१२ असार २०८१ बुधबार
image/svg+xml
कला

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

फाइल तस्बिर : नागरिक

पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो। त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो। अहिले पनि भक्तजन आउने क्रम जारी छ। स्नान गरेर फर्किन पनि सुरु गरेका छन्। नदीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ।

क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ। शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ।

माघे सङ्क्रान्ति मेलाको अवसरमा हिजो र आज नारायणगढ मुग्लिन सडकखण्डसमेत निर्वाध सञ्चालनमा ल्याइएको छ। पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो।

देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन्। विगतका वर्षहरूमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ। समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ। अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ। –रासस

प्रकाशित: १ माघ २०८० ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App