१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हिंडे पुगिन्छ कपिलवस्तु ‘टु’ केरुङ

घुमफिर

कतै सुनेको एउटा कथा यस्तो छः तराईबाट पाँचवटा भ्यागुता हिमाल चढ्ने भनेर निस्के रे। बाटोमा आउँदै गर्दा उनीहरूको यात्राबारे धेरैले चासो राखेछन्। कान फुक्नेहरूले त्यति टाढा, त्यति अग्लो भन्दै नसकिने सुनाएछन्। यात्रा अगाडि बढ्दै जाँदा हिमालमा चाहिँ एउटा भ्यागुतो मात्र पुगेछ। सबैलाई अचम्म लागेछ, अरूले बिचमै यात्रा छाडे पनि यो भ्यागुतो चाहिँ कसरी पुग्यो? व्यापक परीक्षण भएछ भ्यागुताको। अन्त्यमा डाक्टरले निष्कर्ष निकालेछन्– ‘यो भ्यागुताले दुवै कान सुन्दैन।’

कथाको सार अरूको कुरा नसुनी आफ्नो गन्तव्यमा निरन्तर हिँडे पुगिन्छ भन्ने हो। हो ‘हिँडे पुगिन्छ’ भन्ने पुस्तकका लेखक एवं पर्यटन अभियन्ता राजन सिम्खडाले हालै कथाको भ्यागुताको जस्तै तराईदेखि हिमालसम्मको यात्रा तय गरेका छन्।

लामो समयदेखि नेपालको पर्यटन प्रवर्धनमा लागेको अर्थवाउन्ड एक्सपिडिसनका अध्यक्षसमेत रहेका सिम्खडाले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको जानकारी दिए।

सिम्खडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिए। ‘हामीले पदमार्ग भन्नेबित्तिकै हिमाली क्षेत्र मात्र भन्ने बुझ्छौं,’ उनी भन्छन्, ‘तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदमार्गको अध्ययन गरेका हौं।’

पर्यटन क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्दै आएका सिम्खडाले योगमार्फत पर्यटक आकर्षित गर्ने प्रयाससमेत गरेका थिए। ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ भन्ने भावना बोकेका सिम्खडाले तराईदेखि हिमालसम्मको पदयात्राले मनहरू पनि जोड्ने विश्वास व्यक्त गरे।

‘नेपालमा हिमालको उचाइ मात्र होइन, तराईको समथर सौन्दर्य र पहाडका रमाइला घुम्ती पनि छन्,’ राजन सिम्खडाले भने, ‘नेपाल घुम्न आउने पर्यटकलाई सिङ्गो नेपाल घुमाउने उद्देश्यले नयाँ बाटोको खोजीमा निस्केको हुँ।’

उनले कपिलवस्तुको खुनुवानाकाबाट उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभन्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुन्जे, मेगाङ, साल्मे, गोंगा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे, रसुवागढीस्थित केरुङ रहेको छ।

टोलीले भगवान् बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभन्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो।

‘यो मार्गमा शान्तिका लागि बुद्ध भगवान्ले हिँडेको बाटोदेखि नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाह निस्केको बाटोसमेत पर्छ,’ सिम्खडा भन्छन्, ‘धार्मिक, ऐतिहासिक र प्राकृतिक संयोजनले यो मार्गको यात्रा झनै सुन्दर हुने छ।’ अहिले बाटोमा ‘टी’ सपहरूको अभाव रहे पनि बिस्तारै त्यो पूरा हुने उनको विश्वास छ।

समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका 
पुग्न सकिन्छ।

नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत थिए। हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए। ‘म धेरैपटक नेपाल आएँ तर हिमाल मात्र मेरो रुचि रहेन,’ उनले भने, ‘भौगोलिक विविधताका कारण नेपालको जुनसुकै भागको पदयात्रा पनि उत्तिकै रोमाञ्चक पाएँ।’
तराईदेखि हिमाल जोड्ने यो पदमार्ग ४४० किलोमिटर भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिम्खडाले बताए। नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिम्खडाको भनाइ छ।

तराई–हिमाल जोड्ने अन्य पदमार्ग पनि सरकार र स्थानीय निकायले अन्य ठाउँमा समेत बनाउन सक्ने उनको विश्वास छ। पूर्वी नेपाल होस् या मध्य नेपाल, जताबाट पनि यो काम गर्न सकिने उनले सुनाए।

‘यसरी अगाडि बढे समग्र नेपालले पर्यटनको लाभ लिन सक्छ भन्ने विश्वास हो,’ उनी भन्छन्, ‘सबैले आफ्नो तर्फबाट सहयोग पुर्‍याउने हो भने यो पर्यटनका लागि नयाँ आयाम बन्न सक्छ।’

धादिङमा जन्मेर काठमाडौं आइ विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिम्खडाले पर्यटन क्षेत्रमा नौला काम गर्न आफू सधैं लाग्ने बताए। ‘पर्यटनले हामीलाई केही राम्रो गर्‍यो,’ उनी भन्छन्, ‘पर्यटनको आम्दानीबाट सिंगो मुलुकले लाभ लेओस् भन्न चाहन्छु।’

नेपाल बोर्डर टु बोर्डर थु्र हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भूभाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भूभाग समेटिएको छ।

आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिम्खडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो। यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए।

यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिम्खडाले जानकारी दिए। आफू अनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन्।

दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो। ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटल मात्र उपयोग गरिएको उनले बताए। भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने सिम्खडा बताउँछन्।

उनका अनुसार २० दिनका लागि तीन हजार पाँच सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेकोसमेत सिम्खडाले सुनाए। ‘यसलाई पार्ट पार्ट गरेर पनि पूरा गर्न सकिन्छ,’ उनले भने, ‘यसलाई सुधार गरेर अगाडि बढ्ने धेरै ठाउँ रहेका छन्।’

प्रकाशित: २० माघ २०८० १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App