४ असार २०८१ मंगलबार
image/svg+xml
कला

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।

पाँचौं डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैंमा सेलिब्रेसन गर्न लायक भएको बताए।

बाह्रखरी प्रतियोगिताकी निर्णायकमण्डलका संयोजक प्राडा सावित्री कक्षपतीले नेपाली साहित्यको श्रीवृद्धिमा बाह्रखरी कथा लेखन प्रतियोगिताको उल्लेख्य भूमिका रहेको बताइन्।

कर्पोरेट हाउस र व्यक्तिगत पहलमा कथा प्रतियोगिताको आयोजना भइरहेको बताउँदै यसले निरन्तरता पाउँदा इतिहासको पानामा स्वर्ण अक्षरले लेखिने पनि उनले बताइन्।

प्रतियोगितामा प्राप्त ८४३ मध्ये हामीले ५५ कथा पाएका थियाैं। हामीलाई कथाकार को हो थाहा थिएन। कथाले दिने सूचना र सन्देशकाे आधारमा निष्पक्ष रूपमा निर्णय गरेकाे पनि उनले बताइन्।

बाह्रखरी उत्कृष्ट कथासंग्रहका सम्पादक तथा साहित्यकार नयनराज पाण्डेले प्रतियोगितामा प्राप्त कथाले यो क्षेत्रको भविष्य उज्ज्वल देखिएको बताए।

प्रतियोगितामा प्राप्त आधाभन्दा धेरै कथाले यस क्षेत्रमा आउँदै गरेको नयाँ पुस्ताको भविष्य राम्रो देखिएको पनि उनले बताए।

डिश मिडिया नेटवर्क लिमिटेडका अध्यक्ष एवं संघीय सांसद देवीप्रकाश भट्टचनले कथामा राजनीतिक उतारचढावका विषय पनि समावेश हुनुपर्ने बताए। सामाजिक विषयसँगै राजनीतिक विषयलाई पनि साहित्यले समेट्नुपर्नेमा उनको जोड रहेकाे थियाे।

सरकार र राजनीतिलाई खबरदारी गर्नु साहित्यको पनि धर्म भएको भन्दै आउँदा दिनमा यस्ता विषयमा कथा लेखिने उनको विश्वास छ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताए।

उनले साहित्य र पत्रिकारिता समाज परिवर्तनको माध्यम भएकाे र समाज परिवर्तनको सोचले कथा पत्रकारिता र साहित्यलाई सँगै अगाडि बढाएकाे पनि बताए।

फाइन प्रिन्टका म्यानेजिङ इडिटर अजित बरालले बाह्रखरी कथा लेखन प्रतियोगिता जस्ता नयाँ प्लेटफर्मले नयाँ पुस्तालाई अवसर र हौसला प्रदान गरिरहेको बताए।

यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन्।

प्रथम, दोस्रो र तेस्रो स्थानमा पर्न सफल कथाकारलाई प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सम्मान गर्दै प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए।

यस कथासंग्रहमा २५ उत्कृष्ट कथाका साथै वरिष्ठ कथाकारहरू भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिककाे कथा पनि समावेश रहेका छन्।

अग्रजदेखि समकालीन तथा युवा पुस्ता समेतको सहभागिता रहेकाे बाह्रखरी कथा लेखन प्रतियोगितामा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैंतैं धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्त बायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन्।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले उपस्थित पाहुनालाई धन्यवाद ज्ञापन गरेकाे साे कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, नेपाल टेलिकमका उपप्रबन्धक परमात्मा भट्टराई र नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख नागेन्द्र साह लगायतले पच्चिस कथाकारलाई पुरस्कार वितरण गरेका थिए।

डिश होम फाइबर नेट, बाह्रखरी कथा २०८० को टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम प्रायोजक रहेका थिए।

कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूको कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा-२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको छ। साे कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन्।

बाह्रखरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य दुई मूल्याङ्कन समिति गठन गरेकाेमा बाह्य निर्णायकहरूमा प्राडा सावित्री कक्षपती संयोजक रहेकी थिइन् भने आख्यानकारहरू महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए।

आन्तरिक मूल्यांकन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो।

प्रकाशित: ९ पुस २०८० ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App