२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फूल

तिन लघुकथा

१) फूल

उसले खाइनखाई गरेर दुःखसुखले एउटा चिटिक्कको घर बनायो। घर बनाएको केही समयपछि बिहे गरेर राम्री दुलही भित्र्यायो। बिहे गरेको वर्ष दिनपछि एउटी सुकुमारी कन्याको जन्म भयो। लक्ष्मीको आगमनले उसलाई घर सुन्दर लाग्न थाल्यो। सुन्दरतालाई अझै निखार्न उसले घर रङ्गरोगन गरायो। बगैंचा चिटिक्क बनायो। घर अझ सुन्दर बनाउन उसले दैलाअगाडि आँगनमा फूलको बिरुवा रोप्यो। बिरुवा हुर्कंदै गयो। घामपानी सहँदैसहँदै एकदिन सुन्दर फूल फुल्यो। आउनेजानेहरू उसको आँगनको फूललाई हेर्दै जान्थे। फूल साँच्चै नै मनमोहक तरीकाले फक्रिएको थियो। घरको शोभा नै भएको उक्त फूललाई उसले बडो जतनले जोगाइराखेको थियो।

एक बिहान ऊ पिंढीमा बसेर चिया पिउँदै थियो। एकजना अपरिचित मान्छे मन्दिर जाने बाटो सोध्दै उसको आँगनमा टुप्लुक्क आइपुग्यो। कुरै कुरामा अपरिचितले उक्त फूल टिपेर थालीमा राख्यो। अपरिचितको आकस्मिक हर्कतले ऊ झसंग भयो र भयभीत नजरले आफ्नी कलकलाउँदी छोरीतिर पुलुक्क हेर्‍यो।

२) ईर्ष्या

हिजो ऊ हिंड्न नजान्दा आफन्तहरूले हात समाएर भर दिए। त्यसपछि उसले हिंड्न जान्यो।ऊ खेल्न खोज्दा साथीहरूले खेल्न सिकाए। त्यसपछि उसले खेल्न जान्यो।

उसले अक्षर चिन्न खोज्दा गुरुहरूले अक्षर चिनाए। फलतः उसले अक्षर चिन्यो।

ऊ दौड्न खोज्दा अग्रजहरूले दौड्न सिकाए। परिणामतः उसले दौड्न जान्यो।

आज ऊ सबै कुरामा पारंगत भएको छ। अब केही गर्ने उद्देश्यका साथ अगाडि बढ्न खोजिरहेको छ।

तर विडम्बना सबै जना उसको खुट्टा तानिरहेका छन्।

३) सन्ताप

पहिलापहिला रातमा कत्ति पनि नबिउँझिईकन निदाउने रोशनकुमार आजभोलि छटपटीमा रात काट्छ। यता कोल्टे फेर्छ। उता कोल्टे फेर्छ। बत्ती बाल्छ। शौचालय जान्छ। भान्सामा गई पानी पिएर फेरि ओछ्यानमा पल्टन्छ। निदाउने प्रयास गर्छ तर उसलाई पटक्कै निद्रा लाग्दैन।

यस्तो देखेर श्रीमतीले सोध्छिन्, ‘हैन के भयो हजुरलाई? किन निद्रा नपरेको हो? केही दिनदेखि हजुरलाई छटपटी भएझैं देख्छु। के पर्‍यो त्यस्तो? भन्नुस् न!’

रोशनले भन्न चाहेर पनि कसैलाई भन्न सकेको छैन। रोशनको मुखमा तनावको आगो सल्किएको छ। जुन आगो उसले निल्न पनि सकेको छैन ओकल्न पनि सकेको छैन। साथीभाइ, छरछिमेकी र इष्टमित्रहरूका अगाडि ठाडो शिर निहुरिने भयो भनेर चिन्तित छ।

श्रीमती  चिन्ताको कारण जान्न खोज्दै छे, ‘किन चुप लाग्नु भा! भन्नुस् न के भयो?’

ऊ सुस्तरी बोल्छ, ‘अफिसकी पिए प्रेगनेन्ट भएकी छे। उसले एबोर्सन गर्न मानिरहेकी छैन।’

‘लौ न नि! तपाईको?’

‘हैन, छोराको!’

प्रकाशित: ६ पुस २०८० ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App