२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

जीवनका तन्त्रिकाहरू

निबन्ध

जीवनलाई म औधी मन पराउँछु। तपाईं ठान्नुहोला- म कुनै जीवन नामधारी व्यक्तिप्रति आसक्त छु तर मैले मन पराउने जीवन मान्छे भने होइन। मान्छे नभए पनि त्यो मसँगै साथ लागेर हिंड्छ मेरै अभिन्न छायाजस्तो। यो कवितासँग लुपुक्क टाँसिएर रहने भावजस्तो, कथाको आशयजस्तो, गीतको लयजस्तो। सारङ्गीबाट अनवरत प्रवाहित भइरहने र्‍याइँर्‍याइँ अनि मादलुको पकधुम-पकधुम जस्तो।

जीवनका समष्टिभित्र अनेकौं व्यष्टि हुन्छन्। मेरा जीवनका व्यष्टिहरू पनि सामान्यतया अरूका झैं नै छन्। अनगिन्ती टुक्राहरूमा छरिएको छु। भूमिकाहरू सन्दर्भ अनुसार असरल्ल छन्। म छोरो, बाबु, लोग्ने, भानिज, मामा, भतिज, काका, ससुरा, सम्धी, शिक्षक, विद्यार्थी, नेता, साथी आदिआदिमा विभक्त छु। व्यक्ति एक भूमिका अनेक। म कसैको आदर्श छु र कसैको अनादर्श पनि छु। मन पराइने पनि छु अनि मन नपराइने पनि छु। म जस्तै मेरो जीवन पनि अनेकौं भँगाला भएर अनवरत प्रवाहित छ।

जीवन के हो? कोही सोध्छ। म सम्झिन्छु-सुविधाहरूका साथमा जीवन सुविधाजस्तो, असुविधाहरूका साथमा जीवन असुविधाजस्तो, दुःखमा दुःखजस्तो, सुखमा सुखैजस्तो, अभावमा अभावैजस्तो अनि भावमा भाव नै जस्तो।

परीक्षा हलमा प्रश्न सापेक्षित उत्तर नआएर कलम टोकिरहने अन्यमनस्क विद्यार्थीजस्तो म छटपटाउँछु, र टोलाउँछु जीवनका आयामहरू देखेर।

के तपाईं भन्न सक्नुहुन्छ-पानीको आकार कस्तो हुन्छ? म ठान्छु-कदापि सक्नु हुन्न किनकि पानी जसलाई बोतलमा राख्नेले बोतलै जस्तो, गाग्रीमा राख्नेले गाग्री जस्तो, ग्लासमा राख्नेले ग्लास जस्तो ठान्छ। ठान्नु एउटा भ्रम न हो। जीवनका स्वरूपमा पनि भ्रमले गर्दा मानिसहरू विभिन्न उत्तर गम्छन्।

तपाईं जीवनवादी हुनुहुँदो रहेछ भन्नुभो, ‘कान्छा, जीवन त औधी रमाइलो छ नि!’

अनि अर्का एक सज्जन जो असजिलोबाट गुज्रिरहनुभएको थियो उहाँले तपाईंका कुरा काटेर आफ्ना भावना बिसाउनुभयो, ‘महाशय, कहाँ छ तपाईंले सोचेजस्तो जीवन? म त उकालो मात्र देख्छु यसलाई।’

कुरा नजर र नजरियाको रहेछ। तपाईंको हृदय जस्तो छ जीवनप्रतिको सोच पनि त्यस्तै नै हुने गर्छ। हृदय सफा छ भने जीवन पनि सफा छ, हृदय मैलो छ भने जीवन पनि मैलो।

 हरियो चस्मा लगाएको भैंसीले सुकेको पराललाई पनि हरियो देख्छ रे। नायक हृदय सकारात्मक सोच्छ भने खलनायक हृदय नकारात्मक सोच्छ। आशामा जीवन फक्रन्छ भने निराशामा मुर्झाउँछ। आशाले जीवनको लमाइ अझ तन्कियोस् भनी सोच्छ भने निराशाले जीवनको सारहीन अस्तित्वलाई दर्शन बनाउँछ।

जीवनमा लक्ष्यहरू हुन्छन् तर जीवन नै लक्ष्य भने होइन। यसलाई लक्ष्यसम्म पुग्ने बाटो भन्न सकिएला बरु। कसैले आफ्नो लक्ष्यसम्म पुग्ने बाटालाई विशाल राजमार्ग बनाएका हुन्छन् भने कसैले डोरेटो, गोरेटो अनि सामान्य चक्रेटो मात्र।

बुद्धले आफ्नो लक्ष्य प्राप्तिका दिशामा हिंड्दा हिंडिने बाटालाई विशाल राजमार्ग नै बनाए। जुन राजमार्गमा बुद्ध हिंडे आज विश्व नै त्यो राजमार्ग अनि बुद्धलक्ष्यप्रति नतमस्तक छ। जसले हिंड्ने बाटालाई साँगुरो बनाउँछ त्यसको सम्झना यो सन्सारले गर्दैन। मरेपछि मर्छन् तिनका बाटाहरू अनि सम्झनाहरू पनि इरेजरले मेटिएको अक्षरजस्तो। बाटालाई विशाल राजमार्ग बनाउने काममा एकाङ्गी सोच र चिन्तन एउटा पर्खाल हो।

जीवनमा असरल्ल रहरहरू हुन्छन्। रहरहरू भनेका जीवनका सपनाहरू नै हुन् जुन तपाईंसँग पनि छ, मसँग पनि छ अनि जो कोहीसँग पनि हुने गर्छ। एक किसिमले भन्ने हो भने रहरहरूबाटै त उमारिन्छ लक्ष्यलाई पनि।

रहर जसको सीमा हुन्न। यो कल्पना हो मान्छेको। रहरहरूका चाङबाट एकदुई रहर मात्र छान्नु सजिलो छैन। आफ्नो क्षमतासँग मेल खाने रहर छान्न सक्यो र तदनुसार त्यसलाई भरणपोषण गर्न सक्यो भने मान्छे बन्यो तर धेरै मान्छे क्षमता र रहरका बिच तालमेल बनाउने क्रममै कुहिराका कागझैं दिशाहीन र अस्पष्ट बन्छन्।

कविले कविता, कथाकारले कथा, मूर्तिकारले मूर्ति र चित्रकारले चित्र कोर्छ। यी र यस्तै कर्म गर्नेहरू अरू पनि छन्। जजसले जेजे काम गर्छ त्यसमा उसको मिहिनेत, प्रतिभा र सीपको मात्रात्मक सूक्ष्मताले परिपूर्णताको पथलाई संकेत गर्छ।

भनेको-कला सबै कर्मका लागि पूर्णतातिर उकाल्ने सोपान हो। जीवनलाई पनि एउटा काम नै ठान्नुस् न। तपाईं यसलाई कति कलात्मकताले सिंगार्नुहुन्छ त्यति नै यो प्रष्ट, आकर्षक र जीवन्त बन्छ। तपाईंसँग द्वेष छ-जीवनमा द्वेष मिसाउनुहुन्छ, तपाईंसँग घृणा छ-जीवनमा घृणा घोल्नुहुन्छ। अनि तपाईं गुनासो गर्नुहुन्छ-जीवन सोचेजस्तो भएन।

म भन्छु-जीवन भनेको रङहीन पानीजस्तै हो भन्या, कुरा बुझ्नुस् न। तपाईं जुन रङको काँचको गिलासमा भर्नुस् त्यही रङको बन्छ पानी।

मान्नुस्-तपाईं काँचको गिलास र तपाईंको जीवन सादा पानी। अब भन्नुस् तपाईं आफ्नो जीवनको रङ र संरचना कस्तो बनाउन चाहानुहुन्छ?

तपाईं मलाई हेरेर भन्नुहोला,“महाशय, यी त भन्ने कुरा न हुन्। जेजे भने पनि जीवनको पूर्णता ढेवासँग गाँसिन्छ है।”

मैले तपाईंको प्रतिप्रश्नको अड्कल गरें किनकि म तपाईंको हृदयको पदचाप सुन्दछु। अधिकांश मान्छे अर्थको पौललाई नै जीवनको उच्चता ठान्छन्। यदि तपाईं यस्तै सोच राख्नुहुन्छ भने यो अभिव्यक्ति काटीकुटी दुरुस्त तपाईंकै हो।

म भन्छु-अर्थको पौल र जीवन समानान्तर रेखा हुन्। समानान्तर रेखालाई जति लम्ब्याउनुस् तिनीहरूको भेट आजीवन हुँदैन। समृद्ध भनिएकाहरूका जीवन झाँक्नुस् त-अनगिन्ती छटपटी छन् त्यहाँ।

यो सबै समृद्धहरूको कथा पनि होइन। असमृद्ध ठानिएकाहरूका जीवन पनि कल्पना गरेभन्दा भव्य हुन सक्छन्। असमृद्धतामा जीवनको भव्यता हुन्छ भन्ने सूत्र पनि नबनाउनुस्। यहाँ कुनै पनि सूत्रले काम गर्दैन। यहाँ मूल्याङ्कनको सूत्र परिस्थितिको सापेक्षतामा निर्भर हुन्छ।

मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।

भौतिक पाटो जन्मदेखि मृत्युपर्यन्तको पाटो हो भने अभौतिक पाटो मृत्युपछि मात्र सुरु हुन्छ। भौतिक पाटालाई तपाईंले कसरी व्यतीत गर्नुभयो यसैमा निर्भर हुन्छ जीवनको अभौतिक पाटो। यो पारलौकिक कुरा पनि होइन इहलौकिक नै हो। कसैकसैको मात्र अभौतिक पाटामा पनि जीवनको सुन्दर छवि टल्किएको हुन्छ। यस्ता मान्छेहरू अनन्त समयसम्म बाँच्छन्।

जीवन अनभिज्ञताले भरिएको बाटो हो। मेरो भौतिक जीवन कसरी अगाडि बढ्छ? यो म जान्दिन। म मात्र होइन कसैले पनि जानेको हुँदैन। यो जान्न मन नलाग्नेचाहिं होइन किनकि म समयसमयमा जीवनको आगामी पाटो जान्ने ध्येयले ज्योतिष कहाँ धाउँछु। आफैंप्रतिको विश्वासमा कमी भएर पनि होला। अधिकांश ज्योतिषहरू सम्भावना बेचेर खाने व्यक्ति हुन्।

विद्याप्रति त कुनै सन्देह होइन। कुरा अल्पज्ञानीहरूको हो। अल्पज्ञानीहरूले बताएका मेरा भविष्यहरू कहिल्यै भनिएको बाटो भएर हिंडेको छैन। तिनीहरू आफैं आफ्नो भविष्य जान्दछन् भन्ने पनि लाग्दैन। विषयको ज्ञाता नै रहेछ अनि उसले रिठ्ठो नबिराई भविष्यफल भनेछ भने पनि यसले जीवन सुधार्दैन।

जीवन सुधार्ने अचुक कडी भनेको त कर्म नै हो, पाखुरी नै हो। पाखुरीको भाषाले जीवनको नयाँ आयामको उदघाटन गर्छ। म ठान्छु-भविष्यका पाटाहरू परिवर्तन भइरहन्छन् कर्मका बलमा।

देवकोटाले भनेथे,“छामछाम छुमछुम नै जीवनको विश्वविद्यालय हो।”

कति गहिरा कुरा। साह्रै चित्त बुझेकाले म हृदयको लालमोहर ठोकिदिन्छु। भन्छु-गुरुदेव, कति ओजिला कुरा गर्नुभयो जीवनबारे। जाबो मान्छे-आफ्नो जाति बुझें भनी तीन हात माथि उफ्रन्छ तर उसको बुझाइ अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जत्ति मात्र हो।

कुरा जेजे भने पनि जीवन नभोगी जानिन्न। नभोगी जानिए यो रोमाञ्चकारी बन्ने पनि थिएन। अर्को कुरा म रोमाञ्च शून्यतालाई जीवन पनि भन्दिनँ। बाटो र गन्तव्यको पुनरावृत्तिले यात्रालाई निरस र अनाकर्षक बनाउँछ भन्ने मेरो ठम्याइ छ।

रोमाञ्चको कुरा गर्दा म फुटबल खेललाई सम्झन्छु। यस खेलमा जतिबेला पनि उत्कर्ष उल्टिन सक्छ। यसैले दर्शकहरू पलपल रोमाञ्चको प्रतीक्षामा रहन्छन्। जित्ने ठानिएकाहरू जतिबेला पनि हार्न सक्छन् र हारे भनी सोचिएकाहरू जित्न सक्छन्। हो, जीवन पनि यस्तैयस्तै अनभिज्ञताले भरिएको सम्भावनाको खेल हो।  

प्रकाशित: १ माघ २०८० ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App