३० चैत्र २०८० शुक्रबार
कला

‘राजधानी’को ध्यान खिच्दै चुलाचुली रंगमञ्च

चुलाचुली रंगमञ्चका कलाकार। तस्बिर: नागरिक

सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ। र, गाउँका मौलिक कथा–व्यथा नाटककै माध्यमबाट देश–दुनियाँसम्म पुर्‍याइरहेको छ।

राजनीति, पत्रकारिता, साहित्य, संगीत र कला–संस्कृतिको केन्द्र देशको राजधानीलाई मात्रै मान्ने सोच परिवर्तन गर्दै चुलाचुलीको नाट्य अभ्यास १५ वर्षयता जिल्ला सदरमुकामभन्दा पनि निकै टाढाको गाउँमा क्रियाशील छ। गाउँलेका दुःख–पीडामा कलाको रङ भरेर छरपस्ट बनाउन अथक मेहनत गरिरहेका छन्– यहाँका कलाप्रेमी युवक चेतन आङ्थुपो ‘डर’ र उनका सहयात्री युवा।

गाउँघरको संस्कृति, परम्परा, कला–संस्कृति संरक्षण र प्रचार गर्न २०६५ सालमै नाटकको सर्कलमा आबद्ध भए यहाँका दुई–चार युवा। ‘नयाँ बाटो-नयाँ पाइला’ नाट्य समूहको मुख्य उद्देश्य थियो-सामाजिक रूपान्तरण।

२०७० सालमा यो सर्कलले चुलाचुली रंगमञ्चको रूप लियो। गाउँघरका वास्तविक कथालाई नाटकका माध्यमबाट बाहिर ल्याउनुमा प्रचारको मात्रै उद्देश्य छैन, स्थानीय युवामा भएको सिर्जनात्मक क्षमता प्रस्फुटनको संकल्प पनि गाँसिएको छ।

रंगमञ्च अगुवा चेतन भन्छन्, ‘सुरुमा हामी एक–दुईजना थियौं, रंगमञ्च स्थापना भएपछि १५ जना भयौं, अहिले ११ जना छौं। नाटकमार्फत आफ्नो कला पोख्न आउने–जानेक्रम चलिरहन्छ।’ 

उनका अनुसार यहाँ केही समय अभिनय सिकेर त्यसैलाई करिअर बनाउँदै स्थापित हुनेको संख्या पनि बढ्दो छ। चुलाचुली रंगमञ्च सुरुमा समाजका विभेद, विकृति, विसंगति र भ्रष्टाचारका विषय उठान गर्न केन्द्रित थियो।

‘अहिले सामाजिक, सांस्कृतिक मुद्दामा बढी काम गर्न रुचाउँछौं,’ आङ्थुपो भन्छन्, ‘सामाजिक, सांस्कृतिक विषयलाई कलाका माध्यमबाट बाहिर ल्याउँदै समाज जागरणको प्रयास गर्दैछौं।’

रंगमञ्च अहिलेसम्म चुलाचुली, इलाम र झापामा मात्रै केन्द्रित छैन। उसका स्तरीय नाटक देशका दर्जनौं ठाउँमा मञ्चन भइसकेका छन्। चुलाचुली झापा, इलाम, पाँचथर, मोरङ हुँदै विराटनगरको क्षेत्रीय नाटक उत्सव, दोलखा चरिकोट, आरोहण गुरुकुल, मण्डला थिएटर, नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत चुलाचुली रंगमञ्चले आफ्नो कौसल देखाइसकेको छ।

‘गाउँको सीमित स्रोतसाधनले मात्रै नभ्याउँदा आफूले पाएका कतिपय अवसरबाट अझै बञ्चित हुनुपरिरहेको छ,’ चेतन भन्छन्, ‘नाटकमा दर्शक–स्रोताको आकर्षण बढ्दैछ तर नाटक पनि समाज रूपान्तरणको एक अभिन्न अंग हो भन्ने चाहिँ जसले बढी बुझ्नुपर्ने हो, उसलाई बुझाउन सकिएको छैन।’

अहिले रंगमञ्च साहित्यकार गणेश रसिकको ‘झोडा’को कथालाई अभियानकै रूप दिएर राजधानी काठमाडौंमा मञ्चन गर्ने तयारीमा छ। तर, आर्थिक अभावले रंगमञ्चले नाटकप्रेमीबाट सहयोग संकलन गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। गाउँमै नाटकघर स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन चुलाचुली रंगमञ्च ‘झोडा’ लिएर देशका विभिन्न ठाउँ पुग्ने क्रममा छ।

‘काठमाडौंमा बाहिरबाट नाटक लैजाने परम्परा पुरानै हो तर हाम्रो तरिका अलि फरक छ,’ चेतन भन्छन्, ‘हामी गाउँमा रंगकर्म गछौं। तर, राज्यको सेवासुविधा खाएका नाट्य एकेडेमीले नेपाली रंगमञ्चको जनशक्ति र नाट्यघर संरचनामा कहिल्यै ध्यान दिएनन्, राज्य संघीय संरचनामा पुगिसक्दा पनि नेपाली रंगमञ्च अर्थात् नाटक विधालाई सरकारले नै स्वीकार्न चाहेको देखिँदैन।’

उनले यी चुनौतीमा रंगमञ्चमार्फत् नै प्रश्न गर्ने बताए। ‘नेपाली रंगकर्मीबीचकै दृष्टि बदल्न पनि हामीले हाम्रो मौलिक कथा भन्नु छ, नाटक देखाउनु ठूलो कुरा होइन, नाटक गर्नेहरूको अस्तित्व समाजले स्वीकार्ने वातावरण बनाउनुचाहिँ आवश्यक छ,’ उनी भन्छन्, ‘त्यो वातावरण भनेको रंगकर्मलाई दिगो बनाउन गाउँमै नाट्यघर स्थापना गर्नुपर्छ भन्ने हो।’

रंगमञ्चले अहिलेसम्म ब्ल्याक बक्स अभ्यासमा किपट, सुविउ चरी, देवाङसी राजा, खाल्डो, माङ्गेना, रिठ्ठु र झोडा गरी सात नाटक मञ्चन गरिसकेको छ। डिजिटल ‘सर्ट फिल्म’ र प्रविधिको जमानामा पनि नाटक दुवै प्रविधिक विधा भएपनि यसको शैलीमात्र फरक भएको उनी बताउँछन्।

‘इतिहास नै हेर्ने हो भनेचाहिँ फिल्मभन्दा अघि नाटक नै स्थापित छ,’ उनी भन्छन्, ‘जीवन्त दृश्य हेर्न फिल्मभन्दा नाटक नै प्रभावकारी हुन्छ।’

सुरुमा आफूहरूले नाटकमा दर्शक ल्याउन घरआँगन जानुपरे पनि अहिले दर्शक नाटक खोज्दै आउनेगरेको बताए। ‘नाटकको यही आकर्षणले हामीले गाउँमै पनि पटक–पटक नाटक उत्सवसमेत आयोजना गरेका छौं,’ उनले भने, ‘नाटकमा गाउँघर झल्काउने र राज्यलाई नाटकको महत्त्वप्रति ध्यानाकृष्ट गराउने हाम्रो लक्ष्य छ।’

प्रकाशित: २७ पुस २०८० ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App