२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सीतारामको चर्चा र पितृसत्ताको गुनासो

भर्खरै मात्र भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो। र, यसको चर्चा केवल भारतमा मात्र नभएर नेपाल अनि विश्वभर नै भयो।

समाचार माध्यमले विशेष चासो र चर्चाका साथ यसलाई प्रसारण गरे। कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन यो कार्यले भन्ने तथ्य विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागिताले पुष्टि गरेको छ।

सीतारामबाट जीवनमा सिक्ने र अपनाउने तथ्य र सत्य भनेकै जीवनलाई मर्यादित कसरी बनाउने र सम्मान, भक्ति एवम् प्रेममार्फत आदर्श नारीका गुणलाई आफ्नो जीवनमा कसरी विकसित गर्ने भन्ने नै हो।

आफ्नो जीवनलाई छाडेर तर्क र व्याख्यामा अल्झिने हो भने त हाम्रो पुरुषवादी सोच र महिलावादी धारणा दुवैमा सीतारामको महत्व प्रस्ट नहुन सक्छ। भर्खरै अयोध्यामा सम्पन्न राममन्दिरको प्राणप्रतिष्ठापछि पनि धेरै महिलाहरूबाट सीतालाई दिइएको कष्ट र अग्नि परीक्षाका कथा जोडेर पुरुष प्रभुत्व संरचनाको धज्जी उडाएको पनि पाइयो।

धर्म, जाति र व्यवहारका आधारबाट महिलालाई पछि पारिनु अवश्य राम्रो होइन तर विभेदको सिर्जना र हिंसात्मक कार्य महिला र पुरुषका रूपमा आउँदैन, एक अहंकारका रूपमा आउँछ।

चेतनाको स्तरमा प्रज्ञा, मर्यादा र सम्मान विकसित नहुँदा विभेद सिर्जना हुने हो। रोग कहाँ छ र उपचार के हो थाहा पाउने प्रयास नगरी कथा र व्यथामा तर्क गर्नाले कहिल्यै पनि समाधानको मार्ग निस्किन्न र विभेद स्वयम्मा प्रकट भइरहेको हुन्छ।

आत्मबल कि महिलावाद?

सनातन र पुरातन सोचले गर्दा महिलाहरूले सर्वपक्षीय सुरक्षा र अधिकार प्राप्त गरेका छैनन्। महिलाहरूलाई कमजोर प्राणी मानेर आत्मबल विकसित हुने अवस्था सिर्जना हुन नदिनुको कारण नै पितृसत्ता, जातिवाद, विस्तारवाद र पुरुषवादी एकल लैंगिक प्रभुत्वमा आधारित सोचलाई परास्त गर्ने आयाम महिलावाद हो भनेर मात्र बुझ्नु पनि हुँदैन।

आत्मबल आत्मदेखि निस्किने शक्ति हो, यो आन्तरिक शक्ति महिला र पुरुषभन्दा अलग शक्ति हो, त्यसैले लैंगिक भाष्य प्रयोग गर्दैमा महिला या पुरुषको आत्मबल विकसित हुने होइन।

आत्मबल विकास गर्नका निम्ति आफूमा भएको आन्तरिक रहस्य र ऊर्जालाई आत्मसात गर्ने कला जान्नु जरुरी छ। अध्यात्म त्यही आन्तरिक रहस्यलाई उजागर गर्ने माध्यम हो। त्यसैले सीतारामलाई धर्म र व्यक्तिसँग अर्थात् शरीरसँग मात्र नजोडेर, भौतिकतासँग यसको अर्थ नखोजेर आफ्नो सर्व सामथ्र्य बल अर्थात् शक्तिलाई जान्ने हो भने आत्मबल विकास गर्नका लागि महिलावादको आयामबाट जानुपर्छ भन्ने छैन।

किनकि, महिला र पुरुषलाई शारीरिक बनावटले इंगित गर्छ भने आत्मबल शरीरभन्दा भित्र, आन्तरिक रूपमा रहेको सर्वोपरि आत्माको शक्तिसँग जोडिनु हो। कामना, वासना, भौतिक समृद्धि, सिद्धान्तको विजय शरीरसँग, शारीरिक शक्तिसँग जोडिएर आउला तर आत्मीयता, प्रेम, सदभाव, उदारता, सहजता र समुन्नत बन्नका लागि आत्मबललाई उजागर गर्नु जरुरी हुन्छ। आत्मबल त्यो क्षमता हो, जुन जति मात्रामा विकसित हुन सक्छ, त्यति नै सजगता र विवेकका साथ कार्य गर्न सकिन्छ।

आत्मबल जाच्ने कसी भनेकै आफूमा भएको सुसंस्कृत कर्म र सदाचारका साथ सत–उद्देश्य र सत–प्रयोजनका साथ कर्म गर्दै अनुकूलतामा धन्यवाद व्यक्त गर्ने र प्रतिकूलतामा धैर्य साँध्ने अभ्यास हो।

सीतारामको वनवासलाई आफ्नो जीवनशैलीको धैर्यसँग जोडेर हेर्न जान्ने हो भने फेरि वनवासको सजाय र सीताले पाएको कष्टलाई कथामा बदलिरहनुपर्दैन। त्यसलाई प्रतीकात्मक मानेर आफ्नो जीवनमा धैर्य, सम्मान, भक्ति र मर्यादा विकसित गर्न सक्नु कमजोरी होइन, बरू आत्मबलको उदाहरण हुनेछ।

आफ्नो आन्तरिक शक्ति, आत्मगत शक्ति, दिव्य ऊर्जा र आत्मविश्वाससँग नजिक हुनका लागि कसैका कथाव्यथालाई तर्क र मान्यतामा उल्झाएर अधिकार खोजिरहनु पनि जरुरी छैन। अधिकार त जन्मसँगै सबै मनुष्यलाई अस्तित्वगत रूपमै प्राप्त छ। अधिकारका निम्ति आवाज उठाउनुपर्ने बाध्यता अप्राकृतिक अभ्यास हो। हाम्रो समाजले दिएको संस्कार र व्यवहारको परिणाम हो।

सीतारामको प्रेम

सीतारामको प्रसंग भनेकै उनीहरूको गहिराइपूर्ण आत्मगत प्रेम, निष्ठा, त्याग, अटुट विश्वास, श्रद्धा र न्यायको प्रतीक हो। सीतारामको उदाहरण पतिपत्नीको उदाहरण र धार्मिक एवम् आध्यात्मिक देवीदेवताको प्रसंग मात्र नभएर महिला–पुरुषमा हुनुपर्ने अद्वितीय गुण, मानवीय मूल्यमान्यता र लक्ष्मी एवम् विष्णु अर्थात् आत्मिक सम्पन्नता र न्यायसंगत हुन सक्नु हो।

विष्णु अर्थात् व्यापकता, बहु आयामबाट जीवनलाई सन्तुलित बनाउने संज्ञा पनि हो। सीता आफ्ना पतिदेव रामप्रति वचनबद्ध हुनु, पतिव्रतामा रहनु, धैर्यसाथ समर्पण र स्थिरतालाई कायम राख्नु कमजोरीको संज्ञा होइन। त्यो त साहस हो।

संगठित पारिवारिक मेलमिलाप, मर्यादा, सहनशीलता, निर्देशनको पालना, समयानुकूल भूमिकाको निर्वाह सबैको जीवनमा प्रेरणादायी उदाहरण पनि त बन्न सक्छन्। आफ्नो प्रेम र परिवारका लागि त्याग गर्नु कमजोरीको संज्ञा मान्नुपर्दैन।

त्याग र समर्पणलाई आत्मसात गर्न नसक्नुको कारणले आजको समयमा पारिवारिक विखण्डनको समस्या बढ्दै गइरहेको महसुस गर्न सकिन्छ। उच्चतम प्रेम र विश्वासमा जीवन बाँच्ने हो भने एकअर्काको सहकार्य र सदाचारमा सानो र ठुलो, महिला र पुरुषको भिन्नता आउन दिनुहुँदैन।

आफ्नै परिवारमा लैंगिक विभेदका मुद्दा उठाउँदै जाने हो भने विश्वास कसलाई गर्ने ? भावनात्मक सम्बन्ध बाहिरबाट आर्जन गर्ने विषय होइन, यो प्रत्येक मनुष्यले पाएको गुणवत्ता हो।

चुनौतीलाई आत्मसात गर्ने शक्ति

ओशो भन्नुहुन्छ- ‘मानिस कति स्वार्थी छ भने उसले भनेजस्तो अनुकूल भयो भने खुसी हुन्छ तर प्रतिकूलता आउनासाथ आफ्नै जीवन र भगवान्लाई समेत सराप्न थाल्छ।’ समर्थगुरु सिद्धार्थ औलिया भन्नुहुन्छ-‘परमात्मा मंगलमय छ।

आजको प्रतिकूलता भोलिको अनुकूलता हुन सक्छ। चुनौतीलाई स्वीकार गर।’ जब परमात्मा मंगलमय छ भने दुःखको भारी आफ्नो टाउकोमा किन बोक्नु? दुःख या चुनौती जे सुकै आओस्, अस्तित्वलाई नै सबै समर्पण गर्ने कला सिके पुगेन र? सहज छैन, त्यसकै लागि त धैर्य र प्रज्ञा आवश्यक छ।

राजा दशरथ र रानी कौशल्याको कोखबाट जन्मेका अयोध्याका राजकुमार राम जसलाई हिन्दु धर्ममा एक प्रमुख देवता भगवान् विष्णुको सातौं अवतार पनि मानेको छ, उनलाई समेत वनवासको सजाय भयो तर हाँसीखुसी त्यो चुनौतीलाई आत्मसात गरे। उनकी सौतेनी आमा कैकेयीको इसारामा चौध वर्षसम्म जंगलमा निर्वासित गरियो।

आफ्नो वनवासको समयमा धेरै चुनौतीको सामना गर्नुपरे तापनि रामले आफ्नो सिद्धान्त र कर्तव्यहरू पालन गरे। उनको धार्मिकताप्रतिको अटुट भक्ति र कर्तव्यबोधले उनलाई हिन्दु धर्ममा एक श्रद्धेय व्यक्ति मात्र नभएर देवताका रूपमा चिनायो।

त्यसैगरी, देवी सीता मिथिलाका राजा जनककी छोरी थिइन्। राजा जनकको दरबारमा अनेक शक्तिशाली विद्वान् पुरुषहरूसँगको प्रतिस्पर्धामा सजिलै धनुष तोडेर राजा जनकको मन जितेर आफ्नी छोरी सीतालाई रामसँग स्वयंवर गरिदिन्छन्। तिनै राजकुमारी आफ्ना पति रामसँग वनवास जान्छिन्।

त्यही समयमा रावणद्वारा अपहरणमा परेर रावणले उनलाई लंकाको आफ्नो राज्यमा लान्छ। कैदमा रहँदा सीताको रामप्रतिको अटल भक्ति र उनको अटुट गुणले उनलाई एक श्रद्धेय व्यक्तित्व बनाउँछ। रामले सीतालाई रावणबाट बचाउँछन् र उनीहरूको पुनर्मिलन हुन्छ।

राम र सीताको प्रसंग चुनौतीको सामना, खराबमाथि असलको विजय, धार्मिकताको महत्त्व र प्रेम एवम् सद्गुणको चिरस्थायी शक्तिका लागि एक ज्वलन्त उदाहरण बन्न पुग्छ। राम र रामायणको प्रसंग हिन्दु धर्मावलम्बीका लागि मात्र होइन, मानव जीवनमा नैतिक र नैतिक शिक्षाको स्रोत पनि हो।

साधनलाई जान्ने साध्यलाई नबुझ्ने अनि साधारण कुरा बुझ्ने तर असाधारणतालाई आत्मसात गर्न नसक्नेको मन र विचारमा सधैं तर्क र विरोधाभास उत्पन्न हुन्छ। त्यसैले राम तत्वलाई सभ्यता र शिष्टताको गुणसँग आत्मसात गर्न सक्ने बन्न सकेको क्षण आफैंभित्र सीताराम महसुस हुनेछ।

प्रकाशित: २० माघ २०८० ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App