१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

आउँछु भनी प्रतीक्षामा बसाएर गयौ तिमी!

मुक्तक

१) मुक्तक

घाइते भएको मेरो देशलाई बचाउँ है मिलीजुली,

खाडी हैन देशको रक्षा गर्न युवा पठाउँ है मिलीजुली।

असम्भव भन्ने कुरा केही छैन साथमा साथ भएपछि,

देशको गला रेट्नेहरू सबैलाई समाउँ है मिलीजुली।

२) मुक्तक

मृत्यु र प्राणसँगको युद्ध खेल्नुपर्छ हजुर,

सुख मात्रै हैन दुखपीडा नि झेल्नुपर्छ हजुर।

प्रदेशमा पैसाका रुखहरू कहाँ छन् र महोदय,

तातो घाममा जिन्दगीलाई  पेल्नुपर्छ हजुर।

३) मुक्तक

आउँछु भनी प्रतीक्षामा बसाएर गयौ तिमी,

माया गर्छु भनी मलाई फसाएर गयौ तिमी।

षडयन्त्र त गजब कै गर्यौ बैगुनी तिमीले आज,

आँखा छलेर मलाई कुवामा खसाएर गयौ तिमी।

४) मुक्तक

म भोकै सुतेकी सधै चिन्ता लिन्छिन् आमा,

मेरै लागि नयाँ जुता र लुगा किन्छिन् आमा।

थियो कस्तो उनको ममता धर्तीभन्दा फराकिलो,

खाली पेट च्यातिएको चोली भिरेर हिन्छिन् आमा।

५) मुक्तक

ऋणै ऋणले थिचिएको मेरो देशको हालत हेर,

सीमा रेखाहरू मिचिएको मेरो देशको हालत हेर।

उम्रन नपाउँदै धर्तीमै विलीन भए टुसाहरू,

रोग भोकले किचिएको मेरो देशको हालत हेर।

६) मुक्तक

बाबाको फाटेको कोट मैले टाल्न बाँकी छ,

घरमा लागेको पुरानो खिया फाल्न बाँकी छ।

एक दिन त पालो हाम्रो पनि आउँछ होला,

टुकीको सट्टा घरमा बिजुली बाल्न बाँकी छ।

७) मुक्तक 

पूरा नहुँदै जिन्दगीका सपना सीमित भए आज,

दुखपीडाहरू मात्र जिन्दगीमा मिलित भए आज।

गाउँसमाजमा सम्मान पाउने टुटेपछि सपना मेरो,

त्यही गाउँ अनि समाजबाट घृणित भए आज।

८) मुक्तक

भ्रष्टाचारीको इसारामा देश चल्दै छ हेर आज,

अन्धकारको भुमरीतिर देश ढल्दैछ हेर आज।

आगो निभाउन जान्छौ खाली जर्किन समाई,

दाउराजस्तै दनदनी देश बल्दै छ हेर आज।

९) मुक्तक

यही मायालाई जोगाउन धितो छ जिन्दगी,

चुहिने भाँडा जस्तै मेरो रित्तो छ जिन्दगी।

जन्मिएर यो धर्तीमा केही गर्न नसक्दा मैले,

मर्नु अनि बाँच्नुको निम्तो छ जिन्दगी।

०) मुक्तक

मेरो देशको इज्जत र शानलाई चोरेर गयो हेर,

मालिककै हातबाट तालाचाबी खोसेर गयो हेर।

चुनौती दियो सक्छौ भने समातेर देखाउ भनी,

उसलाई नै कैद गरेको  पिंजडा  फोडेर  गयो हेर।

-सनत राेकाय विवश

प्रकाशित: ७ फाल्गुन २०८० १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App