तेजआङ्मु महतारा। उनलाई लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिनिन्छ जुम्लामा। उनले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्। कुनै गीत रेकर्ड गरेकी छैनन्। उनको स्वर कोइली चरीका झैं चोत्रा गाउँका खेतबारी र वनपाखामा सीमित छ।
चोत्रा उनको जन्मस्थान। डोल्पासँग सिमाना जोडिएको जुम्लाको अन्तिम गाउँ हो। १० कक्षामा पढ्दापढ्दै १७ वर्षको उमेरमा उनको बिहे भयो। स्कुल पढुञ्जेल विद्यालयस्तरीय कार्यक्रम र कहिलेकाहीं मञ्चमा उनको स्वर गुन्जिन्थ्यो।
स्कुल छुटेसँगै उनले आफ्नो स्वर गुन्जिने ठाउँ पनि छुट्यो। बिहेपछि उनी खोलानाला, वन, पाखा र खेतबारीसँग जोडिइन्। स्कुलका मञ्चमा गुन्जिने स्वरलाई फेरि निरन्तरता दिइन्।
तेजआङ्मुका बुबा–आमा अपांगता हुन्। ससुरा पनि अपांगता छन्। गत वैशाखमा खुट्टा भाँच्चिएपछि सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन्। उनी भन्छिन्, ‘माइती–घर जहाँ पुगे पनि उस्तै विरक्त लाग्छ, रुवाइ छुट्छ र मनमा निराशाको कालो बादल मडारिन थाल्छ।’
तेजआङ्मु आफ्नो जीवनमा दुःखमाथि दुःखको खात लागेको महसुस भएको बताउँछिन्। उनी भन्छिन्, ‘घाँस–दाउरा र स्याउला काट्न जाँदा–आउँदा पीर भुलाउन गीत गाउँछु।’
महाताराका श्रीमान् भारतमा व्यापार गर्थे। व्यापार गर्दागर्दै लगानी डुब्यो। त्यसपछि उनका पति जुम्लाको बहुमूल्य जडिबुटी यार्चा कारोबारमा लागे। त्यसमा पनि नोक्सान व्यहोर्नुपरेपछि ऋण भार बढ्यो। उनी भन्छिन्, ‘पिर र दुःखले घेरिएको बेलामा गीत गुनगुनाउन मात्र सकिने रहेछ, आफ्नै खर्चमा गीत रेकर्ड गर्न नसकिने रहेछ।’
तेजआङ्मु अरूले गाएको एकपटक सुनेपछि दुरुस्तै गाउँछिन्। ती लयमा आफ्ना शब्द हालेर पनि उनी गाउँछिन्। उनले पुस्तान्तरण हुँदै आएका शब्द टिपेर राखेकी छन्। महाताराले ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन्। ‘समयले साथ दिएछ भने एक दिन मनको धोको पूरा होला नै, नभए यत्तिकै रहला’, उनले मलिन अनुहारमा भनिन्।
यता गुठीचौर गाउँपालिका १ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महतारा तेजआङ्मुको प्रतिभा बाहिर ल्याउन खोजी भइरहेको बताउँछन्। उनले भने, ‘वास्तविक कला र सीपले गाउँघरबाट बाहिर निस्कन पाएको छैन। त्यसलाई आर्थिक तथा सामाजिक हिसाबले पनि प्रभाव पार्दो रहेछ। तेजआङ्मुको प्रतिभालाई बाहिर ल्याउन रचनात्मक सहयोगको खाँचो छ। यसमा स्थानीय सरकार तयार छ।’
प्रकाशित: २ पुस २०८० ०३:४९ सोमबार