१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

...र फेरी ‘जन्मिए’ धुर्मुस-सुन्तली

कलाकारितामा बेजोडको उडान भरिरहेका थिए ‘धुर्मुस सुन्तली’ ले। नेपालका स्टेज मात्रै हैन, बाह्य मुलुकका स्टेजको बोलावट थेगिनसक्नुकै अवस्था थियो। 

२०७२ को भूकम्पले यो जोडीको उडानमा केही बद्लाव ल्याइदियो। जति बेला यो जोडी अमेरिकामा थियो। अमेरिकाका विभिन्न राज्यमा ८ वटा कार्यक्रम सकिसकेका थिए उनिहरु। बाँकी दर्जनौँ कार्यक्रमको सुची हातमै थिए। 

भूकम्प गएपछि बाँकी कार्यक्रम स्थगित गरेर नेपाल फर्किएको यो जोडीलाई भूकम्पले निम्त्याएको भयभितले फरक बाटोमा मोडिन बाध्य तुल्यायो। अनि सामाजिक सेवामा लाग्ने प्रणमा उनिहरु पुगे। 

भूकम्पले सम्याइएका बस्तीमा पुनः घर ठड्याउने अभियानका साथ भूकम्प बस्तीमा केन्द्रित बनेको धुर्मुस सुन्तलीको कलाकारिता यात्राले विश्राम लियो। 

भूकम्प प्रभावितहरुका घर निर्माण देखि विभिन्न बस्ती निर्माणमा दत्तचित्त बनेर लागेको यो जोडी सामाजिक सेवा भावले यति प्रभावित बन्यो कि राष्ट्रिय गौरवका आयोजना मानिने योजना निर्माण सम्मै हौसिए। फलतः चितवन स्थित क्रिकेट रंगशाला निर्माणको अभियान थालनी गरे।

तर यो जोडी यो बेला गल्यो, थाक्यो। यसका विभिन्न कारणहरु सुनाउँदै धुर्मुसले भने ‘हामीले सीताराम कट्टेल र कुञ्जना घिमिरे बनेर काम गर्दा धेरै असहज परिस्थिति भोग्यौँ, तर धुर्मुस र सुन्तली बन्दा उत्तिकै आनन्दित छौँ, यसर्थ कहिले काहीँ त लाग्छ धुर्मुस र सुन्तली, सीताराम कट्टेल र कुञ्जना घिमिरेका प्रतिष्पर्धी हौँ।’

क्रिकेट मैदान निर्माणमा खटिएका बेला खानु परेका हण्डर, चोटिला प्रहारले धुर्मुस नगलेका हैनन्, तर गलेको भान परिवारलाई पर्न दिएनन्। उनी भन्छन् ‘सिंहदरबारका सिसिटिभी फुटेज हेर्ने हो भने म कतै रोएको देखिन्छु होला, कतै टोलाएको देखिन्छु होला, कतै खुसी भएर हाँसेको पनि देखिन्छु होला।’ 

जेनतेन धुर्मुसले मन दह्रो बनाए पनि श्रीमती सुन्तलीको कमजोरीलाई कसरी नजरअन्दाज गर्न सक्थे उनी। फलतः परिवारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन करै लाग्यो धुर्मुसलाई। अनि १९ वर्ष अगाडी खरिद गरेर दराजमा थन्काइएको ‘धुर्मुस कट्टु र स्टकोट’ निकाले उनले। अनि ‘सुन्तलीगुन्यू र चोली’ खरिद गरेर श्रीमती सुन्तलीलाई थमाइदिए धुर्मुसले। पुनः कलाकारिता क्षेत्रमै फर्कने प्रणका साथ कलाकारिताको यात्रा नाप्ने योजनामा पुग्यो यो जोडी। 

‘मानसिक रुपमा विक्षिप्त बनिसकेको मेरो परिवारलाई यो सकसबाट मुक्त गराउनु थियो,’ उनी भन्छन् ‘फलतः पुरानै यात्रामा निस्कने निधो गरेँ, त्यसो त कलाकारितामै फर्कनु पर्छ भन्ने आम दर्शकहरुको अपेक्षा, अग्रज, साथी भाइहरूको सरसल्लाहलाई उपेक्षा गर्न सकिएन।’

पुस १२ देखि लेखनाथ महोत्सवबाट कलाकारिता क्षेत्रमा पुनरागमन गरेको ‘धुर्मुस सुन्तली’ यात्रा उसैगरि कुद्यो, जसरी भूकम्प अघिको रफ्तारमा थियो। ‘पुस १२ गते देखि अहिले सम्म झण्डै २५ वटा जति महोत्सवमा सहभागी भयौँ होला,’ धुर्मुसले भने ‘दर्शकहरुले उसैगरि माया दिनु भयो, हामी निकै आभारी छौँ।’

लामो समय पछिको पुनरागमन दर्शकका लागि कति रुचीकर बन्ला ? यो जोडीका लागि चुनौतीको विषय थियो। किनकि उनिहरु १९ वर्ष अघिकै शैली र रूप धारण गरेर यो क्षेत्रमा देखा पर्नु थियो। तर महोत्सवमा पोखिएको दर्शकको उल्लासपूर्ण प्रेमले धुर्मुस चकित छन्। 

‘१९ वर्ष अघिका धुर्मुस र सुन्तली अहिले फेरी उही रुपमा, उही शैलीमा यो क्षेत्रमा जन्मियौँ,’ उनले भने ‘त्यति लामो अवधिको शैली, रूप दर्शकहरुले मन नपराइदिए के होला भन्ने चिन्तन हामीहरुमा थियो, तर हामी भाग्यमानी हौँ आज पनि भगवान् रुपी दर्शकहरुले उही धुर्मुस र उही सुन्तलीलाई उसैगरि माया दिनु भयो।’

अनवरत कलाकारिता क्षेत्रमै अडिग रहने बाचा गरेको यो जोडी स्टेजमा प्राप्त हुने दर्शकको प्रेमले विगतका सबै ‘तीता’ बिर्सँदै गएका छन्। 

धुर्मुस भन्छन् ‘जब स्टेजमा आधा घण्टाको प्रस्तुतिमा हामी प्रस्तुत हुन्छौँ, यो बेला दर्शकहरुले देखाउनु भएको प्रेमले हामी हाम्रा सबै तिता कुराहरू बिर्सिरहेका हुन्छौँ, यसर्थ लाग्छ हाम्रो यो बाटो पो सही रहेछ, हामी कलाकारितामै फिट रहेछौँ भन्ने सिकाई हो यो हाम्रो लागि।’

प्रकाशित: ४ फाल्गुन २०८० १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App