९ वैशाख २०८१ आइतबार
कला

“प्रकृति”भित्र पसेर वनमान्छेका कामलाई मनले छाम्दा

पुस्तक

“आज जिल्लाबाट रेन्जर आउँदैछ अरे, वन रक्षक (फगा-Forest Guard) ले भनेको।  धेरैतिर गस्ती गर्छन् अरे, अलि चनाखो हुनुपर्छ है। घर बनाउने एकदुईवटा लकडी र दाउरा ल्याउन पनि कस्तो सास्ती हामीलाई। काठको तस्करी गर्नेलाई मिलेमतोमा छाडिदिन्छन् तर एउटा वासको जोडजाम गर्नेलाई पकडेर जरिवाना गर्छन। जरिवाना तिर्न नसके मुद्दा लाएर फसाइदिन्छन्”आदि वनका कर्मचारीले दुःख दिएका कुराहरू सानैदेखि सुनेकाले वनका मान्छे भनेका गाउँलेलाई सधैं हाउगुजी हुन, यिनीहरू र पुलिसमा केही फरक छैन। यिनीहरूबाट परै बस्नुपर्छ भन्ने लाग्थ्यो मलाई।  

त्यतिबेला मोरङ जिल्लाको वन कार्यालय विराटनगरमा थियो। गाउँमाचाहिं सधैं फगा मात्र बस्थे। मोरङ र सुनसरीको आसपासमा रहेको चारकोसे झाडी लगातारको फँडानीले एक कोष पनि बांँकी नरहेको कुरा बुवाले अरूसँग भनेको सुन्थें।

बाटाको छेउमा हाम्रो घर अझै छ। रातभरि गोरू गाडीको “चुइँचुइँ” आवाज आउँथ्यो। बिउँझेको बेला बुवाले गनगन गरेको सुन्थे, “पापीहरूले जंगल सबै सके, अब केके हुने हो, अतिवृष्टि अनावृष्टि। पानी नपरेर भोक भोकै पो मरिने हो कि?” तर के भन्या होला बुवाले म बुझ्दिनथेँ।

२०३६ सालको जनमत संग्रहपछि जंगल धेरै नै मासिएको अरे, गाउँघरमा भन्थे। त्यहाँका रूख कता गए, रूख बेचेर को मोटायो त्यो त थाहा भएन तर दिउँसै बाघ कराउने चारकोसे झाडी रातारातको काठ तस्करीले हेर्दा हेदै उजाड भएको अरे।

आफू अलिअलि बुझ्ने हुँदा वनका कर्मचारीहरू कहिल्यै किसानहरूको नजिक भएको थाहा पाइनँ। बरू कृषि विकास बैंकले भने प्रत्यक्ष रूपमा किसानलाई सहयोग गरेका थियो। स्थानीय साना किसानले जग्गाजमीन धितो राखेर किसानलाई ऋण दिने गर्थ्याे। त्यो ऋणलाई बाँध पैनीको निर्माणमा लगाएर किसानहरूले आफ्नो जीवनस्तर केही उकासेका पनि थिए। साना किसानले स्थानीय अगुवा किसानहरूलाई विभिन्न भ्रमण जाने अवसर पनि दिन्थ्यो। त्यस्तो अवसर पाउँदा  स्थानीय गाउँलेहरू नेपालका विभिन्न जिल्लाको भ्रमणमा जान्थे। भ्रमणमा जाँदा उन्नत जातको खेती देखेर फर्के पनि आफ्नो गाउँमा पनि मानो रोपेर मुरी फलाउने सपना देख्थे किसानहरू र फलाउँथे पनि।

यस्तै भ्रमणको सिलसिलामा कतैकतै सामुदायिक वन लगाएको देखेकाले हाम्रो गाउँ अर्थात् सुन्दरपुरको मासिएको जंगल फेरि फिर्ता ल्याउन किसानहरूले सामुदायिक वनको अवधारण ल्याएर आफनै रेखदेखमा केही केही विरूवा लगाएका थिए।

वनका कर्मचारीहरू संलग्न भएको त थाहा पाइनँ। तर, गाउँलेहरूले आफै रेखदेख गरेका छन् भन्ने कुरा म सुनिरहन्थेँ। मेरो बुवा पनि अग्रणी किसानको रूपमा जिल्लाभरि चिनिनुभएको थियो, जसले कतै घुम्न गएका बेला देखेको खेतीलाई आफ्नो गाउँमा लगाउन अरू किसानलाई प्रेरित गर्नुहुन्थ्यो। सामुदायिक वनमा पनि बुवाको संलग्नता धेरै थियो।

म विद्यालयमै हुँदाको कुरा हो, एकपटक सबै किसानले आआफ्नो खेतको आलीमा सिसौका विरूवा रोप्नुपर्छ भन्ने अवधारण आयो। सायद त्यो अवधारण वन मन्त्रालयबाटै आएको हुनुपर्छ। सिसौ चाँडो बढ्ने हुनाले एक त सिसौको काठ महँगोमा विक्री गर्न सकिने र अर्काे केही मात्रामा भए पनि वातावरण जोगाउन मद्दत गर्ने कुरा विरूवा रोप्न प्रेरित गर्नेले सुनाए।

यो कुरा सुनेर किसानहरूले आआफ्ना खेतका कान्ला र आलीमा सिसौका विरूवा रोपे। हेर्दा हेर्दै सिसौ हलक्कै बढे पनि। सिसौ बढेको देखेर किसानहरूका आशा पनि हल्लकै बढे। तर, सिसौका जरा बढ्दै गएपछि आलीमा मात्र सीमित भएनन्।

सिसौका जराले खेतमा ठूलाठूला प्वाल पारेर खेतमा पानी नअडिने समस्या निस्कियो। पानी नअडिएपछि खेतमा उब्जनी कम हुँदै गयो। तैपनि किसानहरूले बढेका सिसौमाथि ठूलो सपना देखेका थिए। तर पछि ती विरूवामा रोग आयो र ठाडै सुकेर एकपछि अर्काे मरे।

नयाँ अवधारण ल्याउँदा केही गरी रोपेका विरूवामा रोग लागे भने के गर्ने भन्ने कुरा नसिकाई विरूवा रोप्न उक्साउँदा किसानहरू दोहोरो मारमा परेका थिए। एकातिर खेतका आलीमा लगाएका सिसौ मर्नु अर्कातिर सिसौका जराले खेतमा प्वाल पारेपछि पानी नअडिएर उत्पादनमा ह्रास आउनु, किसानहरूलाई विरूवा रोप्न दुरूत्साहित गर्ने कारण थिए।

दशकौं पछि वनमा काम गर्ने कर्मचारीका लेखहरूको संग्रह “प्रकृति” हातमा पर्‍याे। वनमान्छेहरूसँगको सम्बन्ध राम्रो नभएको छाप सानैमा परेकाले नयांँ के होला र यसमा, सबैले आआफनो डम्फु बजाएका होलान् भन्ने लाग्दा लाग्दै पनि पाना पल्टाएँ।

केही लेखले नजानिदो गरी ताने मलाई। पढदै गएँ, पुस्तकभित्र वनका कर्मचारीहरूले वनका कथा लेख्दा आफ्ना मनका कथा पनि लेखेको रहेछन्, अर्थात् अलिकति आफूलाई पनि लेखेका रहेछन्, जहाँ लेखक कोषौं पैदल हिंड्न नसकेर लडेको र लड्दा लड्दै उठेका कथा छन्, काम गर्दाका दुःखले रोएका र पछि हाँसेका कथा छन्।

लगभग ३ सय पेजको हाराहारीमा प्रकाशित प्रकृतिमा मानव सहअस्तित्वको खोजीमा लेखेका कथाहरू पढेपछि ए‘। मैले सुनेका देखेका भन्दा त वनमान्छेहरूले राम्रो काम पनि गरेका रहेछन् नि र? भन्ने लागेर, मन खुशी भयो। विरूवा रोप्न उत्साहित गराउने वनका कर्मचारीका कथाहरू आफ्नै कथा जस्तै लागे।

म जन्मिएर हुर्किएको ठाउँमा नजिकै वन विज्ञान पढने कलेज थिएनन्। डाक्टर इन्जिनियर भनेको पहुँचबाहिरको पढाइ हो भन्ने लाग्थ्यो। हाम्रा सिनियरहरूको उद्देश्य सके एमएड गरेर कलेजका प्राध्यापक बन्ने नसके विएड गरेर विद्यालयको मास्टर हुने हुन्थ्यो, मेरो पनि त्यही थियो आफूलाई नढाँटी भन्दा। पछि केले क्लिक गर्याे कुन्नि, भूगोल पढ्न पुगें। तर, अहिले राम्रै विषय पढेंछु भन्ने लाग्छ।

“प्रकृति” पुस्तक पढेपछि पो वनसम्बन्धी डिग्री हासिल गरेपछि केही विद्यार्थीले धेरै समय खाली बस्न नपर्ने कुरा थाहा भयो। यसै पनि वन विज्ञान अरू विषय जस्तो छ्यासछ्यास्ती पढाइ नहुने, यसबाट उत्पादन हुने जनशक्ति पनि थोरै हुने हुनाले जागिर पर्खेर बसेको हुने रहेछन् एनजिओ र आएनजिओहरूमा। मेरो विषय वन थिएन तर वनलाई अटाउने भूगोल थियो।

यो पुस्तकका लेखकहरूले काम गरेका थुप्रै आइएनजिओ इसिमोड, युएनडिपी, केयर नेपाल, डेनिडा, डब्लु डब्लु एफका ढोका कुनै बेला मैले पनि ढकढक्याएकी थिएँ। कुनै एउटा मुख्य विषयमा गहिरो अध्ययन नभएर हो कि किन हो जागिर खाने अवसरचाहिं जुरेन। बाटो हिँड्दा तिनीहरूका ठूलाठूला घर देख्थें, जागिर खाने सपना बोकेर अलिकति थुक निल्थें तर कोही चिनेका थिएनन् यसो गरे जागिर पाइन्छ भनिदिने।

नेपाली वर्णानु क्रमअनुसार विषय क्रममा पुराना पुस्तादेखि नया पुस्तासम्मका २७ लेखकको लेखहरू सङगृहीत यो पुस्तकमा उनीहरूका भिन्दा भिन्दै अनुभवहरूले पाठकलाई नेपालका विभिन्न ठाउँका जंगल, पहाड, हिमाल र नदीनालामा डुलाउँछन्।

 विभिन्न सामुदायिक वनमा पुर्‍याउँछन्। लेखहरू पढ्ने क्रममा म कहिले कन्चनपुर, कहिले दार्चुला, कहिले धादिङ, कहिले धनकुटा, कहिले ढोरपाटन त कहिले अन्नपूर्ण बेस क्याम्प हुँदै मुक्तिनाथसम्म पुगेँ। त्यहाँको जनजीवनलाई शशरीर छोएर हिंडेका लेखहरूमार्फत मैले पनि मनले छोएँ। मनले छुने क्रममा घरबाट निस्किएर हङकङ, लण्डन, जर्मनी, क्यानडा र अमेरिका पुगें। ती  लेखहरूले घरदेशको मात्र नभएर परदेशमा फैलिएकोे जंगल, हावापानी र माटोसम्म पुर्‍याए मलाई। निस्वार्थ रूपमा काम गर्न खोज्नेलाई आइपर्ने सरकारी दुःखहरूले पनि विचलित गराउन सक्दा रहेनछन् भन्ने कुरा पढें।

नगन्य मात्रामा भएका महिला कर्मचारीका जाँगरिला लेखहरूले अझै किताबमा सुन्दरता थपेको छन्। आफू पनि महिला भएको र आफूलाई उभ्याउने क्रममा झेलेका विभिन्न समस्या यहाँभित्रका महिलाले पनि झेलेका हुनाले उनीहरूका कथा आफ्ना जस्ता लागे। पढेकामध्ये मलाई छोएका केही लेखका केही वाक्य यहाँ उद्दरण गर्न चाहन्छु:

“कृषिमा काम गर्ने केटा साथी थिए, गाउँलेहरू अक्सर मेराभन्दा धेरै उनका कुरा सुन्न खोज्थे।”-कल्पना घिमिरे

“डिफो साप, मेरो बाबु जन्मेको २ महिना मात्र भयो, केही समय जंगल नपठाउन मिल्दैन र? भनेर आग्रह गरें। उहाँले मिल्दैन? तपाई रेन्जर हुने, कसले सर्भे गर्ने? भन्नुभयो।” -डा.पुष्पा केसी भण्डारी

“मभित्रको वनमान्छे त्यसै दिन मर्‍यो, जुन दिन मलाई काम नगरेको झूटो आरोप लगाइयो, त्यो पनि आफ्नो होइन अरूको अफिसको मान्छेबाट।” -डा. मिरा त्रिपाठी

वनकर्मीहरूलाई साहित्यिक आँखाले हेर्दा पुरूष लेखकहरूको लेखहरू पनि त्यत्तिकै सशक्त पाएँ। जस्तै केही लेखकको लेखबाट साभार वाक्यांशहरूः

“साहित्यमा सामाजिक र वातावरणका सवालमा छलफल गर्न आनन्द लाग्छ। यसमै आफ्नो जीवनको लय भेटिएझैं लाग्छ।” -डा.ऋषि बस्ताकोटी

“मानिसले मानिसलाई मात्र दया, माया, प्रेम गर्नु मात्र मानवता होइन, मानव अस्तित्व राख्न सम्पूर्ण प्राणीप्रतिको दया नै असली मानवता हो। प्रकृति संरक्षण भ्रष्टाचारमुक्त हुनुपर्छ।”-कमलजंग कुंवर

“सामुदायिक वन देवीदेवताको शीरमा जडित सुन वा चाँदीका कहिल्यै खिया नलाग्ने गहना होइन, बरू सही रूपमा प्रयोग गरेमा तिनले तत्काल जीवन ऊर्जा दिन्छन्।”

 -डा.जगदीशचन्द्र बराल

“जीवन सन्जोग नै सन्जोगहरूको एउटा सुन्दर शृङ्खला रहेछ। जन्मनु, पढ्नु, भेट्नु, घुम्नु त्यही शृङ्खलाको निरन्तरता हो रहेछ। त्यसमा कतै राम्रा बिर्सनै नसकिने र कतै सम्झनै मन नलाग्ने क्षणहरू हुँदा रहेछन्।”-मुक्ति गौतम

“आधारभूत तहमै काम गरी भावी पिंढीलाई समेत जलवायु परिवर्तन रोकथामका लागि सचेत गराउन सकियो भने एक सन्तुलित विश्वभावी सन्ततिलाई हस्तान्तरण गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ।” -डा.भरतमान श्रेष्ठ

यस पुस्तकभित्र सृष्टिका हरेक प्राणीलाई माया गर्नु नै साँचो मानवता हो भन्ने लेख छ। नगरेको दोष आफूलाई लाग्दा वनको कर्मचारी हुँ भनेर गर्व गर्ने ठाउँ नरहेको तर पछि आरोप लाउने जेलमा परेपछि फेरि एकपल्ट आफूले आफैलाई छामेको कथा छ। महिलाले पनि गाउँमा गएर पुरूषहरूले जस्तै गाउँलेहरूसँग सहकार्य गर्न सक्छन र? भन्ने सोचाइको कमजोर मानसिकतालाई काम गरेर “सक्छन् किन नसक्नु”भनेर मन जितेको कथा छ।

महिलाले सानो बच्चा घरमा छोडेर काम गर्न जाँदाको पीडालाई घर देशमा कसरी बुझ्छन् र परदेशमा कसरी बुझ्छन् भन्ने कुराको कथा छ। पढ्दै जाँदा अर्काे लेखमा आमा र बच्चालाई प्राथमिकता दिने कुरामा हाम्रो सिकाइ र विदेशीहरूको सिकाइमा कति अन्तर रहेछ छुट्याउन समय लागेन। आफूलाई मन परेका विषय छान्न सक्यो भने त्यसैमा जीवनको सुर ताल भेटिने अनुभवको कथा छ।

चारकोसे झाडी मासिएजस्तो सामुदायिक वनहरू पनि मासिन्छन् रेखदेख नगरे, तिनीहरूलाई बचाउनु नै साँचो अर्थमा हामी बाँच्नु हो भन्ने सन्देश दिने कथा छ। यसो गर्दा राम्रो हुन्छ भन्ने अनुभवी मान्छेको साथ नहुँदा समयले कता हुत्याउँछ त्यतै पछारिन्छ मान्छे, हुत्तिएरै पढन पुगेका वनविज्ञानले जीवनको एउटा मोडमा सन्तुष्टि दिएको कथा छ।

आउने पुस्तालाई सिकाइको फेदैबाट वातावरणसम्बन्धी शिक्षा दिन सके त्यसको असर दूरगामी रूपमा पर्न सम्भावनाको कथा छ। सबै लेखले उत्तिकै तान्दैनन् तर वन जोगाउन गरिएका कामका सकारात्मक पक्षहरू नताने पनि पढें मैले।

भनिन्छ, गाह्रो कुरालाई सजिलो तरीकाले अरूलाई बुझाउने माध्यम साहित्य हो जो आफैमा विभिन्न विधामा फैलिएको छ। साहित्यकार तुलसी दिवसको भनाइ सापट लिंदा अब नेपाली साहित्य विश्वव्यापी भैसकेको छ। जहाँ नेपाली त्यहाँ नेपाल पुगेको छ। नेपाल पुग्दा नेपालीपन र नेपाली मन पुगेको छ।

यो पुस्तकका वनका कतिपय  कर्मचारी स्थापित साहित्यकार भएकाले पनि पुस्तकलाई अझै सुन्दर बनाएका छन्। जसले माटोलाई छोएर लेखेका रचनाहरू मैले धेरैपल्ट पढेकी छु।

“प्रकृति” मा सङगृहीत लेखकहरूका आआफ्ना दुःखसुख जसलाई आआफ्नै तरीकाले लिपिबद्ध गरिएका छन्। प्रकाशकको बढ्दो प्रदूषण न्यूनीकरण गर्ने चाहना पूरा गर्न यो पुस्तकले मान्छेमा चेतना जगाउने छ भन्ने विश्वास मैले लिएकी छु।

यस पुस्तकका संयोजकले भनेजस्तै वन, वातावरण, पर्यावरण, जलवायु परिवर्तन, वन्यजन्तु लगायतमा लेखिने रचनाहरूलाई प्राविधिकहरूसँग मात्र सीमित नराखेर आम पाठकसम्म पुरयाउन जरूरी सम्झेर वन तथा वातावरण समूहले निकालेको यो पुस्तक गाउँघरसम्म पुग्नेछ, देश, विदेशमा देखेका र प्रयोग गरेका नयांँ कुराहरू आम पाठकमा पुग्नेछ र केही मात्रामा भए पनि नेपालको वन लगाउन र जोगाउन सहयोग गर्नेछ भन्ने मैले आशा लिएकी छु।

अग्रजका जीवनका अनुभवहरू नयाँ पुस्तालाई राजमार्ग बन्न सक्छन कि सक्दैनन् त्यो त हेर्न बांँकी नै छ तर गोरेटोचाहिं पक्कै बन्छन। “प्रकृतिः सहअस्तित्वको खोजी” सन्तुलित भविष्यका मार्गदर्शक बनोस्, शुभकामना!

प्रकाशित: १० फाल्गुन २०८० १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App