२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘बिनायो र मुर्चुङ्गा’को धुनले जगाएको जिजीविषा

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको परियोजनामा ‘नेपाली लोकबाजा: बाँसुरी, बिनायो र मुर्चुङ्गा’ विषयमा लघुअनुसन्धान गरेका विक्रम मैनालीले सन् २०११ मा श्रीलंकाको राजधानी कोलम्बोमा भएको अन्तर्राष्ट्रिय लोकबाजा संगीत महोत्सवमा नेपाली टोलीको नेतृत्व गरी पुग्ने सौभाग्य पाएका थिए। यही समयदेखि उनको जीवनले नयाँ मोड लियो, नेपाली लोकबाजा अझ विशेषगरी बिनायो र मुर्चुङ्गाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा लागे।

देशविदेशबाट त्यो कार्यक्रममा पुगेकाहरूले आआफ्ना देशका पुराना लोकबाजाको संरक्षण, संवर्धनमा देखाएको कटिबद्धताले उनलाई पनि आफ्नो देशको लोकबाजाका रूपमा रहेका बिनायो र मुर्चुङ्गा जोगाउने अठोट जाग्यो। यही कारण उनी अहिले पनि यिनै दुई बाजाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा निरन्तर जुटिरहेका छन्।

मालिंगोबाट बनाइने ‘बिनायो’ सुदूरपूर्वमा निकै लोकप्रिय मानिन्छ। बुढापाकाहरूका अनुसार यिनै बिनायो, मुर्चुङ्गाजस्ता बाजाको धुनमा माया पिरतीका भाका गाइन्थे। मुर्चुङ्गा-बिनायोको धुनबाट प्रेम भाव प्रकट गरिन्थे भने चिनोका रूपमा समेत बिनायो र मुर्चुङ्गा दिने प्रचलन थियो।

हिजोआज नयाँ पुस्ताका युवायुवतीहरूका लागि यी बाजा बिरानो हुन पुगेका छन्। नयाँ पुस्ताका लागि यी बाजा एकादेशको कथाजस्तै बन्नपुगेका छन्। पछिल्लो समय बिनायो र मुर्चुङ्गा बनाउन र बजाउन जान्ने अग्रजहरूको समाप्तिसँगै लोप हुँदै गएको छ। यही चिन्ताको हुटहुटीले उनलाई सताइरहन्छ र त्यसका लागि जुटिरहने प्रेरणा दिइरहेको छ उनलाई।

यही प्रेरणालाई बोकेर उनी आफ्नो झोलामा जहिल्यै बिनायो र मुर्चुङ्गा बोकेरै हिँड्छन्। रुचि हुनेहरूलाई बजाएर देखाउँछन्, यसको संरक्षण, संवर्धन र प्रचारप्रसारमा लाग्न अनुरोध गर्छन्। यसबारे सुन्न चाहने जोकोहीलाई पनि निःशुल्क बताइरन्छन्, जानकारी गराइरहन्छन्। यसको महत्त्व झल्काइरहन्छन्।

‘वनपाखा, घाँसदाउरा, पानीपँधेरो जाँदा होस् वा मेलापात र गोठालो जाँदा नै किन नहोस्, मानिसहरू यही बिनायोको धुनमा रमाउने गर्थे,’ नेपाल प्रज्ञा प्रतिष्ठानबाट निवृत जीवन बिताइरहेका मैनाली विगत सम्झँदै भन्छन्, ‘सुदूरपूर्वका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलामलगायतका राई जातिमा यो बाजा प्रख्यात मानिन्छ।’

‘आजका पुस्तालाई बिनायो के हो? मुर्चुङ्गा के हो? भन्ने थाहा छैन,’ उनी भन्छन्। मनोरञ्जनका आधुनिक माध्यम आएसँगै अहिलेको पुस्ताका लागि पुराना संस्कृति र बाजाहरूको अस्तित्व हराएर गएको उनको बुझाइ छ।

पछिल्लो समय आफ्नो परम्परा, संस्कार–संस्कृतिलाई पनि देखावटी पाराले मनाउने भएकाले मौलिकता हराउँदै गएको अनुमान उनको छ। विगतमा प्रत्येक महिला अनि पुरुषहरूको दौरा र चौबन्दी चोलोमा बिनायो-मुर्चुङ्गा झुन्डिने गर्थे। नाच्ने–गाउने, रमाइलो गर्ने एउटा माध्यम बिनायो, मुर्चुङ्गा नै थियो। पुस्तान्तरणसँगै आजभोलि गाउँघरमा पनि यो बाजा हराउँदै गएको छ, उनले भने।

‘आजका पुस्ताले मौलिकता भुल्न खोजे पनि हामी जान्नेले सिकाउँदै जानुपर्छ,’ उनी भन्छन्, ‘पहिलेपहिले मेलाबजारमा किन्न पाइने मुर्चुङ्गा, बिनायो आजभोलि दुर्लभ हुन थालेको छ।

विशेषतः मालिङ्गो बाँसलाई तिखो र धारिलो कर्दले खिपेर मेहनतका साथ बिनायो बनाइन्छ भने मुर्चुङ्गा आरनमा बनाइन्छ।

विगतका जस्तो अहिले बिनायो कर्दले खोप्ने अनि आरनबाट मुर्चुङ्गा बनाउने कोही अग्रज सायदै होलान्। मुख र दाँतले च्यापेर धुन निकाल्नुपर्ने बिनायो-मुर्चुङ्गा अग्रजहरूको दाँत फुस्केसँगै गाँउघर/मेलापातमा बज्न छोडेको अनुभूति हुन्छ।

पुर्खाको मौलिक सिप बाबुबाजेबाट हस्तान्तरण नहुँदा पुस्तान्तरणसँगै बिनायो–मुर्चुङ्गा लोप भएको हो। लोकजीवनका तितामिठा अनुभूतिलाई जब मानिसले गीतका रूपमा गुनगुनाउन थाल्छ र त्यसमा लोकबाजाको धुन मिसाउँछ, त्यसले सबै दुःख-पीडा र रोदन बिर्साएर जीवनमा आशा, खुसी र उमंगको बहार ल्याउँछ। त्यसैले त लोकबाजाबाट निस्किने सुमधुर धुनलाई हाम्रै हृदयको झंकार मानिन्छ। चाहे काष्ठमण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन्, यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन्।

 कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनुपर्दैन, यिनै लोकबाजाले बाह्रै महिना त्यसको झल्को दिइरहन्छन्। पूर्वदेखि पश्चिमसम्मका दमाहा, नरसिंगा, खैंजडी, मादल, डम्फु, सारंगी, टुङ्ना आदि हाम्रा लोकबाजा मात्र होइनन्, यी त मुटुका धड्कन हुन्, जसबाट जिजीविषा जागृत हुन्छ।

नेपाल त्यस्तो देश हो, जहाँ अहिलेसम्म १५६ प्रकारका लोकबाजाहरू पत्ता लगाइएको बताइन्छ। यी बाजाहरू नेपालको लोकबाजा संग्रहालयमा राखिएका छन्।

अझै यस्ता कति बाजा हुन सक्छन्, तिनको खोजअनुसन्धान गरी संरक्षण गर्ने दायित्व हामी सबैको हो। तसर्थ आआफ्नो ठाउँबाट हामी सबै यसको संरक्षणमा जुट्नुपर्छ। यिनै लोकबाजा, लोकसंस्कृति र लोकगीतहरू नै हाम्रा मौलिक गानाबजाना हुन्। विदेशी गीतसंगीतको अन्धभक्त भएर आफ्ना लोक गीतसंगीतको अपहेलना कदापि गर्नु हुन्न।

लोकबाजा भनेको हाम्रो हृदयको बोली हो, राष्ट्रको परिचय र अस्तित्व हो। यी बाजामा हामी आफ्नोपन र मन दुवै भेटाउँछौं। गाइने दाइले सारंगी रेट्दा, धने काकाले बाँसुरी बजाउँदा, दमाई दाइले नरसिंगा फुक्दा र शेर्पा दाइले डम्फु बजाउँदा निस्कने धुनले कसको मन नछोला र? अतः यी लोकबाजाको महत्त्व समयमै बुझौं बुझाऔं र यिनको संरक्षणमा एक भएर जुटौं ।

प्रकाशित: २१ पुस २०८० ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App