२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

डोटीको बडिकेदार लानाका चेलीबेटी बेहुलाबेहुली बनेर रमाउँदै। तस्बिरः नागरिक

आज माघ ३ गते। घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै वनभोज खाँदै रमाउने दिन। अर्थात् सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व। सूर्य उत्तरायण हुने भएकाले हरेक वर्ष माघ ३ का दिन सुदूरका महिला ‘स्वतन्त्रताको पर्व’ का रूपमा उत्तरायणी मनाउने गर्छन्। आज सुदूरपश्चिमका चेली उत्तरायणी भन्दै वन डेउडा खेल्दै ‘कुनकेउलो’ (वनभोज) खान व्यस्त छन्।

माघे संक्रान्ति मनाउन माइती आएका दिदीबहिनी र अविवाहिता चेलीबेटी मिलेर उत्तरायणीका दिन केही काम नगरी वनभोज जाने र डेउडा खेल्ने गर्छन्। उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका महिला घरधन्दाको काम अघिल्लो दिन सक्ने गर्छन्।

‘उत्तरायणीका दिन गोठको गोबरसमेत सोहरिँदैन अर्थात् केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ’, डोटीको बडिकेदार घर भई हाल सुखडमा बसोबास गर्दै आएकी दुर्गा बिष्टले भनिन्, ‘उत्तरायणीका दिन रमाइलो गर्न घरधन्दा अघिल्लो दिनै सक्छन्।’

उत्तरायणीका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन्। ‘यो दिनलाई सुदूरका महिलाले ‘महिला स्वतन्त्रताको दिवस’ का रूपमा मनाउने गरेको उनले बताइन्। उत्तरायणका दिन महिलाले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा सुदूरपश्चिम संस्कृतिमा विद्यावारिधि गरेका डा. टीएन जोशी बताउँछन्।

डोटीको बडिकेदारका चेलीबेटी उत्तरायणीका अवसरमा कुनकेउलो (वनभोज) पकाउँदै।

सुदूर संस्कृतिमा उत्तरायणका दिन महिलाले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रूपमा समेत हेरिएको बताउँदै उनले भने, ‘महिला स्वतन्त्रताको प्रयास सुदूर संस्कृतिमा युगौंदेखि थालिएको यसबाट पनि प्रस्ट हुन्छ।’ यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै देउडा खेल्ने गरिएको उनले बताए।

आजका दिन सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रूपमा मनाउने गरिएको सुदूरपश्चिमका चर्चित डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रूपमा लिइएको बताउँदै उनले भने, ‘यो उत्तरायणी परम्परागत रूपमा चलिआएको पर्व हो।

यसमा चेलीबेटीहरू स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर डेउडा खेल्ने गर्छन्।’ यस दिन महिलाहरू रनपुतला खेल्ने गर्छन्। महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला। छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले वीरहरूका गाथा गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन्। 

पुतली झैँ सिँगारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा नक्कली जोडी बनाएर नजिकैको पँधेरोमा लैजाने चलन छ। स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुलाबेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याई वन डेउडा तथा भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन्। यस दिन चेलीबेटी दालभात र डुब्का (मासको दालबाट बनेको तिहुन) खाने गर्छन्।

प्रकाशित: ३ माघ २०८० ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App