८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ!

गजल

१) गजल

खुलेआम-खुलेआम जसलाई दमन गरेर,

के नाटक गर्नु फेरि उसैलाई नमन गरेर।

भत्काइसक्यौ तिमीले जो दिलको धरातल,

के  पाउँछौ व्यर्थै त्यसमा भ्रमण गरेर।

भो नठान दिलको आगो सजिलै निभ्छ,

केवल बाहिरी मुखले विष वमन गरेर।

कस्तो बिडम्वना बीच बाटोमै दुर्घटना हुन्छ,

फर्केका हुन्छन् यात्री देउताको दर्शन गरेर।

जो देखिरहेछ सामु भोकले तड्पेका मान्छे,

उहीं पुण्य कमाउँछु भन्छ चरू हवन गरेर।

२) गजल

तिम्रो अपरिमित प्यार चुम्बनमा आई टुंगियो।

अटेसमटेस थ्यो खुशी मुस्कानमा आई टुंगियो।

कहाँकहाँ पुग्छु भन्थ्यौ पखेटा फट्फटाउँथ्यौ,

आखिर तिम्रो यात्रा मेरो आँगनमा आई टुंगियो।

रहर बोकेर अनन्त एक्लैएक्लै बगिरह्यौ,

अन्ततः तिम्रो प्रवाह दोभानमा आई टुंगियो।

परदेशी जस्तो तिम्रो मनको उडान,

खोज्दै बास मेरो धड्कनमा आई टुंगियो।

३) गजल

समयले जिन्दगीको हिसाब दिन सकेन,

पारिरह्यो अन्यायमा निसाफ दिन सकेन।

साँझ लग्यो बिहान लग्यो, लग्यो सबै जोवन,

सट्टामा काँडा दियो गुलाफ दिन सकेन।

उसले भने धेरैधेरै व्यञ्जनहरू निलिरह्यो,

मेरो भागमा हड्डी फ्याँक्यो कवाफ दिन सकेन।

किन यत्ति कृपण छ ऊ बारबार सोधिरहें,

प्रश्नको ताँती लाग्यो जवाफ दिन सकेन।

४) गजल

मान्छेमा हेर इमानको अभाव छ साथी,

साँच्चै यो जमाना खराब छ साथी।

बरा भन्दै जरा खन्न किन पछि पर्थे,

मान्छेहरूकै त दुष्ट स्वभाव छ साथी।

आफ्नोपन बिर्सिएर पराईतिर ढल्किजाने,

हामीमा खै कस्को यस्तो प्रभाव छ साथी।

आफन्त सबै अनि आफैंलाई भुले पनि,

भुल्नै नसक्ने प्रिय उसको सराब छ साथी।

सक्कली  रूप कसको के हो चिन्न सकिन्न,

हर मान्छेको मुहारमा अचेल नकाव छ साथी।

५) गजल

हरेक दिन जिन्दगी फरक भएर जान्छ,

बाटो न हो हिंडिरहे सडक भएर जान्छ।

अभिनय धेरै हुन्छन् दुनियाँको रंगमञ्चमा,

हेरिरहन्छ जिन्दगी दर्शक भएर जान्छ।

कसैलाई त रछ्यान चलाई मुखमा छिटा परे पनि,

कसैलाई त जिन्दगी महक भएर जान्छ।

निर्दोष निर्दोष ती अँध्यारा अनुहारहरूमा,

जून उदाउँछ अनि जिन्दगी चमक भएर जान्छ।

केही गरौं नयाँ काम, कामबाटै सिकिरहूँ,

भन्नेहरूलाई त जिन्दगी सबक भएर जान्छ।

प्रकाशित: २३ माघ २०८० १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App