१२ असार २०८१ बुधबार
image/svg+xml
कला

जो पढ्छ, उसको आयु बढ्छ!

यस्ताे पनि!

फाइल तस्वीर

जो नियमित रूपमा स्कुल र कलेज जान्छ, उसले लामो आयु पाउँछ भनी विज्ञहरूले बताएका छन्। बेलायत, अमेरिका, चीन, ब्राजिलजस्ता मुलुकमा गरिएको अध्ययनले हरेक वर्ष स्कुल/कलेज जाने नियमित विद्यार्थीको आयु प्रतिवर्ष दुई प्रतिशतका दरले बढ्ने गरेको देखिएको छ।

प्राथमिक विद्यालयको अध्ययन पूरा गरेको विद्यार्थी र पूर्वमाध्यमिक विद्यालय अध्ययन गरेको विद्यार्थीबीच खानपिनमा निकै फरक देखिएको छ। बढी पढेकाहरू खानपिनमा बढी सजग हुने हुनाले प्राथमिकका विद्यार्थीहरूको मृत्युको खतरा अन्यको तुलनामा ३४ प्रतिशत बढी देखिएको द लान्सेन्ट जर्नलले जनाएको छ। प्राथमिक स्कुल मात्र पूरा गरेका विद्यार्थीहरूले वयस्क हुञ्जेल रक्सी र चुरोटको लत बढी हुने समेत देखिएको छ।

कलेज तथा विश्वविद्यालयीय शिक्षा र तिनका विद्यार्थीहरूको दीर्घजीवनबीच के कस्तो सम्बन्ध छ भन्नेबारे अमेरिका तथा नर्वेका दुई विश्वविद्यालयले मिलेर एउटा प्रणालीगत हिसाब निकालेका छन्।

 कुन विद्यार्थीले कति कक्षा पास गर्‍यो भने उसको स्वास्थ्य अवस्था दीर्घकालमा कस्तो हुन्छ भनी यी दुई विश्वविद्यालयले तथ्यांक निकालेका थिए। तथ्यांकले शिक्षा र स्वास्थ्यबीच अभिन्न सम्बन्ध रहेको युनिभर्सिटी कलेज लण्डनका नील डेभिसले जनाएका छन्। उनी अध्ययनमा बेलायतका तर्फबाट मेडिकल तथ्यांकशास्त्रीका रूपमा खटिएका थिए।

‘जतिजति तपाईंको अध्ययन बढ्दै जान्छ, तपाईंले आफ्नो स्वास्थ्यको ख्याल उति बढी गर्दै जानुहुन्छ। उच्च शिक्षा नलिएकाले भविष्यमा पाउने स्वास्थ्य सुविधा गुमाउँदै जाने सम्भावना हुन्छ। यसअघि जति बढी समय उच्च शिक्षामा बिताएको छ, उति नै बढी कमाउने सम्भावना तिनमा बढी हुने अध्ययनमा देखिएको थियो’, डेभिस भन्छन्, ‘जति कलेज जानेहरू घट्छन्, उति उनीहरूले कम काम पाउँछन् र जति कम काम पाउँछन्, स्वास्थ्यमा उति असर पुर्‍याउँछ।’

यसैगरी शिक्षित मानिस धनी भए पनि गरिब भए पनि, धनी मुलुकको भए पनि वा गरिब मुलुकको भए पनि यसले प्रभाव पार्ने देखिएको छ। गरिब मुलुकको शिक्षित गरिब र धनी मुलुकको अशिक्षित धनीको स्वास्थ्यमा उनीहरूको शिक्षाले फरक पार्ने पनि देखिएको छ।

शिक्षितको सूचना बुझ्ने क्षमता बढी हुने भएकाले पनि उसले समस्या पहिल्याउने र सुविधा लिने गरेको देखिएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १९ माघ २०८० ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App