१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पातमा बालेनकाे तस्वीर

पातमा आफूले बनाएको काठमाडौंका मेयर बालेन्द्र साहको आकृति देखाउँदै विराज। तस्बिर: गोल्डेन बुढा/नागरिक

जुम्लाको चन्दननाथ नगरपालिका–२ का २४ वर्षीय विराज भण्डारीको पातमा आकृति कोर्ने कला छ। उनले पातमा मान्छे तथा विभिन्न वस्तुको आकृति बनाएर आम्दानीसमेत गर्न थालेका छन्। विराजले पहिला कला प्रतिस्पर्धा गर्थे। बिस्तारै पातमै मानिस तथा विभिन्न वस्तुको आकृति कोर्न थाले। अहिले यही कलामा रमाइरहेका छन्।

विराज सन् २०२० मा लकडाउनको समयमा युट्युब हेरेर यस्तो कला सिकेको बताउँछन्। विराज भन्छन्, ‘सिक्दासिक्दै कलामा प्रतिस्पर्धा पनि गरियो र राम्रो नतिजा आएपछि विगत दुईतीन वर्षदेखि पातमा आकृति कोरेर रमाइरहेको छु।’

उनले सबैभन्दा पहिला भारतको ताजमहलको तस्बिरको आकृति पातमा बनाएको देखेका थिए। उनले यो कला देखेपछि यसको नक्कल गरेर पातमा चित्र कोर्न सुरु गरेको बताउँछन्।

‘सुरुमा नेपालको नक्सा कोरेर हेर्दा राम्रो लाग्यो। पछि बिस्तारै पातमा आकृति कोर्ने दैनिकी नै हुन थाल्यो। अहिले विभिन्न मानिसका आकृति बनाइसकेको छु। यसमा म सन्तुष्ट छु,’ उनले भने।

हालसम्म करिब पच्चीस सय मानिस तथा विभिन्न महत्त्व राख्ने स्थानको आकृतिमा पातमा बनाइसकेको उनले बताए। पातमा कोरेको चित्रमा सामाजिक सञ्जालबाट पनि निकै प्रोत्साहन आएपछि यसलाई निरन्तरता दिँदै आएको उनले बताए।

मान्छेको आकृति जस्ताको तस्तै बनाउन थालेपछि अहिले उनले काम गरेको पारिश्रमिक पनि पाउने गरेका छन्। एउटा पातको आकृतिबाट एक हजारदेखि माथि आम्दानी हुने गरेको उनी बताउँछन्।

विराज यसका अलवा आंशिक समयमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यापन पनि गराउने गरेको बताउँछन्। उनको सिपको कदर गर्दै कला प्रशिक्षकको अवसर पनि उनलाई दिइएको छ।

जुम्लाको महत गाउँस्थित जनता माविमा हाइस्कुल, नासा कलेज काठमाडौंमा १० प्लस दुई हुँदै गौरादहमा बिएससी एजी उत्तीर्ण गरेका विराजको यो सिपले अहिले चर्चा पाएको छ। कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले पातमा चित्र र आकृति कोर्ने काममा उनको राम्रो कला भएको बताए।

विराजले पछिल्लो समयमा कुलमान घिसिङ, बालेन्द्र साह, लक्ष्मीप्रसाद देवकोटासहितका व्यक्तिहरूको आकृति कोरेका छन्। उनले विशेषगरी पिपल र केराको पातमा आकृति बनाउँछन्। 

प्रकाशित: ११ माघ २०८० ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App