१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

दलितका लागि प्रेम नै ‘पासो’

सन्दर्भ: भ्यालेन्टाइन डे

बागलुङ गल्कोटकी १९ वर्षीया केसी थरकी एक युवती १५ वर्षअघि छिमेकी गाउँका दलित युवक प्रकाश विकसँग प्रेम सम्बन्धमा परिन्। एक वर्षको अवधिमा उनीहरूको प्रेम सम्बन्धले गहिरो रूप लियो। उनीहरूबीचको अन्तरजातीय पे्रम सम्बन्धबारे चाल पाएपछि युवतीको परिवारबाट विरोध सुरु भयो। उनीहरूले त्यसको परवाह गरेनन्। उनीहरूबीचको प्रेम झनै झाँगियो। उनीहरू परिवार छोड्न तयार भए तर  प्रेम तोड्न तयार भएनन्। २०६५ माघमा भागेर उनीहरू काठमाडौं आई शंखमूलमा आफन्तको सहारा लिएर बस्न थाले।

काठमाडौं आएलगत्तै युवतीले आफ्ना बुवाआमालाई दलित युवकसँग विवाह गरेको जानकारी दिइन्। माइती पक्षबाट सक्दो छिटो घर फर्किन दबाब आयो तर युवतीले प्रेमी छाडेर घर नफर्किने निर्णय लिइन्। घरपरिवारबाट फोनमार्फत निरन्तर मानसिक यातना दिन सुरु भयो। एक दिन आमाले छोरीलाई फोनमा भनिन्, ‘तँ त मेरी छोरी हुनुभन्दा मरेकै राम्रो।’

आमाको उक्त अभिव्यक्तिबाट उनलाई गहिरो चोट पुग्यो। त्यसको भोलिपल्ट बिहानै युवतीले आत्महत्या गरिन्। जीवनभरि साथ दिने कसम खाएको यो जोडीको प्रेम जातकै कारण अपुरो बन्न पुग्यो।

दलित युवकसँग  प्रेम गरेको थाहा पाएपछि बाराको फेटागाउँ गाउँपालिका–१ का हरिचन्द्र महतोले गत साउनमा आफ्नै छोरीको हत्या गरे। प्रहरीले लामो अनुसन्धानपछि माघ ९ गते महतोलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

दलित युवकसँग प्रेम गरेकै कारण छोरीको हत्या गरेको महतोले प्रहरीसमक्ष बयान दिएका छन्। किशोरीले गाउँकै एक दलित युवकसँग प्रेम गरेकी थिइन्। प्रहरीका अनुसार अविभावकले दलित युवकलाई भेट्न रोक लगाएका थिए। लुकेर भेट्दै आएको जानकारी पाएपछि ती किशोरी अभिभावकबाटै मारिनुपरेको थियो।

सात वर्षअघि काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का १८ वर्षीय अजित मिजारको हत्या अन्तरजातीय प्रेमविवाहकै कारण भएको थियो। गहिरो प्रेममा परेपछि उनले एउटै स्कुलमा सँगै पढ्ने पराजुली थरकी युवतीलाई भगाएका थिए। त्यसको चार दिनमै युवकको हत्या भएको परिवारले दाबी गर्दै आएको छ।

अन्तरजातीय प्रेमका कारण दलितभित्र पनि यौनिक अल्पसंख्यकहरू झनै प्रताडित छन्। पाँचथरकी शान्ता परियार (नाम परिवर्तन) तीन वर्षअघि छिमेकी जिल्लाकी एक क्षत्रिय जातकी युवतीसँग पे्रममा परिन्।

यो प्रेम जोडी यौनिक तथा लैंगिक अल्पसंख्यक समूहको थियो। परियारलाई टिकटकमा भेटेपछि उनले प्रेम प्रस्ताव गरेकी थिइन्। यौनिक अल्पसंंख्यक समूहकै प्रेमिका भेटेपछि परियारले प्रस्ताव सहर्ष स्वीकार गरिन्। उनीहरू नजिक हुँदै गए। नजिकपनले प्रेम गाढा बन्दै गयो।

एक दिन प्रेमिकाले परियारलाई भनिन्, ‘तिम्रो र मेरो विवाह घरमा स्वीकार्य हुन्न।’ परियारलाई सुरुमा यो कुरा सामान्य लाग्यो। यौनिक अल्पसंख्यक भएकाले अस्वीकार गर्ने होलान् भन्ने लाग्यो। प्रेमिकाले परियारसमक्ष सोही कुरा दोहोर्‍याइन्। अर्को पटक परियारलाई आर्थिक कमजोरीका कारण होला भन्ने लाग्यो। उनले सम्झाइन्, ‘म जागिर खान्छु, पैसाको कमी हुन दिन्नँ।’

तेस्रो पटक पनि पे्रमिकाले यस्तै कुरा गरिन्। परियारले सम्झाउन छाडिनन्, ‘तिम्रा लागि म मेरो शल्यक्रिया गरेर लिंग परिवर्तन गर्छु।’

चौथो पटक भने प्रेमिकाले जातका कारण विवाह अस्वीकार हुने बताइन्। यो कुरा सुनेपछि परियार प्रेमिकासँग अलग भइन्। ‘हामी तीन/चार महिनामै निकै पे्रमिल भइसकेका थियौं। जातको कुरा आएपछि छाडिदिएँ,’ उनले नागरिकसँग भनिन्, ‘जातको कुरा गर्ने भएपछि प्रेम लम्ब्याउनुको अर्थ थिएन तर आफूले माया गरेको मान्छेबाट एक्कासि टाढा हुँदाको पीडा भने असह्य थियो। भुल्न कठिन भए पनि आफूलाई सम्हालें।’

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा दलित समुदायका ४० जनाको हत्या भएको एक अध्ययनले देखाएको छ। काठमाडौंमा बिहीबार सार्वजनिक गरिएको ‘नेपालमा दलित आन्दोलनको उपलब्धि’ विषयक अध्ययन प्रतिवेदनले यस्तो औंल्याएको हो। हीरा विश्वकर्मा, नितु पोखरेल र सोम निरौलाले तयार पारेको अध्ययन प्रतिवेदनमा नेपालमा दलित मानवअधिकार स्थापति हुन नसकेको ठह¥याइएको छ।

उल्लिखित तीन घटनाबाहेक जातकै कारण प्रेम र विवाहमा हुने अवरोध सयौं छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा मात्र राष्ट्रिय दलित आयोगमा परेका उजुरीमध्ये ६ वटा अन्तरजातीय  प्रेम विवाहले उब्जाएको घटनासँग सम्बन्धित छन्।

आयोगमा उजुरी परेका बाहेक देशभरि सयौं यस्ता घटना हुने राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए। ‘सबै घटना आयोगसम्म आइपुग्दैनन्,’ उनले भने।

जातीय भेदभाव तथा कसुर सजाय ऐन बनेयता १२ वर्षको अवधिमा नेपालमा ४० जना दलित समुदायको हत्या भएको एक अध्ययनले जनाएको छ।

 अध्ययनअनुसार हत्या हुनुको कारणमा केही संख्या अन्तरजातीय प्रेम र विवाहसँग सम्बन्धित रहेको अध्ययन टोलीका संयोजक विश्वकर्माले बताए। ‘उमेर सानो छँदा भने बाल विवाह या बलात्कारको मुद्दा हालेर जेलमा पुर्‍याइएको देखिन्छ,’ उनले भने। समान उमेर छ भने अनेक बहानामा यातना दिने गरेको समेत पाइएको विश्वकर्माको भनाइ छ।

नेपालमा जातीय विभेदविरुद्धको संघर्षले आधा शताब्दी पार गरिसके पनि दलित समुदायमाथि कायम विभेदमा अपेक्षित सुधार नआउँदा अहिले पनि  प्रेममा जात तगारोकै रूपमा रहेको विश्वकर्माले बताए।

यो सामाजिक विभेद अन्त्यका लागि सरकारले अहिलेसम्म प्रभावकारी कार्यक्रम लागु गर्न नसकेको उनको ठम्याइ छ। उनका अनुसार कुनै पनि विभेद अन्त्यका लागि दुई प्रकारको नीति लागु गर्नुपर्छ।

एउटा दण्ड सजाय र अर्को प्रोत्साहनजनक कार्यक्रम। सरकार यी दुवै कार्यक्रममा फितलो हुनुले यत्तिका वर्षसम्म पनि विभेद घट्न नसकेको उनको भनाइ छ। ‘न बनेका कानुन प्रभावकारी रूपमा लागु भए न सरकारले अन्तरजातीय पे्रम विवाह गर्नेहरूका लागि प्रोत्साहन कार्यक्रमलाई नै निरन्तरता दियो’ उनले भने।

समाजशास्त्री सुरेश ढकालका अनुसार नेपाली समाजमा अन्तरजातीय  प्रेम पुरानै समस्या हो। पे्रमका सम्बन्धमा व्यक्ति स्वतन्त्र देखिए पनि समाजको अधीनता कायमै रहेकाले अन्तरजातीय  प्रेममा बाधा आउने गरेको उनको भनाइ छ।

 ‘अहिले पनि वैयक्तिक स्वतन्त्रता छैन। समाजको मूल्यमान्यता व्यक्तिमाथि थोपरिन्छ,’ उनले भने। छनोट व्यक्तिको हुने गरे पनि स्वीकार/अस्वीकार गर्ने निर्णय समाजले गर्ने भएकाले अन्तरजातीय पे्रमले स्वीकृति नपाउनुको अर्को मुख्य कारण रहेको ढकालले बताए।

दलित आन्दोलनले आठ दशक गुजारिसक्दा पनि जातीय विभेदको स्वरूपमा अपेक्षित सुधार आउन नसकेको ढकालको बुझाइ छ। त्यसको पछाडि यो देशका परिवर्तनकामी शक्ति भनिएका व्यक्तिहरूसमेत बाहिर परिवर्तनशील देखिए पनि आफ्नो समुदायमा पुगेपछि सोहीअनुरूपकै चरित्रमा हिँड्ने प्रवृत्ति हुने भएकाले जातीय विभेदमा कमी आउन नसकेको हो।

‘जस्तो कि रुकुममा अन्तरजातीय पे्रमका कारण ६ जना युवकको हत्या हुँदा यो समाजका क्रान्तिकारी भनिनेहरू मौन नै बसे,’ उनले भने।

दलित आन्दोलनको आठ दशक यात्रामा पनि उक्ते समुदायमाथिको विभेद नघट्नुको पछाडि नेपालमा असन्तुलित शक्ति संरचनासहितको सामाजिक बनोट कायमै रहनुलाई बुझ्नुपर्ने ढकालले बताए।

 उनका अनुसार अहिले पनि नेपाली समाजमा धनी र गरिबबीचको असमान शक्ति संरचनामा खासै परिवर्तन आउन सकेको छैन। जातीय विभेद हट्न यो संरचना नै पनि बदलिनुपर्छ। यति लामो आन्दोलनपछि पनि विभेद उस्तै रहनुले दलित आन्दोलनबारे समीक्षा गर्ने बेला आएको उनको भनाइ छ।

दलित आन्दोलन आफ्नो मुद्दामा स्पष्ट नहुनु, राजनीतिक दलमुखी आन्दोलन हुनु, सुधारमुखी बन्न नसक्नुजस्ता समस्याले विभेद कायमै रहन गएको उनले बताए।  

प्रकाशित: २ फाल्गुन २०८० ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App