खासमा म भोकसँग लड्न निस्केको
बा आमाको रोगसँग लड्न निस्केको
सन्तानका दुखसँग लड्न निस्केको
बेरोजगारीको मूलसँग लड्न निस्केको
तर,
मलाई युरोपमा युद्ध बन्दी बनाइयो
अहिले म युक्रेनको कब्जामा छु
..........
युक्रेनसँगे मेरो शत्रुता थिएन,
रुससँग कुनै मित्रता थिएन
म त जीवनको लडाइँमा
आफैँसँग लड्न निस्केको
अभावले बन्धक बनाउँदै गर्दा
स्वतन्त्र हुन निस्केको
बिराएका पाइलाहरूले
बिरानो देशमा पुर्याएछ
नलडेको युद्धमा युद्ध बन्दी बनाएछ
.........
बाजेहरूले भन्थे–
हुलमुलमा जिउ जोगाउनु
म अनिकालको बिउ जोगाउन
परदेश निस्केको
काँधमा कसले बन्दुक राखिदियो
मलाई पत्तै भएन
गोडामा कसले बुट लगाइदियो थाहै भएन
आँखामा पट्टी बाँधिएको मलाई
म को भन्ने पनि थाहा छैन
मलाई यत्ति थाहा छ
मेरो घर नेपाल हो,
अहिले म युक्रेनमा बन्धक छु।
...........
मलाई यो पनि थाहा छ
न त मलाई बिदेसिन बाध्य पार्ने
मेरो देशले जोगाउन सक्छ
न त म आफैँ मार्न गएको देशले
मलाई जोगाउने रहर गर्छ
बा आमाको एक्लो सन्तान म
अहिलेसम्म बाँचेकै छु
आफैँसँगको युद्धमा
युक्रेनमा हारेको छु।
.............
गोर्खाली सन्तान म परिचय भाडाको सिपाही बनेको छ
मेरो अधुरा सपना युक्रेनमा पुरै बन्धक बनेको छ
अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ,
मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।
प्रकाशित: २५ मंसिर २०८० ११:२१ सोमबार