५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

मुस्काउन जानेकै छ फूल, काँडाबिचै पनि!

मुक्तक

१) मुक्तक

गर्नैं नजानिंदो रैछ हिसाव जिन्दगीको,

कताकता हराउँदा निसाफ जिन्दगीको।

जोड्न खोज्यो घटन थाल्छ किनकिन?

नियतिले केरिदिंदा किताव जिन्दगीको।

२) मुक्तक

मन मुग्ध बनाउँछ मुरलीको धुनले,

मन शीतल बनाउँछ पूर्णिमाको जूनले।

स्वर्गीय आनन्द मिल्छ यै धर्तीमा पनि,

मन उन्मुक्त बनाउँछ तिम्रो साथ हुनुले।

३) मुक्तक

कतै दिन हुन्छ त कतै रात हुन्छ,

दूरी टाढा मन साथसाथ हुन्छ।

चन्द्रसूर्यसँगै उदाउने एक देश,

सपना विपना एउटै बात हुन्छ।

४) मुक्तक

मुटुमा चोपिइरहने बनोस् हाम्रो माया,

शिलामा खोपिइरहने बनोस् हाम्रो माया!

पिइरहूँ तिम्रा नयनका भाका मेरा नयनले,

गुलाफमा रोपिइरहने बनोस् हाम्रो माया।

५) मुक्तक

जमिनमा रोपिन सकिन म बिउ भएर,

पानीले सिचिन सकिन म बिउ भएर।

बसिरहें घुन पुत्लाको टोकाइ सहँदै डिब्बामै,

घामले घमाउन सकिन म बिउ भएर।

६) मुक्तक

तिमी माछापुच्छ्रे हाँस्नु म सेतीझैं लुकिदिउला,

तिमी मर्स्याङ्दी बग्नु म नेतीझैं सुकिदिउला।

छहराझैं पहराबाट खस्छु, तिमी सुखी हुने भए,

तिमी करौती भई रेट्नु म खेतीझैं झुकिदिउला।

७) मुक्तक

मुटुमा चोपिइरहने बनोस् हाम्रो माया,

शिलामा खोपिइरहने बनोस् हाम्रो माया!

पिइरहूँ तिम्रा नयनका भाका मेरा नयनले,

गुलाफमा रोपिइरहने बनोस् हाम्रो माया।

८) मुक्तक

मलाई पत्थर हान्नेहरूलाई सदा फूलले स्वागत गरूँ,

उनीहरूलाई बचाएर आफू अकालमा नैं फगत मरूँ।

वसन्तका पालुवाले मलाई गिज्याउँदै सोध्छन् किन,

आफ्नै ज्यान रित्याएर शिशिरको रूखमा रगत भरूँ।

९) मुक्तक  

आखाँहरु जुधेपछि यति शीतल किन हुन्छ?

मनको ढुकढुकीले ढुकढुकीलाई किन छुन्छ ?

झर्छ तप्पतप्प आँखा आँसु हो कि पानी भन,

यति छिट्टै मान्छेले मान्छेलाई किन भुल्छ?

१०) मुक्तक

साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,

साँच्चैं आफ्नै मनका राहात छोड्छन्।

मुस्काउन जानेकै छ फूल काँडाबिचै पनि,

साँच्चै ती फूलले पनि आहत छोड्छन्।

प्रकाशित: १ फाल्गुन २०८० ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App