७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!

पाँच मुक्तक

(१) मुक्तक

देश छोडेर विदेशतिर, पाइलाहरू चाल्दैछु म,

पसिना बेचेर परदेशमा, घरको चुल्हो बाल्दैछु म।

चर्को घाम जोखिम काम, साहुको गाली खाँदै,

वर्षौं देखि यसैगरी, जहान बच्चा पाल्दैछु म।

(२) मुक्तक

सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै,

आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै।

पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने,

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।

(३) मुक्तक

जिउदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउने छन्,

सबै जना भेला भई वरिपरि, मलाई घेर्न आउने छन्।

बाँचुञ्जेल एकैसरो टालोसम्म नदिने सन्तानहरू,

जनैको साँचो खोज्ने निहुँमा, कात्रोले बेर्न आउनेछन्।

(४) मुक्तक

भोक लाग्दा खाना छैन, छैन बस्ने घर,

घाम अस्ताउँछ राति हुन्छ, लाग्न थाल्छ डर।

बाबुआमा छैनन् मेरा, माया गरी पाल्ने,

मेरा लागि सडकबाहेक, छैन केही भर।

(५) मुक्तक

निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि,

मेरो साथमा सँगै जिउन, तिम्ले पाइला चालेपछि।

क्ति खुशी भयो जीवन, भनी साध्य कहाँ छ र,

मेरो घरमा तिम्रा  हातका, चुरा बज्न थालेपछि।

 -निर्मलरमण पराजुली

प्रकाशित: २ माघ २०८० ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App