमात लाग्नेगरी आङमा काँचो वायु चढेको बेला यताउता लाग्नु भनेको भाग्यको किलोदाम्लो चुँडालेर आफ्नै कुबुद्धिले भित्तापाखातिर बुर्कुसी मार्नुजस्तै न हो?

त्यसमा पनि ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ भन्ने खाटी कुरो पहिल्यैदेखि चलिआएकै हो। देशकै नामी–सुनामी विश्वविद्यालयमा भिसीजस्तो पदको विज्ञापन भएकाले यो अभूतपूर्व सुअवसरलाई थर्की थापेर बर्को ओढेर छक्कापञ्जा कुन कुन दाऊ हानेर हुन्छ जसरी हुन्छ भजाऔं। यहीं फल्छ मेवा, मिठो मसिनो खोज्दै अन्त नजाऔं। गए पनि केही समयका लागि उताको ग्रिन कार्ड छोडेर यतै आसन जमाऔं।

तपाईंहामी जस्ताका कुलीन घरानिया विद्वत्जनको दिन अहिले नखुले कहिले खुल्ने? भन्नेतिर ध्यान लगाऔं। कुण्डको पानीभन्दा हाम्रो चरुवा बनी र चपर्चण्ड बुद्धिले तीनतिर्लोक चौधै भुवन छान मारी गरेर प्राज्ञिक क्षेत्रलाई युगानुकूल प्रगतिपथमा लैजाऔं। कोही पत्याउँदैन भने आफ्ना काम कर्तुतको बखान छाँटेर आफैं भरोसा दिलाऔं।

कुनै जातजाति धर्म विशेषका सभासमारोहमा गएर उनै उनैका नाममा कलेज, महाविद्यालय जे जे माग्छन्, बाँड्दै हिँडौं। माग जायज भन्ने भरोसा दिलाऔं। ताली पड्काएको सुनेकै भरमा आङमा चढेको काँचो वायु तह लगाऔं।

यो देशका प्राध्यापक–डाक्टरहरूमा खुबी मानिएको प्राज्ञिक चोरी मात्र होइन, आर्थिक अपचलनका लोरी सुनाउन पनि नभुलौं। नानाथरी स्वर तानेर, चिच्याएर भाका हालेर सुनाऔं।

कति ठाउँका कुन कुन अनुसन्धानकर्ताका पुस्तक–पात्रा सारेर डाक्टर बनियो अनि कति प्रकारका प्राध्यापक–डाक्टर बनियो, त्यो कुरा अझ कमै राखौं।

गैरकानुनीधन्दा गर्दै दाम बजाउँदै गरेका लोभलाग्दा इतिहासको उखाने शैलीमा बखान छाँटौं। विद्वत्जनका वर्षौंसम्म अनुसन्धानबाट तयार भएका कृतिमाथि प्रीति गाँसेर लामो हात गर्न निरन्तर अभ्यस्त हामीजस्ता बनाइएका प्राज्ञले अर्नाको बानी टिपेर फत्ते गरेका आफ्ना सत्कर्म र प्राज्ञिक सोपानका धरोहर देखाएर जनता नाउँका चराचुरुंगीलाई विश्वसनीयताका लालीफाहाले चिरिच्याट्ट सिँगारौं।

अबचाहिँ आजभोलि नै प्राज्ञिक क्षेत्रले जादुको छिरबिरे नयाँ बर्को ओढेर थर्की उचाल्ने कुरामा ढुक्क बनाऔं। मान्छेको मति नबिगारौं। हामी भिसी भएपछि एउटै नेपाली बाहिर पढ्न नजाने परिकल्पनाको खास्टो ओढाऔं। कुरो नै जो छ सो चलिसकेपछि हामी पनि कलियुगी तपस्यामा आँखा चिम्लिएर किन घुँडा नधस्ने त?

एक किसिमले भोकाएका बाघ न ठहर्‍यौं हामी पनि। मोटोघाटो, खिरिलो, भरिलो सिकार अगाडि देखेपछि हलचल नगरी मनले कल्पिएर मात्र कसरी बस्ने त? अरूका कुरा छाडिदिऊँ। ककसले के खान्छन् खान दिऔं। कोही मन्त्री खालान्, कोही सचिव खालान्, कोही बालुवाटार खालान्, कोही जुत्ता कारखानामाथि कुत्ताशैलीमा जाइ लागेर चपाउलान्, कसैले चिया बगान बगाउलान् भने कसैले प्रेस, कम्प्युटर, ल्यापटप के के खान्छन् खाऊन्।

समाजवाद–साम्यवाद उन्मुख व्यवस्था भनिएकाले वन, बालुवा, गिट्टी, अलकत्राको हलुवा बनाएर जजसले जे जे खान्छन्, खान दिऔं, वास्ता नगरौं। बरु मलुवा तालले प्रशंसा गरेर प्रशस्तिका पाना भरौं। सुशोभन सम्मान समारोहमा गानाबजानासहित पगरी गुताएर सम्मान गरौं। प्राज्ञिक क्षेत्रका भेट्रान हामी।

अनुभवका बाढीपहिराले पूरापूर पुरिएकै छ हाम्रो दिमाग। अनि भिसी नै नखाएर के खाली सिसीको बास्ना खाने या कुरिराख्ने त सानातिना झिँगे भुसुने विभाग? पछि तिनै पनि नपाए पन्चड हुन बेर लाग्दैन दिमाग? त्यसैले पनि आउनोस् हामीचाहिँ भिसी नै खान जाऔं। त्यहाँभन्दा तलका रेक्टरसेक्टरका फ्याक्टर अनि डिनसिनजस्ता र थोत्रा टिनको कुरै छोडौं।

प्रिन्सिपल, फेन्सिडिल या विभागे प्रमुख या भागबन्डे उपर प्रमुखजस्ता झिनामसिना कुराको चाहिँ टाउकै पाए पनि नसमाऔं। समाउनै परे आफ्नै जाँगेको इँजार कसिलो तालले समाऔं अनि आफू टसमस नहुनेगरी हनुमाने पाइला जमाऔं। गोलखाडीमा अररिएर जमेका पाइला यताउता हुन नदिई मरमसला घोलिएर तयार भएको बज्रचट्टानकै रूपमा ठड्याऔं।

भिसी पदलाई कतै जान उम्किन नदिएर भीमसेनले साँढेको पुच्छर समाएझैं दह्रो तालले समाऔं अनि भीमसेनपातीको टीकाप्रसाद बनाएर लगाऔं। बस कुरो खत्तम!

प्रकाशित: १२ फाल्गुन २०८० ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App