१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्। चित्रकलाका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कला, संस्कृति र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले बताएको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंको आयोजनामा भइरहेको प्रदर्शनी आगामी फागुन १७ सम्म जारी रहने छ।

‘नगरको सान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा प्रदर्शनी भइरहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए।

प्रदर्शनीमा ५० देशका चित्रकारका एक सय ७० भन्दा बढी चित्र राखिएका छन्। यसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत समग्र खोटाङ जिल्लाको सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने आयोजकको विश्वास छ।

 गत असोज १७ देखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी भएको थियो। स्वदेशी तथा विदेशी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीय स्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ जीवन्त चित्र कोरिएको थियो।

दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका बनाएका ११८ सहित २ सय चित्र प्रदर्शनीमा राखिएको उपप्रमुख बिसन राईले बताए।

१८ विदेशी र २५ स्वदेशी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई प्रदर्शनमा राखिएकाे र ती चित्रहरूलाई संग्रहालय बनाएर दिक्तेलमा राखिने नगरपालिकाले बताएकाे छ।

दिक्तेलमा भएकाे प्रदर्शनीले जिल्लाका चित्रकलामा रुचि राख्ने प्रतिभालाई हौसला मिलेको, चित्रकलासम्बन्धी ज्ञान, संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न टेवा पुगेकाे र त्यसैकाे दाेस्राे शृङ्खलाकाे रूपमा साे काठमाडाैं प्रदर्शनी भएकाे नगरपालिकाले जनाएको छ।

संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगाे नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोको सहकार्यमा कार्यक्रम आयोजना गरिएको नगर प्रमुख भट्टराईले बताए।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती शुभकामना दिंदै अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीले नगरपालिकालाई मात्र नभई सिंगो खोटाङलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको बताए।

स्वदेश तथा विदेशका ख्याति प्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौंमा ल्याएर प्रदर्शनी गरिएको नगर उपप्रमुख विशन राईले बताए।

उनले स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू   नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना रहेको पनि बताए।

स्वदेश तथा विदेशबाट आएका ख्याति प्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको पाइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई पासाङले बताए।

उनले प्रदर्शनीले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पनि बताए।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम उद्घाटनका अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलका तस्बिर पनि राखिएका छन्।

नगर प्रमुख भट्टराईको सभा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय रामकुमार राई, सरस्वती बजिमय, पूर्व प्रतिनिधिसभा सदस्य दुर्गाजयन्ती राई, नेतृ तथा खाेटाङका स्थानीय समाजसेवी निर्मला ढकाल दाहाल लगायतको उपस्थिति थियो।

यसकारण प्रदर्शनीकाे नाउँ मुन्दुम

नगरप्रमुख भट्टराईले आफ्नो क्षेत्र मुन्दुम संस्कृतिको थलो भएकाले प्रदर्शनीको आयोजना गरिएको बताए। ‘किरातीहरूको दार्शनिक दृष्टिकोण, अनुभव, इतिहास तथा प्राज्ञ इतिहास, भाषा, साहित्य, संस्कृति, भूगोल, गीत-संगीत, पर्यावरणीय ज्ञानको मूल स्रोत मुन्दुम नै मानिने भएकाले यो सम्पदा नेपाली समाजसमक्ष पुर्‍याउन प्रदर्शनी गर्न गइरहेका छौं,’ उनले भने।

नगरप्रमुख भट्टराईका अनुसार ‘मुन्दुम’ हजारौं वर्षदेखि पुस्तान्तरण हुँदै आएको समग्र किरात समूदायमा प्रचलित मौखिक ज्ञान मानिन्छ। विशेषगरी किराती धामीहरूको मन्त्र मुन्दुम हो। यसर्थ समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि रही आएको छ।

मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुन्छ। यसकारण मुन्दुमलाई किरात समुदायको ‘सामाजिक संविधान’ पनि भनिन्छ।

नगरपालिका क्षेत्र माझकिराँतमा पर्ने नगरप्रमुख भट्टराईले बताए। उनले भने, ‘त्यसैले यहाँको कला, साहित्य, संस्कृति आदिमा ‘मुन्दुम’ को प्रभाव छ।’  दिक्तेल क्षेत्रलाई सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर लगायत जिल्लामा बसोबास गर्ने हालका किरात राईहरूको प्राचीन साझा बसोबास क्षेत्र मानिन्छ।  

प्रकाशित: ६ फाल्गुन २०८० ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App