coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

धामीमा ध्यान

संस्मरण

पहाडी गाउँघरमा धामी/झाँक्रीहरूको ठूलो प्रभाव थियो ऊ बेला। उनीहरू रहस्यका पात्र थिए। मनोरञ्जनका स्रोत पनि थिए। जब उनीहरू थानथपना सहित धामी बस्थे। त्यो बेला साक्षात् देउता आङमा चढेको ठानिन्थ्यो। एकातिर डरडर पनि लाग्थ्यो। अर्कातिर आनन्द पनि आउँथ्यो।

गाउँमा कोही ढ्याङ्ग्रे धामी हुन्थे। कोही कुलका धामी। कोही बिजुवा हुन्थे। कोही झाँक्री। कोही बैदाङ्गे धामी। कोही वनस्खन्नी (बाँदर देउ) बुझाउने, कोही साप्सु बाच्छाई, कोही वारिपारि ठोक्करे, कोही आधाराते भञ्ज्याङे र कोही पुर्वीया बुझाउनमा नाम चलेका।

पुरानाहरू बित्दै जान्थे। नयाँ धामीहरू थपिंदै पनि जान्थे। आफ्नो देउ मिल्ने पुराना धामीहरूसँग धेरै समय काया-कैरनमा खारिएपछि तिनै अग्रज धामीलाई गुरु थापी दियो कलश र ढोल-ढ्याङ्ग्रा (धामीको प्रकृतिअनुसार) लिएर नयाँ धामीहरूले बिस्तारै उपस्थिति जनाउन थाल्थे।

टाउको दुखे पनि धामी। झाडापखाला लागे पनि धामी। ज्वरो, ढाड, खुट्टा, घुँडा, भुँडी, घाँटी जे दुखे पनि धामी। धामी नै देउता। धामी नै ठूलो उपकारकर्ता। आखिर दुःखबिमार ठीक गर्ने अरू विकल्प पनि थिएन। मान्छे के रोग लागेर बिरामी हुन्छ? के भएर मर्छ? वास्तविक रोग खुट्याउने अर्थात् निदान गर्ने कुनै विशेषज्ञता थिएन। गाउँमा कुनै रोग, व्याधि र महामारीहरू देखापर्‍यो भने देवीदेउताहरू रिसाए भनेर तिनै धामीको आदेशमा अनेक किसिमका भाकल र पूजाआजा गर्नतिर लाग्थे मान्छेहरू। धेरै बिमारीले धामीझाँक्रीमै विश्वास गरेर आफ्नो जीवनलीला समाप्त गर्थे। अनि ईश्वरको खटन, भावीको लेखन्त, मानो यति नै थियो... भनेर मरेकाहरूप्रति चित्त बुझाउँथे।

तर, यति हुँदा हुँदै पनि, प्राचीन जडिबुटीसम्बन्धी ज्ञान भएका वैदाङ्गेहरूले भने विभिन्न रोग निको पार्ने क्षमता राख्थे। कतिपय गाउँलेमा पुर्खाहरूले भनेसुनेको आधारमा रोगको लक्षण अनुसार घरेलुजन्य औषधिहरू प्रयोग गर्ने परम्परागत ज्ञान पनि थियो। यसले ठूलो काम गरेको थियो त्यतिखेरको उपचार पद्धतिमा।

पूर्वजहरूले जानेबुझेका कुराहरू अर्थात् पुस्तौंदेखि भोगेको, जानेको र अनुभूत गरेको ज्ञान नै त्यो बेलाको जीवन उपक्रमको आधार थियो। अलि टाठाबाठा अनि केही धर्मशास्त्र र नीतिका कुरा गरिटोपल्नेहरूले गाउँमा ठूलो प्रभाव जमाउँथे।

 अथवा यसो भनौं, नयाँ किसिमको ज्ञान, चेतना र जागरणको लहरले नछुँदासम्म मान्छेहरू एक किसिमको अँध्यारोभित्र जकडिएका थिए। त्यही सीमित मानसिक र भौतिक परिवेश नै उनीहरूको संसार र सर्वस्व थियो।

गाउँमा अरू कुराका साथसाथै धामी, मसान, भूत, पिसाद, बोक्सीका चर्चा पनि निकै हुन्थे। बेलुकाको खाना खाएपछि मुख्यमुख्य घरहरूमा वल्लापल्ला, तल्ला-माथ्लाघरका मान्छेहरू भेला हुन्थे। अँगेनाका डिल र मझेरीमा बसेर प्रायःजसो भूत, प्रेत र डङ्किनीका कुराहरू गर्थे। हामी केटाकेटीलाई त्यस्ता कुरा सुन्न उत्सुकता लाग्थ्यो। बढो मजा आउँथ्यो र डर पनि लाग्थ्यो। पढ्नमा ध्यान थिएन। आखिर अरू मनोरञ्जनका कुरा पनि थिएनन्।

‘पोखरी वरडाँडा (हाम्रो घरपछाडि) मा राति सेतो मुर्कुटो खेल्छ। घाम अस्ताउने बेलामा तीनतलेको घर अगाडि पुगियो भने झुन्डेर मरेको जागित्रले ठहरै पार्छ। सिमलबोटेमा डडुवा (सानो बालक भूत) डुल्छ। उन्नाइसेमा बेलुकाखेरी घोडा चढेर मुर्कुटो डुल्छ। चिहानडाँडामा चिहानै चिहान छन्। राति एक्लै-दोक्लै भेट्यो भने भूतले ठहरै पार्छ। फलानी बोक्सी जाजुल्ले छे। राति झाँक्रा फिंजाएर कुमकुममा बत्ती बाल्छे। कालो बिरालो भएर घरघर चहार्छे। भुइँसी दूध दुहुँदै गरेको देखी भने थुनबाट रगतको सिर्का झर्छ। काखको बालकलाई देखी भने दूध खानै छोड्छ। रुन्चे लाग्छ।’

यस्ता हल्लाहरू प्रायः धामीहरूले नै फिंजाउँथे। त्यसपछि सबैको मनमा डरले डेरा जमाउन थाल्थ्यो। मान्छेहरूले एकपछि अर्को गर्दै अनेक कुरा थप्न थाल्थे।

सिमलबोटे नारद बालाई गैंया (बाघ) देउ आएका थिए। बुढा भए पनि अरूभन्दा निकै हलुका थिए ती बा। राति जतिखेरै लिन गए पनि जुरुक्क उठेर दौराका तुना बान्दै आउँथे।

धामी बस्ता उनले बखान्ने शैली छुट्टै थियो। ‘भोर्लाबोटे कैल बा पारितिरको ठोक्करेलाई राम्रो बुझाउँछन्। कट्टीका खड्गबहादुरले आधा राते भञ्ज्याङेलाई बुझाउँछन्। कटुवाका भुपालमान बा (कुलका थानी) ले साप्सु राम्रो बुझाउँछन्। राताबारी सुब्बाले वनस्खन्नी (बाँदर देउ) लाई खुसी पार्छन्’ भन्ने विश्वास थियो गाउँलेहरूलाई।

घरमा कसैलाई लागोभागो लागेर बिसञ्चो हुँदा वनको देउतालाई कुखुराको भाले, पारितिरको ठोक्करे र साप्सुलाई परेवा, पूर्वीयालाई डिम्मा, हरिकर्नेलाई भालेको भाकल गरिदिन्थे धामीले।

पछि उपयुक्त समयमा भाकल पूरा गर्न आवश्यक सामग्री जुटाएर धामीलाई बोलाइन्थ्यो। पूजा गरेर भोग दिएपछि परेवाका बच्चा बाहिरै पकाइन्थ्यो। एक जोर बच्चामा घरका र धामीलाई पुग्ने गरी ठूलो कराहीमा झोल हालेर बाहिर बसेर खाँदाको आनन्द बेग्लै। मान्छेको अनुहार देखिने झोलमा भुटुन र मरमसला त त्यस्तै-उस्तै भए पनि नुन र खोर्सानीचाहिं राम्रै हुन्थ्यो। चामलको अपुग हुने घरमा धामीलाई चाहिं पूरै चामलको भात र घरकालाई अलिकति चामलको र धेरै च्याँख्लाको भात हुन्थ्यो।

कुखुराचाहिं कुनै देउतालाई चढाको जिउँदै लगेर पाखामा छोडिदिनुपर्ने र कुनैचाहिं थपनामा भोग दिनुपर्ने। थपनामा भोग दिएको कुखुरो क्षेत्री-बाहुन धामी र घरका ठूलाहरूले खाँदैनथे। हामी केटाकेटी ढिकीनेरी पकाएर खान्थ्यौं। कुखुरो केटाकेटीले मात्र खान पाउँदा हामीलाई दसैं आएजस्तो हुन्थ्यो।

पूजाको प्रसङ्गमा एउटा घटनाको याद आइरहन्छ। सिमलबोटे गौतम पनि नाम चलेकै ढ्याङ्ग्रे धामी थिए। एकदिन उनी हाम्रोमा साप्सुको पूजा गर्न आए। भाइ अर्जुन, म र गौतम बा पूजा गर्ने सामग्री बोकेर घरमाथि भैंसीको गोठनिर गयौं। परेवाका बच्चा निकै हुर्केका रहेछन्। गौतम बाले बच्चा डालोले छोपिदिए। अनि ढुङ्गाका थपना राखी त्यसमा काँचो धागोले बेरेर सिन्दुर लगाई धुपौरामा धुप हाल्दै केके कुराहरू फलाक्न थाले। अर्जुन निकै चकचके थियो। उसले कतिखेर बच्चा छोपेको डालो उघारिदिएछ। काट्ने खुकुरी ठीक पारेपछि बच्चा हेरेको त छैन। दुइटै बच्चा उडेछन्। कसरी उडे भनी केरकार गर्दा भाइले छोडिदिएको भन्ने थाहा भो।

गौतम बाले ‘लु गरिहालिस् नि! यै गर्न आको थिस् फटाहा मोरा!’ भन्दै भाइको कान तानिदिए। आमा र मैले पनि भाइलाई कराउन थालेपछि ऊ रुँदै कट्टू तान्दै कता भाग्यो। आमा, म र धामी बा भएर निकैबेरसम्म हराएका बच्चा खोज्यौं।

बल्लबल्ल तीनतले घर पछाडि गलेर बसेको अवस्थामा एउटा भेटियो। अर्कोचाहिं ठूलाघरमाथि बारीका भित्तामा भेटियो। त्यसपछि गौतम बाले भाइ र परेवा दुइटैलाई गाली गर्दै थपनामा परेवाको भोग दिए। अनिष्ट हुनबाट बँचाई पूजा सम्पन्न गरिदिए।

पूर्वीया मन्साउँदाचाहिं कुखुराका डिम्मा चाहिन्थ्यो र त्यो डिम्मा टपरामा हालेर दोबाटामा लगी राख्नुपर्थ्याे। भञ्ज्याङे र वनकोलाई बुझाएको कुखुरो पर पाखाहुँदि लगेर छोडिदिनुपर्थ्याे। यसरी छोडेका डिम्मा र कुखुराहरू कोहीकोही स्कूलेले सुटुक्क लगेर कतै पसलमा सस्तोमा बेचिदिन्थे।

तिर्पाली (उदयबहादुर) पनि निकै चल्तीका धामी थिए। उनलाई जडिबुटीको पनि निकै ज्ञान थियो। वनपालाका रुन्चे सार्की त्यस्तै नाम चलेका वैदाङ्गे धामी थिए। उनलाई जडिबुटी तथा घरेलुजन्य औषधिहरूको प्रशस्त ज्ञान थियो।

मैले जान्दासम्म गाउँमा सबैभन्दा रमित देखाएर धामी बस्ने राताबारी सुब्बा थिए। झ्याम्टा र ढ्याङ्ग्रोको सङ्गीतमा देउता फलाक्ने उनको लय निकै मीठो थियो। वनस्खन्नी देउ चलाएको बेला त उनलाई माथिमाथि उडेजस्तै देखिन्थ्यो। हातमा फुर्के खेलाउँदै ढ्याङ्ग्रोको तालमा उनी नाचेको दृश्य त्यस्तै हेर्न लायक हुन्थ्यो। उनी फलानाका घरमा धामी बस्दैछन् भन्ने सुनेपछि धेरै मान्छे धुइरिन्थे।

हाम्रै भट्टराई पुर्खा कट्टीका शिरे (शेरबहादुर) एक गाउँ मात्र नभएर धेरै गाउँमा नाम चलेका झाँक्री धामी थिए। उनलाई त मैले देखिनँ। म तीन चार वर्षको हुँदा उनी बितेका रहेछन्। उनलाई साक्षात् झाँक्रीले पटकपटक अज्ञातस्थलतर्फ लगेको कुरा उनका परिवारजनले नै बताउँदै आएका छन्। त्यही भएर उनी शक्तिशाली झाँक्री धामी भएका अरे भन्थे गाउँलेहरू।

‘शिरे धामीलाई त देउतै भन्दा पनि हुन्छ। उनी अक्षताबाटै मर्ने-बाँच्ने छुट्याउँथे। चामल र रुद्राक्षहरू उडाएर मान्छेले नदेख्ने गरी कहाँकहाँ पुर्‍याउँथे र एकछिनपछि ती फर्केर ढ्याङ्ग्रोमा आएको मान्छेहरूले स्पष्ट देख्थे।

उनको मन्त्र शक्ति यस्तो थियो कि उनी धामी बसेको ठाउँबाटै टाढाटाढासम्मका परेवा-पन्छी, राँगा, सुँगुर र बोकाहरू मारिदिन्थे।

अक्षताले हानेर रूखबिरुवाहरू सुकाइदिन्थे। आफू वर बसेर घरको जाँतो घुमाइदिन्थे। ढिकी चलाइदिन्थे। आफ्नो गुरु झाँक्रीसँग पुकारा गरी फुर्केमा लिसो झार्थे। अक्षताले हानेर बोक्सीका आँखा फुटाइदिन्थे। फलानी–फलानीका आँखा उनैले फुटाइदिएका हुन्।’

उनी बितेर गए पनि पछिसम्म उनका बारेमा यस्तै चर्चा गर्थे गाउँलेहरू।

बाम्राङ कट्टीका बुर्चे राई भन्ने बिजुवा धामी पनि त्यस्तै शक्तिशाली थिए। उनी पनि टाढाटाढासम्मका जीवहरू मारेर देखाइदिन्थे। उनले ढोल-ढ्याङ्ग्रा छाँदेर बिजुवा देउ खेलाएको हेर्न सारा मान्छे जम्मा हुन्थे। म सानै हुँदा उनी एकचोटि हाम्रोमा आमाको मोच मार्न धामी बसेको मलाई अलिअलि थाहा छ। त्यस्तै शेरा गाउँका शिवमाने बिजुवा पनि त्यस्तै जाजुल्ले थिए भनेर उनको चर्चा गरेको मैले पछिसम्म सुनेको थिएँ।

पछि भट्टराई परिवारकै गौरी र बाटाघरका नरबहादुरले पनि गाउँमा निकै पिटे। त्यसपछि भने कट्टीकै रामचन्द्र निकै जम्न थाले। उनले पनि हजूरबा शेरबहादुर (शिरे) का झैं धेरै कला देखाउँछन् भन्छन् उनलाई जान्ने-बुझ्नेहरू।

आज बेलुका कसैकोमा फलानो धामी बस्दैछ अरे भन्ने सुनेपछि हामी केटाकेटी दिउँसैबाट रमाउन थाल्थ्यौं। धामी बस्ने घरका मान्छे ढ्याङ्ग्रो र अरू सामानहरू लिन दिउँसैतिर धामीकोमा जान्थे र झोलामा धामीका विभिन्न सामग्री बोकेर ढ्याङ्ग्रो बजाउँदै घर आउँथे। त्यसैबाट थाहा हुन्थ्यो फलानोकामा फलानो धामी बस्दैछ भन्ने कुरा। कुलका धामीहरूको चाहिं ढ्याङ्ग्रो हुँदैनथ्यो। उनीहरू बाँसका भाटाको गजो बनाएर थाल ठटाउँथे। उनीहरूलाई धामी बस्दा ढ्याङ्ग्राे धामीको जस्तो अनेक प्रकारका चिजहरू पनि नचाहिने। दियो, कलश र रुद्राक्षका माला भए हुने।

साँझतिर धामी बढो शानका साथ एकजना धुपौरे लिएर आउँथे। धामी र धुपौरेको लागि छुट्टै मेजमानी हुन्थ्यो मधौरु (बिरामी) को घरमा। वरपरका छिमेकीहरू पनि घरमा चाँडोचाँडो भात खाएर बिस्तारै धामी हेर्न आउँदै गर्थे।हेर्न आउने रमितेहरूका लागि घरकाले बाहिर दलान, पेटी र बढी नै मान्छे भए आँगनमा समेत गुन्द्री, गजरा र पिराहरू ओछ्यादिन्थे।

सुर्ती खानेहरू अगुल्टो मागेर सुर्ती सल्काउन थाल्थे। बाहिर थपना राख्ने ठाउँमा घरकाले गोबरले लिपेर चोख्याएपछि धुपौरेले धामी बस्ने चाँजोपाँजो मिलाउन सुरु गर्थे। टपरामा चामल, चामलमाथि दियो, अर्को टपरामा कलश, कलश नजिकै बाँसका फुर्के, गोबरमा दुम्सीका काँडा, आगोको झर्झराउँदो कोइलाको धुपौरो, आँपका पात, शालिग्राम, रुद्राक्षका माला, जरायोका सिङ, दुईतिरबाट ढ्याङ्ग्रो खोज्ने गजाहरू लगायतका सामग्री सहितका थान थपनाहरू धामीको आसन अगाडि क्रम मिलाएर राख्थे धुपौरेले। हामी यी सब चाख दिएर हेर्थ्याैं।

धुपौरेले सबै कुरा ठीक पारेपछि अब धामीको पालो। अलिक राम्रो खालको गुन्द्री, गुन्द्रीमाथि राडी या कम्बलको आसनमाथि बसेका धामीले कोट भए कोट नभए भोटो जे छ त्यो फुकाल्थे। टोपी फुकाल्थे। अनि दौरामाथि वा कमिजमाथि दह्राेसँग पटुका कस्थे। कम्मरमा झ्याम्टा बान्थे। फाफु गर्दै गलामा रुद्राक्षका दुई चार माला लाउँथे। अनि ढ्याङ्ग्रो तानेर त्यसमा दुईपट्टि खरानीले त्रिशूल लेख्थे। दियो बलेको टपरोबाट अलिकति चामल लिएर मन्त्र जपी चारै दिशातिर फाल्थे। आफ्नो शरीरतिर पनि अक्षता छर्कन्थे। त्यसपछि अङ्ग्रेजी ‘एस’ आकारको गजोले ढ्याङढ्याङ पार्दै ढ्याङ्ग्रो बजाउन थाल्थे। ढ्याङ्ग्रोको लयमा घुमाउरो स्वरले सुरुमा जाने जति देउताका नामहरू पुकार्थे। गुरुलाई पुकार्दै शरण पर्थे। बीचबीचमा बेस्सरी काम्थे।

उनी काम्दा झ्याम्टा र ढ्याङ्ग्रोको तालले एउटा छुट्टै आकर्षण पैदा गर्थ्याे। छेउमा बसेका धुपौरेले घरिघरि ‘लौ परमेश्वरी!’ भन्दै धुप हाल्थे। त्यसपछि एकछिन बिसाएर बिरामीको जोखाना हेर्थे। लागोभागो, वायु, भूतप्रेत, बोक्सी छौंडा के लागेको हो? कहिले निको हुन्छ? सोबारे बताएपछि फेरि एकछिन विश्राम गरेर आफ्नै विधि अनुसार उपार (उपचार) गर्नतिर लाग्थे।

उपार गरेको बेलामा माझमा बसेर एकजनाले ढ्याङ्ग्रो समाउने र दुई जनाले दुईतीरबाट बाँसका गजाले ढ्याङ्कुढ्याङ्कु गर्दै ढ्याङ्ग्रो बजाउँथे। फुर्केमा लिसो खेलाउँदै ढ्याङ्ग्रोको तालमा धामी नाचेको हेर्न बहुतै मजा आउँथ्यो। त्यही बेला यताउता हेर्दै दाँतले रुद्राक्ष टोकेर अक्षता फुकी त्यसलाई दुइट पैतालामा पालैपालो छुवाएर बिरामीलाई दुःख दिने अदृश्य शक्तिलाई ताकेर बान हान्थे। बान हानिसकेपछि धामी मरेजस्तै लम्पसार पर्थे। धुपौरे र अरूले समाउनुपर्थ्याे। एकछिनपछि बिस्तारै काम्दै उठ्थे।

बिरामीको उपार सकेपछि गाउँका कसैकसैले आफ्नो दीनदशा र रोगबिमारबारे जोखाना हेराउँथे। यसो गर्दागर्दै कहिले त रात छलङ्गै पनि हुन्थ्यो। हेर्न आउने रमितेहरू कोही हाइहाइ गर्दै अन्तिमसम्म बस्थे। कोही हातमा अगुल्टो बोकेर बीचमै हिंड्थे।

हामी खाल्लेली भट्टराईहरूको निकै वर्ष अघिदेखि रोकिएको देवाली २०४० सालबाट सुरु भयो। देवाली गर्न कुल निकाल्ने काम २०३९ सालदेखि नै सुरु भएको थियो। पुराना केही कुलधामी छँदै थिए। यस क्रममा नयाँ धामीहरू पनि निक्लिए।

पुराना धामीहरूले नयाँ धामीहरूलाई कैरनले खारेर पक्का गर्न गादीघर र अरू विभिन्न बन्धुको घरमा निरन्तर धामी बस्ने क्रम दुई तीन महिनासम्म चलिरह्यो। अरू ढ्याङ्ग्रे धामीहरू एकल भूमिकामा रहने तर कुलका पुरानादेखि नयाँ मष्ट, भाञ्जा, थानी, मण्डल्नी, रिट्ठे झाँक्री, गैंयाका डाङ्ग्रेहरू सामूहिक रूपमा हेर्रहेर्र भन्दै उफ्रिंदाको दृश्य बहुतै रमाइलो हुने। त्यसमाथि कुल बोलाउने घरमा धेरै बन्धु उत्साह र चासोका साथ उपस्थित हुने हुँदा घरको भित्र, बाहिर र आँगनैभरि मान्छेले भरिभराउ हुँदा एउटा ठूलो उत्सव जस्तो लाग्थ्यो। गादी वा आफ्नो घरमा कुल बोलाउने दिन हामी केटाकेटी कताकता पुगेर अँगालोभरि सिमलीका सेउला र आँपका हाँगा लिएर आउँथ्यौं।

कुलधामीहरूमा गादीघरका माझाघरे हेमबहादुर मष्ट र थानी दुइट शक्ति आफ्नो आङ्गमा लिएर शक्तिशाली कुलधामीको रूपमा निक्ले। उनले हेरेका जोखाना ठ्याकठ्याक मिल्ने हुँदा उनलाई बोक्सो धामी भन्थे गाउँलेहरू। कुलको शक्तिले धेरै मै हूँ भन्ने धामीहरूलाई पनि उनले तह लगाएका थिए। उनैको आँट, बल र शक्तिले गर्दा एकतीस वर्ष रोकिएको देवालीलाई उनले सञ्चालन गराए।

देवाली बन्धुहरूको पर्व, उत्सव, एउटा परम्परा र संस्कृति। घरघरमा कुललाई भनेर बोका छोड्नुपर्ने। थानीलाई पाठी र भाञ्जालाई भेडो या सेतो बोको चाहिने। कुलपूजाको चार-पाँच दिन अगाडिदेखि नै बन्धुहरूको घरघरमा उत्सवको वातावरण हुने।

गोठको धूप, संसारी माइको पूजा लगायत स्थानीय देवीदेवताको पूजाआजापछि गादीघरमा धामी बसी घाँड-चम्मर निकालेर प्रत्येक बन्धुहरूको घरमा हेर्रहेर्र भन्दै धामीहरू घर घुम्न र बोका पर्साउन जानुपर्ने। हातमा घण्ट-चम्मर बोकी गलामा रुद्राक्षका माला लगाएका धामीहरूसँग अरू बन्धुहरूको लस्कर गाउँका सबैलाई रहरलाग्दो हुन्थ्यो।

अघिल्लो दिन गादीघरमा थानीपूजा गरेर सालु–देउराली घुमी मण्डल बारेर भोलिपल्ट बिहानैदेखि घरघरबाट महिलाहरूले सोली र अरूहरूले लिङ्गा–ध्वजा सहित बोकाहरू लिएर गादीघरमा भेला भई दियो, कलश, खुँडा लगायतका कुलदेउताका साथ डोली बोकी पञ्चैबाजा बजाएर धामीहरूको हेर्रहेर्र सँगै सयौं मान्छेको लस्कर सहित मण्डप जाँदाको दृश्य साँच्चै आकर्षक र रमितलाग्दो देखिन्थ्यो। मण्डपमा त झन् घरघरका निम्तालु र छरछिमेकी लगायत वल्लागाउँ-पल्लागाउँका रमितेहरू देवाली हेर्न प्रशस्त आउँथे। धामी, बन्धु, निम्तालु र अरू गाउँलेहरूको जमघटले मण्डपदेखि परपरसम्म भरिभराउ हुन्थ्यो।

हामी केटाकेटीहरूलाई यस्तो लाग्थ्यो कि धामी भनेका ठूला मान्छे हुन्। धामीहरूले चाहे जे पनि गर्न सक्छन्। मान्छे मार्न पनि सक्छन्। बचाउन पनि सक्छन्। अझ नाम चलेका र विभिन्न कला देखाउने धामीहरू त देउतै हुन्। उनीहरूको मानमनितो ठूलो हुन्थ्यो गाउँमा। धामी बस्न जाँदा मीठोमीठो खान पाउँथे पैसा पनि राम्रै भेट्थे।

धामीसँग प्रभावित भएर हामी केटाकेटीहरू चाहिं उनीहरूको नक्कल गर्थ्याैं। उनीहरूकै जसरी काम्न खोज्थ्यौं। धामीले बान हानेको मज्जा आउँथ्यो। हामी त्यस्तै बान हान्न खोज्थ्यौं।

त्यतिखेर हामीलाई पढेर के बनिन्छ भन्ने कुरा पनि थिएन। पढेर ठूलो हुनुपर्छ चाहिं भन्थे बाआमाहरू। तर, ठूलो भनेको कस्तो हो कसैलाई थाहा थिएन। ठूला भनेका हामीलाई पढाउने मास्टर र तिनै धामीहरू हुन् भन्ने लाग्थ्यो। मास्टर हुन त पढ्नुपर्छ। तर, धामी हुन पढ्नु पर्दैन। त्यसैले हामीलाई पनि उनीहरूकै जस्तो देउता चढिदिए हुन्थ्यो जस्तो लाग्थ्यो।

कुल धामीहरूले कुल बोलाएको र देवाली गरेको देखेपछि हामीलाई कुलका धामीमै बढी रस बस्न थाल्यो। किनकि, ढ्याङ्ग्रे धामीभन्दा उनीहरूको नक्कल गर्न सजिलो हुन्थ्यो। दुई चार साथी भेला भई हातमा सेउला लिएर हेर्रहेर्र भन्दै उफ्रेपछि बहुत मज्जा आउने।

अहिले सम्झन्छु,

ऊ बेला मतानको काजी, पल्लाघरका रामजी र म मिलेर यसो मौका मिल्नासाथ धामी बसिहाल्थ्यौं। धामी बस्ने सामग्री जुटाउन हामीलाई गाह्राे पर्दैनथ्यो। साँच्चिकै सामग्री त कहाँ पाउनु र! जहाँ छौं तीं उपलब्ध हुने ढुङ्गा, माटो, बाँसका पट्याँस, रूखका हाँगाबिंगा र सेउलाहरू हाम्रा लागि धामीका सामग्री हुन्थे।

को कसरी उफ्रिन्छ, कसरी काम्छ, त्यसको नक्कल गर्थ्याैं। घरका ठूला मान्छे काममा गएका बेला दुई तीन जना मिलेर एउटाकोमा धामी बस्थ्यौं। कहिले ढ्याङ्ग्रे धामी र धेरै जसो कुलका धामीको नक्कल गर्थ्याैं। रुद्राक्षका मालाको सट्टा आमोईहरूका प्वाँलाका माला लाउँथ्यौं। चामल नहुँदा टपरामा च्याँख्ला राख्थ्यौं। गोबरमा दुम्सीका काँडाको सट्टा मकै भुट्ने कप्टेरा भाँचेर गाड्थ्यौं।

घण्टी त कहाँ भेट्नु र! हतेउरीको डोरीमा त्यस्तै केके झुण्ड्याएर झ्याम्टा बनाउँथ्यौं। बाँसका सिटाको गजो बनाएर भात खाने थाल ठटाउँथ्यौं। कुखुराका चल्ला समातेर घर घुम्थ्यौं। एकजनाले बान हान्दा ऊ नबौरियुञ्जेल अरूले समात्थ्यौं। घरको आँगन, बारीका सुर्का र वस्तुभाउ चराउन जाँदा तिर्पालीको घरमाथिको पाखो र सिउरामे खेतका गराहुँदि यसो तारतम्य मिलाएर धामी बसिहाल्थ्यौं। कहिलेकाहीं स्कूलै नगएर आइतबारे खोल्सामा सानो मण्डप बारेर देवाली गथ्र्यौं। यसो गर्दा घरकाले केही गरी थाहा पाए भने बेलाबेला उनीहरूको राम धुलाइ पनि मजैले भेट्थ्यौं।

यसरी हाम्रो बाला जिन्दगीको धेरैजसो समय धामी हेरेर, धामीको गला/कलामा रमाएर र धामीकै नक्कल गरेर बित्यो। तर, जति रहर गरे पनि ज्यानमा काम्ने कसैगरी चढेन। देउताले कहिल्यै पत्याएनन्।

प्रकाशित: २८ माघ २०८० १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App